पौडेल र जोशीको झगडाले गिजोलेको तनहुँ : सके सिध्याउने, नसके आफैं सिध्दिने

पौडेल र जोशीको झगडाले गिजोलेको तनहुँ : सके सिध्याउने, नसके आफैं सिध्दिने

तनहुँ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा तनहुँमा चुनावी सरगर्मी बढेको छ। चार नगरपालिका र ६ वटा गाउँपालिका सहित १० स्थानीय तह रहेको तनहुँमा पाँच वर्षका लागि नेतृत्वमा पुग्न विभिन्न पार्टीका उम्मेदवारहरु जोडतोडले लागेका छन्। 

केन्द्रीय राजनीतिको उच्च तहमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराई लगायतका नेताको गृहजिल्ला भएका कारण तनहुँको चुनावप्रति धेरैको चासो रहेको छ।

२०७४ को स्थानीय निर्वाचनमा तनहुँका १० पालिकामध्ये कांग्रेसले सदरमुकाम ब्यास नगरपालिका सहित ६ वटा पालिकामा प्रमुख सहितका अन्य पदमा विजयी हासिल गरेको  थियो।

त्यसैगरी एमालेले भिमाद नगरपालिका सहित तीन पालिका प्रमुखमा विजयी भएको थियो भने माओवादी केन्द्रले बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो। 

तनहुँ कांग्रेसका गुटगत नेताहरुले रामचन्द्रले समर्थन गरेका नेतालाई हराउने र आफ्नो शक्ति स्थापित गर्ने भन्नेमै समय खर्चिने गरेको देखिन्छ। जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण रामचन्द्र स्वयं पनि जिल्लामा कमजोर बन्दै गएका छन्।

लामो समयसम्म कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको तनहुँमा यसअघि संघीय र प्रदेशसभा निर्वाचनमा भने सबै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए। संघीय निर्वाचनमा तत्कालीन एमालेका किसन श्रेष्ठ र केदार सिग्देल विजयी भएका थिए। श्रेष्ठले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए।

प्रदेशसभाको चार सिटमा गठबन्धनका तर्फबाट किरण गुरुङ, रामबहादुर गुरुङ, हरिबहादुर चुमान र आशा कोइराला निर्वाचित भएका थिए। नेकपा विभाजनपछि किरण र रामबहादुर एमालेमा रहेका छन्। हरिबहादुर र आशा माओवादी केन्द्रमा लागेका छन्। 

अहिले औपचारिक रुपमा एमाले विभाजन भएपछि तनहुँका दुई जना संघीय सांसदमध्ये किसन श्रेष्ठ एकीकृत समाजवादीतर्फ लागेका छन्। एमालेको विभाजनपछि तनहुँमा ठूलो प्रभाव नदेखिए पनि निर्वाचनमा प्रभाव पार्ने डरले अहिले एमालेका नेताहरु त्रसित बनेका छन्।

आन्तरिक कलहको चक्रब्युहमा तनहुँ कांग्रेस
गत स्थानीय निर्वाचनमा जित हासिल गरेका पालिकाहरु जोगाउँदै विरासत कायम गर्ने दाउमा कांग्रेस देखिएको छ। तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, शंकर भण्डारी, प्रदिप पौडेल र गोविन्दराज जोशी पक्षको गुटगत राजनीतिका कारण अहिले तनहुँ कांग्रेस निकै कमजोर अवस्थामा पुगेको छ।

तनहुँमा एउटा गुटले अर्कोको अस्तित्व स्वीकार नगर्दा पार्टीको संगठन नै निकम्मा भएको छ। पछिल्लो समयमा नेतापिच्छे गुट हावी भएपछि नेता/कार्यकर्ता रमिते बनेका छन्। कांग्रेसमा जिल्ला, पालिका र वडासम्मका जनता कांग्रेसका व्यक्तिवादी गुटमा विभाजित भएका छन्।

केन्द्रीय राजनीतिमा राम्रो प्रभाव बनाएका रामचन्द्रको विरुद्धमा पहिल्लो समय गोविन्दराजदेखि शंकर भण्डारीसम्मले मोर्चाबन्दी बनाएर व्यक्तिवादी गुट नै चलाइरहेका छन।

अहिले रामचन्द्रलाई राजनीतिबाट पतन गराउन इतर समूह योजनाबद्ध रुपमा लागिरहेको छ। उनीहरुले प्रतिपक्ष एमालेसँग मुकाबिला गर्नभन्दा कसरी रामचन्द्रलाई पतन गर्ने भन्ने तानावाना बुन्नमै समय खर्चिने गरेको देखिन्छ। 

तनहुँ कांग्रेसका गुटगत नेताहरुले रामचन्द्रले समर्थन गरेका नेतालाई हराउने र आफ्नो शक्ति स्थापित गर्ने भन्नेमै समय खर्चिने गरेको देखिन्छ। जनअपेक्षा अनुसार काम गर्न नसकेका कारण रामचन्द्र स्वयं पनि जिल्लामा कमजोर बन्दै गएका छन्।

विगत लामोसमयदेखि आफू निकटका उम्मेदवारले कांग्रेसको जिल्ला सभापति लगायतका पदमा विजयी बन्दै आए पनि गत अधिवेशनमा पौडेल पक्षबाट उम्मेदवार बनेका बैकुन्ठ न्यौपाने दिप्तप्रकाश आलेसँग पराजित भएका थिए।

आले विगतमा पौडेल पक्षमा रहे पनि गत अधिवेशनमा शंकर भण्डारी र जोशी पक्षबाट उम्मेदवार बनेर पौडेल पक्षका न्यौपानेलाई पराजित गरेका थिए। यसले पनि पछिल्लो समय पार्टीको आन्तरिक द्वन्द्वका कारण पौडेल कमजोर बन्दै गएको देखाउँछ।

शक्ति हत्याउने खेलसँगै अवसानको राजनीति
तनहुँको राजनीतिमा पछिल्लो समय पौडेल र जोशीबीचको आन्तरिक टकराजले उग्र रुप लिँदैछ। भ्रष्टाचारको अभियोग लगाउनेदेखि, पार्टीबाट निष्काशन गर्नेसम्मको काममा पौडेलेको हात रहेको आरोप लगाउँदै आएका जोशीले पछिल्लो समय अमेरिकामा रहेका छोरा दिपकराज जोशीलाई डाकेर सक्रिय राजनीतिमा उतारेका छन्। उनले जिल्लामै बसेर लामो समयदेखि रामचन्द्र विरुद्ध प्रहार गर्दा समेत सफल नभएपछि अब भने बाबु-छोरा मिलेर पौडेललाई प्रहार गर्ने योजना बनाएका छन्। 

उनको विभिन्न प्रहारबाट पौडेल नगलेपछि एमालेसँग मिलेर सदरमुकाम दमौली समेत रहेको ब्यास नगरपालिकाको प्रमुखमा छोरो दिपकराजलाई स्वतन्त्र उम्मेदवारका रुपमा अगाडि बढाएका छन्। पौडेलको विरासत कायम रहेको ब्यासमा एमालेसँग मिलेर छोरालाई मेयरमा जिताएर आफ्नो शक्ति स्थापित गर्ने योजना जोशीको रहेको देखिन्छ। 

जोशीले छोरा दिपकराजलाई मेयर र एमालेलाई उपमेयर दिने गरी चुनावी तालमेल गरेका छन्। २०७४ को निर्वाचनमा झण्डै साढे तीन हजार मतले पराजित भएको एमालेले अहिले पार्टी विभाजन समेत भएकाले कांग्रेसका मेयरका उम्मेदवार बैकुण्ठ न्यौपानेसँग पराजय भोग्नुपर्ने भयले जोशीसँग साँठगाँठ गरेको देखिन्छ।

एमालेका एकथरी नेताहरुले ब्यासमा पार्टीले एक्लै चुनाव जित्ने सम्भावना रहेको अवस्थामा जिल्लास्तरका केही स्वार्थी नेताहरुको कारण गोविन्दराजका छोरालाई समर्थन गरेको आरोप लगाउँदै आएका छन्। 

गत निर्वाचनमा एमालेका तर्फबाट मेयरमा उम्मेदवार बनेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत ल्याएका थिए। नगर प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए। 

विगतको पैंचो तिर्ने दाउमा जोशी
तनहुँमा लामो समयदेखि राजनीतिमा सक्रिय रहेका जोशीको व्यक्तिगत रुपमा राम्रो प्रभाव छ। पटक-पटक मन्त्री बन्दा जिल्लाको विकासभन्दा पनि कार्यकर्तालाई प्रभावमा राख्न ठेक्कापट्टा र आर्थिक लाभको अवसर दिएकाले तिनै कार्यकर्ताको अहिले जोशीलाई आड, भरोसा छ। भूमितग राजनीतिमा लाग्ददेखि मन्त्री बन्दाका बेलासम्म विभिन्न लाभ लिएका नेता/कार्यकर्ताको बलमा नै ब्यासको मेयरमा छोरालाई जिताउने योजनामा जोशी लागेका छन्।

ब्यासमा जोशीको पक्षमा झण्डै तीन हजार र एमालेको पार्टी विभाजन पूर्वको अवस्थामा पाएको साढे ९ हजार मत रहेकाले कांग्रेससँग सजिलै प्रतिस्पर्धा गर्न सकिने उनीहरुको ठम्याइ छ।

तनहुँमा कांग्रेसमा बसेर जोशी पक्षलाई उक्साउने नेताहरुको जमात ठूलो छ। कांग्रेसका विभिन्न पदमा बसेका जिम्मेवार नेताहरुको जोशीसँगको उठबसका कारण पार्टीमा समस्या देखिएको तनहुँ कांग्रेसका एक नेताले बताए। ‘पार्टीको जिम्मेवार पदमा बस्नेले पार्टीमा भएका सबै गतिविधि जोशीकोमा पुर्याएर आफ्नै नेता/कार्यकर्ता विरुद्धका विभिन्न कार्य गर्ने गरेकाले पार्टी कमजोर भयो’, ती नेताले भने, 'दिनभरि पार्टीमा हुन्छन्, साँझ परेपछि दिनभरिका गतिविधि सुनाउन उहीँ पुग्छन्। सबै सरसल्लाह उतै लिएर पार्टीका सहयात्रीको कुरा बुझ्न यता आउँछन्। यस्तो कार्यले पार्टी बन्छ?’

स्थानीय तह निर्वाचनमा व्यास नगरपालिकामा विभिन्न पार्टी र स्वतन्त्रका तर्फबाट मेयरमा ११ जनाले उम्मेदवारी दिएका छन्। व्यासको मेयरमा ठूलो संख्यामा उम्मेदवारी परे पनि मुख्य प्रतिस्पर्धा कांग्रेसका बैकुण्ठ न्यौपाने र जोशी-एमाले समूहका उम्मेदवार दिपकराज जोशीबीच हुने देखिन्छ। 

सजिलो छैन गोविन्दराजलाई
एमाले र कांग्रेसका असन्तुष्ट पक्षको मत लिएर मेयरमा छोरालाई विजयी गराई तनहुँ कांग्रेसमा आफ्नो गुमेको राजनीतिक शक्ति आर्जन गर्ने अन्तिम योजनामा गोविन्दराज रहेको देखिन्छ।

उनीहरु हाल मेयरका उम्मेदवारले न्यौपानेले पाँच वर्षको कार्यकालमा गरेका विभिन्न कमजोरीलाई मुद्दा बनाएर मतदताको घरदैलोमा पुगेका छन्।

एमालेका एकथरी नेताहरुले ब्यासमा पार्टीले एक्लै चुनाव जित्ने सम्भावना रहेको अवस्थामा जिल्लास्तरका केही स्वार्थी नेताहरुको कारण गोविन्दराजका छोरालाई समर्थन गरेको आरोप लगाउँदै आएका छन्। 

दिपकराजलाई मेयरमा समर्थन गर्ने निर्णय भएपछि एमालेका नेता/कार्यकताहरुले गोविन्दराजले मन्त्री हुँदा शक्तिको आडमा विभिन्न यातना दिएको बिर्सिएर उनकै छोरालाई सहयोग गर्ने सहमति गरेको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना समेत गर्दै आएका छन्।

कुनै पार्टी नै नभएका दिपकराजलाई एमालेको चुनाव जित्ने मत खन्याउन बाध्य पार्ने निर्णय भएपछि आफ्नै पार्टीका नेता/कार्यकर्ताले जिल्लास्तरका नेता गोविन्दराजसँग विकेर गलत निर्णय गरेको आरोप लगाएका छन्। 

एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेका प्रभावशाली नेता किसन श्रेष्ठको गृहनगर समेत भएकाले यहाँका १४ वटा वडामा झण्डै समाजवादीको तीन हजार मत रहेको अनुमान गरिएको छ। समाजवादीको सत्तारुढ गठबन्धनसँग सहकार्य गरेकाले उसको मत दिपकराजको विपक्षमा पर्नेछ।

साविक एमालेको साढे ९ हजार मतमध्ये समाजवादीले तीन हजार घटाएको अवस्थामा एमालेसँग करिब साढे ६ हजार मात्र मत रहन्छ। त्यसमा पनि दिपकराजले आधाआधी मत मात्र ल्याउने सम्भावना देखिन्छ।

यस्तो छ ब्यासको विगतको अंकगणित
ब्यासमा मेयर पदका लागि ११ जना प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले मेयरमा बैकुन्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरैलाई उम्मेदवार बनाएको छ।

त्यसैगरी स्वतन्त्रबाट गोविन्दराजका छोरा दीपकराज मेयरमा उम्मेदवार बनेका छन् भने एमालेबाट बसुन्धरा घर्तीलाई उपमेयरमा उम्मेदवार बनाइएको 

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दौलत अधिकारी, साझा विवेकशीलबाट रमेश आचार्य लगायत मेयरका उम्मेदवार रहेका छन्। ब्यास नगरपालिमा कुल ४७ हजार ५ सय ४२ मतदाता रहेका छन्। 

ब्यास नगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित १४ १३ वडामा जित हासिल गरेको थियो। व्यासको वडा नम्बर ४ मा मात्र एमालेका उम्मेदवार वजयी भएका थिए।

काँग्रेसका तर्फबाट नगर प्रमुखमा बैकुण्ठ न्यौपाने १३ हजार ५६ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तत्कालीन एमालेका शंकरनारायण श्रेष्ठले ९ हजार ५ सय ९२ सय मत पाएका थिए।

यस्तै उपप्रमुखतर्फ कांग्रेसकी उम्मेदवार मीरा जोशीले १३ हजार २ सय ६० मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी उम्मेदवार नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले ३ हजार ४ सय ७७ मत ल्याएका थिए।

वैशाख २५, २०७९ आइतबार १४:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।