बुटवलमा ओलीले ४ घण्टा कुराए कार्यकर्ता

बुटवलमा ओलीले ४ घण्टा कुराए कार्यकर्ता

बुटवल : बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस मैदानमा शनिवार र आइतबार दुई चुनावी सभा भए। शनिवार ५ दलीय गठबन्धनको चुनावी सभाका मुख्य वक्ता थिए प्रधानमन्त्री शेरबहादुर देउवा। अनि आइतबार एमालेको चुनावी सभामा एमाले अध्यक्ष केपी शर्मा ओली।

मैदान एकै, योजना पनि लगभग एकै थियो। ५ दलीय गठबन्धनको सभामा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, समाजवादीकी सचिव रामकुमारी झाक्री लगायतका नेताले गठबन्धनको पक्षमा मत हाल्न आव्हान गरेसँगै गठबन्धनको औचित्य र ओलीमाथी आरोप लगाउन समय खर्चेका थिए।

आइतबार त्यही मैदानमा ओलीले गठबन्धनलाई जवाफ फर्काए। शनिवार कांग्रेस नेता पौडेलले एमाले जनताले ठग्ने पार्टी हो भनेका थिए। ओलीले जवाफ दिए'अहिलेसम्म २७ वर्ष कांग्रेस सरकारमा रहेको, २० वर्ष आफै नेतृत्वमा गरेपनि एउटा काम कांग्रेसले गरेन। बरु ४२ वटा उद्योग कांग्रेसले बिक्री गरेर खायो।'

उनले गठबन्धन दलहरूले धम्की दिएर मत मागेको भन्दै जनतालाई थर्काएर, धम्काएर मत मागेकोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए। ओलीले बुटवलको सभाबाट एमालेमा फुटको कुनै असर नभएको दाबी समेत गरेका थिए।

ओलीले ४ घण्टा कुराए कार्यकर्ता

बिहान ११ बजे कार्यक्रम हुने निम्तो पाएका कार्यकर्ता ४ घण्टा चर्को गर्मीमा कुर्न बाध्य भएका थिए। सभा समयमा सुरु नभएपछि सभामा आएका एक तिहाइ गर्मी सहन नसकेर ओलीको भाषणै नसुनी फर्किए। ओली आउन ढिला भएपछि जन सांस्कृतिक महासङ्घका कलाकारहरूले चुनावी गीत गाएर  सहभागीलाई भुलाउने प्रयास गरेका थिए। तर सकेनन्।

ओली बुटवलमा आएर ३५ मिनेट भाषण गरे अनि चितवन हिँडे। त्यसपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले सभालाई सम्बोधन नगरी १६ वटै पालिकाका उम्मेदवारहरूलाई खादा र माला लगाइदिएर शुभकामना मात्र दिए।

वैशाख २५, २०७९ आइतबार १८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।