गठबन्धनले सबैभन्दा बढी फाइदा कांग्रेसलाई हुन्छ : सभापति देउवा
पोखरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनले सबैभन्दा बढी फाइदा नेपाली कांग्रेसलाई पुग्ने बताएका छन्। आइतबार गठबन्धन दलले पोखरामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले संविधान जोगाउनको लागि बनेको गठबन्धनबाट सबै दललाई फाइदा भएको बताउँदै कांग्रेसलाई सबै भन्दा बढी फाइदा भएको बताएका हुन्।
देशभरका महानगरहरूमा गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदका उम्मेदवार कांग्रेसको भएको बताउँदै उनले गठबन्धनको पक्षमा लाग्न नेता कार्यकर्तालाई आग्रह गरे। उनले गठबन्धनका उम्मेदवारले जित्दा कांग्रेस र देशको जित हुने दाबी समेत गरे।
प्रधानमन्त्रीसमेत रहेका देउवाले कमजोर अवस्थामा रहेको कांग्रेसले गठबन्धनकै कारण आज प्रधानमन्त्री पाएको बताए। उनले भने,‘पाँचदलको गठबन्धनका कारण कमजोर अवस्थामा रहँदा रहँदै पनि आज कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको छ। गठबन्धनका दलबीचको चुनावी तालमेलमा पनि सबै भन्दा बढी कांग्रेसलाई फाइदा हुन्छ।
कमजोर अवस्थाबाट गठबन्धनको बलमा हामी यो अवस्थामा आएका छौं। त्यसैले पार्टीको निर्णय अनुसार गठबन्धनका उम्मेदवारलाई सबै मिलेर पोखराबाट विजयी गराउन लाग्नोस्। साथीहरु, जताजता गठबन्धन छ त्यता कलम, हँसिया हतौडामा भोट हाल्नुहोला।’
देउवाले गठबन्धनका कारण प्रदेशमा समेत पार्टीले मुख्यमन्त्री पाएको बताए। उनले गठबन्धन गरेकाले स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले सबै भन्दा धेरै सिट जित्ने जिकिर गरे। उनले ओलीको आतंंकबाट पार पाउन गठबन्धन आवश्यक रहेको बताउँदै गठबन्धनका पाँचदलको जीत नै सबैको जीत भएको उल्लेख गरे।
वैशाख २५, २०७९ आइतबार १६:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।