भरतपुरका कांग्रेस समर्थकलाई ओलीले पिर बिसाउने ठाउँ दिने

भरतपुरका कांग्रेस समर्थकलाई ओलीले पिर बिसाउने ठाउँ दिने

चितवन : चुनावी प्रचारको क्रममा चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधनको क्रममा भरतपुर महानगरपालिकामा रहेका कांग्रेस समर्थकहरूलाई बिचरा भन्दै बारम्बार जिस्काइरहे। स्थानीय तहको निर्वाचनमा एमालेको गठबन्धनका उम्मेदवारको पक्षमा माहौल बनाउन ओली चितवन पुगेका थिए।

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार काङ्ग्रेसबाट हुनुपर्ने जिल्लाको माग केन्द्रले अस्वीकार गर्दै माओवादी केन्द्रलाई दिएपछि भरतपुरमा कांग्रेसका समर्थक विभाजित छन्। स्वतन्त्र उम्मेदवार बनेका कांग्रेस नेताको पक्षमा जिल्लाका कांग्रेस समर्थक प्रचार-प्रसारमा सक्रिय छन्। तर निर्वाचन आयोग र पार्टीबाट बारम्बार कारबाहीको चेतावनी आइरहेको छ। त्यसमा पनि गठबन्धनका नेताहरू चितवनमा आएर भरतपुर महानगरका गठबन्धनका उम्मेदवारहरू हारे देश दुर्घटनामा पर्ने अनि कांग्रेस बर्बाद हुने अभिव्यक्ति दिएका थिए।

गठबन्धनको सभापछि भरतपुरको माहौल केही बदलिए पनि आइतबार चितवन पुगेका एमाले अध्यक्ष ओलीले आफ्नै दलमा भोट दिन नपाएर मनमा घाउ बनेको कांग्रेस समर्थकको घाउमा नुन चुक दलेर फर्किए ।

भरतपुरमा एमालेबाट मेयर अनि उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार छन्। यता गठबन्धनबाट मेयरमा माओवादी केन्द्र अनि उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार छन्।

कार्यक्रममा ओली माओवादी केन्द्रप्रति भने आक्रामक देखिएका थिए। आफ्नो दलको उम्मेदवारलाई चाहेर पनि भोट हाल्न नपाएको भन्दै उनले कांग्रेस समर्थकको घाउमा शब्दको चुक दल्दै भने' प्रकाश सपुतको गीत जस्तो बिचराहरूले पिर बिसाउने ठाउँ नै पाएका छैनन्।'

उनले आफ्नै पार्टीको झन्डा बोक्दा पनि निर्वाचन आयोगबाट कारबाहीमा पर्नुपर्ने अनि आफ्नै पार्टीका नेतालाई भोट माग्दा पनि पार्टीमा कारबाहीमा पर्नुपर्ने अवस्थामा कांग्रेसका कार्यकर्ताहरू रहेको भन्दै स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका थिए।

उनले कांग्रेस समर्थकहरूलाई 'बिचरा मन कसरी थामेका होलान्' भन्दै भने' पाँच वर्ष अगाडि पनि उनैलाई भोट हाल्नुपर्ने। पाँच वर्षपछि पनि उनैलाई भोट हाल्नुपर्ने भयो।'

स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारले जिते यो २० वर्षसम्म कायम रहने भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको भाषणलाई सङ्केत गर्दै उनले भने' भरतपुरमा गठबन्धनको उम्मेदवारले जितेमा २० वर्षसम्म गठबन्धन कायम रहने रे। फेरि प्रचण्डलाई जितायो भने उहाँ उत्साहित हुनुहुन्छ अरे। अब चितवनका कांग्रेसीले २० वर्षसम्म छोरा बोक, छोरी बोक, ज्वाइँ बोक अनि भाइ बोक। त्यो पनि नभए भतिजा बोक्न तयार हुनु।'

आयोगप्रति आक्रामक

चुनाव प्रचारमा अन्य दलको झन्डा प्रयोग नगर्न निर्वाचन आयोगले दिएको निर्देशनको समेत उनले आलोचना गरे। ओलीले कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई किन कारबाही नगरेको भन्दै आयोगलाई प्रश्न गरेका थिए।

भरतपुरका कांग्रेसका बागी उम्मेदवारको पक्षमा कांग्रेसको झन्डा प्रयोग गरेपछि तर्साउन आयोगले त्यस्तो निर्देशन दिएको भन्दै उनले भने' सभामा एउटाले अर्काको उम्मेदवार बोक्या छ। आयोग भन्छ अर्काको उम्मेदवारलाई भोट नमाग्नु। त्यसो हो भने काठमाडौँमा सिर्जना सिंहलाई भोट माग्ने प्रचण्डलाई किन कारबाही नगरेको?'

उनले माओवादीका नेताहरुले कांग्रेसका उम्मेदवारको अनि कांग्रेसका उम्मेदवारहरूले माओवादीको उम्मेदवारको भोट मागेर निर्वाचन संहिता उलङ्घन गरेको भन्दै प्रश्न गरे' अस्ति शेरबहादुर देउवा आएर रेनुलाई भोट मागेछन्। निर्वाचन आयोगले ह्वीप जारी गर्ने कार्यकर्तार्ला ? धम्क्याउन पाइन्छ जनतालाई ?'

उनले गठबन्धनका बाहिरकालाई आयोगले कारबाही गर्न बेर नलगाउने भन्दै आयोगले गठबन्धनलाई जे गरे पनि छुट दिएको दाबी गरे। उनले गठबन्धनलाई उभिनै नसक्ने गरी लुलो बनाइदिनुपर्ने भन्दै भने' यो परमादेशी सरकारलाई बाई बाई गरौँ।'

आरजुलाई ओलीको प्रश्न : बजेट तीनका घरको पैसा हो?

कांग्रेसको उम्मेदवारले नतिजाले पालिकामा बजेटै नदिने कांग्रेस नेतृ आरजु देउवाको भनाइप्रति कटाक्ष गर्दै उनले भने'बजेट तिनका घरको पैसा हो?'

उनले भरतपुरको विकासको जिम्मा आफ्नो भएको भन्दै निर्धक्क भएर एमाले र एमालेले सघाएका उम्मेदवारहरूलाई भोट हाल्न आग्रह गरे। उनले एमाले उम्मेदवार विजय सुवेदी रेनु दाहालभन्दा केन्द्रमा सिधै हटलाइन भएको शक्तिशाली उम्मेदवार भएको दाबी समेत गरे।

उनले भने' चिन्ता गर्नु पर्दैन। कसैको छोरी अनि कसैको भाइ भन्दा विजय सुवेदी कमजोर छैनन्। सिधै हटलाइनमा पहुँच भएका उम्मेदवार हुन्।'

उनले भरतपुरलाई स्मार्ट सिटी बनाउन अब कसैले रोक्न नसक्ने भन्दै भरतपुर विकासको जिम्मा आफूले लिएको बताए। उनले बोल्दा पटक-पटक कांग्रेस समर्थक मतदाताप्रति सहानुभूति देखाएका थिए।

'मन रोएको छ यस्तो बेला' भन्दै उनले भने 'तपाई देश बनाउने अभियानमा लाग्नुस्। आउनुस् चुनावमा मिले चुनावमा आउनुस्, मतदाता मिलेर आउनुस्।'

उनले बहुदलीय व्यवस्थाको २६ वर्षमा २० वर्ष कांग्रेसले नेतृत्व गरेको अनि अर्को नेता २ वर्ष प्रधानमन्त्री भएको भन्दै प्रश्न सोधे' भोलि पर्सिको सभामा जवाफ दिनुस्। उहाँहरूको नेतृत्वमा  के काम गर्नुभयो? शेरबहादुर देउलालाई सोध्न चाहन्छु तपाइको नेतृत्वमा एउटा नयाँ सिजनशील काम के भयो?'

उनले एमालेले सरकारको नेतृत्व गर्यो कि विकासको गति ५ नम्बर गियरमा चल्ने भन्दै आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे।

उनले सम्बोधनमा गठबन्धनप्रति व्यङ्ग्य गरिरहे। अनि आफ्नो पार्टीका कार्यकर्तालाई हौस्याइरहे। उनले भाषण गर्दागर्दै भने,' आम निर्वाचनपछि बन्ने सरकार कसको हुन्छ?

कार्यकर्ताले भने,  ‘एमालेको ......’

ओलीले भने, ‘मैले अलि सुनिन ....’

कार्यकर्ताले फेरी भने,  ‘एमालेको ..... ’

'आम निर्वाचन पछि बन्ने सरकार कसको हुन्छ एमालेको।'  त्यसो हो भने अहिलेदेखि गठबन्धनको खुट्टा कमजोर बनाइदिनु पर्छ। खुट्टा लुला पार्दिनु पर्छ, परमादेशी सरकार बाइ बाई' उनले भने।

वैशाख २५, २०७९ आइतबार १८:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।