संविधानको रक्षाका लागि गठबन्धन : अध्यक्ष प्रचण्ड

संविधानको रक्षाका लागि गठबन्धन : अध्यक्ष प्रचण्ड

पोखरा : नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षाका लागि गठबन्धनको जन्म भएको बताएका छन्। आइतबार पोखरामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको रक्षाको गर्नका लागि गठबन्धन गरिएको बताएका हुन्। 

अध्यक्ष दाहालले खड्गप्रसाद ओलीको प्रतिगमनका कारण गठबन्धनको जन्म भएको बताउँदै यदी पाँचदलबीच गठबन्धन नभएको भए देश दुर्घटनामा पर्ने निश्चित रहेको बताए। उनले गठबन्धन तोड्न प्रतिक्रियावादी शक्ति लागि परेको उल्लेख गर्दै यो चुनाव त्यस्ता शक्तिलाई परास्त गर्न सफल हुने दाबी गरे। 

उनले भने,‘म पोखरावासीलाई विशेष अपिल गर्न चाहन्छु। राजनीतिक उपलब्धि जोगाउन समाजवादी र कांग्रेसलाई भोट हाल्नुहोस्। यदी गठबन्धनले जीतेन भने देश दुर्घटनामा जानसक्छ।  मैले भरतपुरमा यही  बोले थिएँ। आज पुनः यहाँ पनि सोही कुरा दोहोर्याउछु।’

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताउँदै गठबन्धनका पक्षधर शक्तिहरू विभिन्न अप्ठेराहरुलाई सहेर सहकार्यलाई अगाडि बढाउँदै भोलि प्रदेश र संघीय निर्वाचनमा पनि गठबन्धन दल मिलेर जाने बताए।

अध्यक्ष प्रचण्डले निर्वाचन अग्रगमन र प्रतिगमन बीचको लडाई भएको बताए। उनले गणतन्त्र र संविधानका विरुद्ध षड्यन्त्र हुन थालेपछि त्यसलाई परास्त गर्न पाँच दलबीच सहमति गरेर अगाडी बढेको बताए। ‘यदी हामी पाँचदल बीच कार्यगत एकता गरेर अगाडी नबढेको अवस्थामा राजनीतिक दुर्घटनाको खतरा देखेरनै गठबन्धन गरेका हौं’,उनले भने।

वैशाख २५, २०७९ आइतबार १५:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।