एमालेले स्थानीय तहमा नजिते सङ्घीय योजना नपर्ने ओलीको दाबी
बुटवल : एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेले नजिते केन्द्रको बजेटमा योजना नपर्ने दाबी गरेका छन्। बुटवलमा आयोजित चुनावी सभामा बोल्दै उनले भने ‘अहिले हामीले जितेनौ भने, प्रादेशिक र सङ्घीय सरकारले पठाउने योजना पर्दैनन्। स्थानीयबाटै विजय यात्रा सुरु गर्नुपर्छ।'
केही दिन अगाडि स्थानीय बजेटबारे भाषण गर्दा कांग्रेस नेतृ आरजु राणा विवादमा परेकी थिइन्। उनले डडेलधुरामा आयोजित सभामा कांग्रेसले नजितेका स्थानीय तहमा पैसा नपठाउने बताएकी थिइन्।
‘जहाँ कांग्रेसको मेयर हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौँ,’ उनले भनेकी थिइन्, ‘यो कुरा ध्यान दिएर करुवा सरुवा... हरुवा पार्टीलाई भोट नहाल्नुस्।’
आइतबार चितवनको क्याम्पाचौरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले ‘कतिपयले मान्छेले भन्ने गर्छन् पैसा पठाउँदैनौ, बजेट तिनका घरको सम्पत्ति हो पकेटको पैसा हो? भन्दै आलोचना गरेका थिए।
तर आफैँले बुटवलको सभामा भने स्थानीय तहमा पार्टीले नजिते प्रदेश र सङ्घमा पार्टीले जिते पनि योजना नपर्ने बताए।
‘एमाले सरकारमा रहँदा कुनै पनि योजनामा बजेट कमी हुन दिएन। अहिले बाटो बनाउन, सभा सम्मेलन बनाउन, विकास निर्माणको काम गर्न पैसा छैन भन्छ। गठबन्धन आएपछि कस्तो अलच्छिन पस्यो’ उनले भने।
उनले गठबन्धनलाई जरै देखी फाल्ने कामको सुरुवात ३० गते बाट हुने दाबी गर्दै एमाले एउटै शेर रहेको र गठबन्धन १० वटा स्याल रहेको दाबी समेत गरे।
उनले विगतमा जस्तै बुटवललाई लाल किल्ला कायम राख्न आग्रह गर्दै कसैका छोरीहरूले हार्दैमा देश दुर्घटनामा जान्छ भनेर जनतालाई तर्साउने काम नगर्न चेतावनी दिएका थिए। चितवनको सभामा केही दिन अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गठबन्धनको उम्मेदवार हारे देश दुर्घटनामा जाने दाबी गरेका थिए। भरतपुर महानगरपालिकाको मेयरमा प्रचण्डकी छोरी रेनु दाहाल उम्मेदवार छिन्।
ओलीले प्रचण्डको सोही अभिव्यक्तिलाई सङ्केत गर्दै भने' आजको जनता कसैसँग धम्किने र तर्सिँदैनन्।'
उनले अहिलेसम्म २७ वर्ष कांग्रेस सरकारमा रहेको र २० वर्ष आफै नेतृत्वमा गरे पनि एउटा काम काम कांग्रेसले नगरेको बरु ४२ वटा उद्योग कांग्रेसले बिक्री गरेर खाएको आरोप लगाए ।
परमादेशको सरकार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन पछि जरैदेखि फालिने दाबी गर्दै उनले देशमा अलच्छिन पसेको भन्दै अलच्छिन सरकारलाई ३० वैशाखपछि जरै देखी उखेलेर जरा पनि टक्टकाएर फाल्ने दाबी गरे।
वैशाख २५, २०७९ आइतबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।