गठबन्धनको बुटवल सभा : शीर्ष नेता ओलीको आलोचनामा केन्द्रित, उम्मेदवारको हावा बाचा
बुटवल : पाँच दलीय गठबन्धनले बुटवलको वाणिज्य क्याम्पस मैदानमा आयोजना गरेको सभामा शीर्ष नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा समय बिताए भने उम्मेदवारले झुटो वाचा गरे।
निर्वाचन केन्द्रित चुनावी आमसभामा सहभागी नेताहरू बुटवलमा पनि पाँच दलीय गठबन्धनको आवश्यकता बुझाउनमै केन्द्रित भएका थिए। उनीहरू स्थानीय विषय र समस्यामा भन्दा केन्द्रीय विषय र प्रतिपक्षीको आलोचनामै बढी केन्द्रित भएका थिए।
प्रधानमन्त्री शेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी नेता चक्रपाणि खनाल, कांग्रेस प्रवक्ता प्रकाश शरण महत, समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री, जसपा नेताहरूले सभामा सम्बोधन गरेका थिए।
प्रधानमन्त्री देउवाले एमसीसी पास हुनु बुटवल क्षेत्रका लागि सबैभन्दा ठुलो फाइदा भएको दाबी गरे। ऋण लिएर देश चलाउन नसकिने बताउँदै देउवाले एमसीसीको ठुलो फाइदा बुटवल भैरहवा, दाङका नागरिकले पाउने बताए।
एमसीसीको रकमलाई विकासे बजेटमा खर्च गर्न सकिने भन्दै भाषण गरेका देउवाले थप अनुदान समेत आउन लागेको दाबी गरे।
सुरुमा सुकुमबासी समस्या समाधान, नागरिकताको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका देउवाले त्यसपछि एमसीसीबारे आफ्ना कुरा राखेका थिए। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले केही काम गर्न नसकेको दाबी गरेका देउवाले त्यसपछिका सबै समय गठबन्धनको व्याख्यामै समय खर्चे।
९ मिनेट मात्र बोलेका देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको मात्र बताएनन् विकास, स्थिरता, लोकतन्त्रको रक्षाका लागि रहेको बताए।
कांग्रेस नेता पौडेलले ओलीमाथि गालीको वर्षा नै गरे। जनतालाई ठग्ने काम गरेको भन्दै पौडेलले जनतालाई ठगी गर्नेलाई नभई सही कुरा बुझेर मत दिन आग्रह गरेका थिए। उनले ओलीले नेपाललाई अस्थिरतातर्फ लगेको, नक्कली राष्टवादले धोका दिएको जस्ता आरोप लगाए। त्यसपछि पौडेल पनि संविधानको रक्षा, परिवर्तनको रक्षाका लागि गठबन्धन बनेको भन्दै परिभाषामा समय खर्चे।
गृहमन्त्री खाँणले भने अधिकांश समय गठबन्धनको औचित्यमाथि प्रकाश पार्न समय खर्चे। उनले लोकतन्त्रको सुनिश्चित भविष्यका लागि गठबन्धन बनेको र गठबन्धन जोगाउन सबैको राष्ट्रिय दायित्व भएको बताए।
संविधानको रक्षार्थ, विधिको शासनको रक्षार्थ गठबन्धनलाई बलियो बनाउनु पर्ने भन्दै कुनै पार्टी कमजोर भएर गठबन्धन नगरेको, चुनाव जित्न मात्र नभई मुलुकको विकास र समृद्धका लागि एकता अपरिहार्य रहेकाले गठबन्धन गरेको बताए।
उनले अहिले राष्ट्रिय राजनीतिलाई सही बाटोमा हिँडाउन, संविधानका मूलभूत पक्षलाई बचाउन, लोकतान्त्रिक मूल्य पद्धति जोगाउन, बयल गाडामा चढेर अमेरिका जान सकिन्छ र? भन्ने नेताबाट देश बचाउन गठबन्धन बनेको बताए।
समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री पनि एमाले विरुद्ध खनिइन्। एमाले कार्यकर्ताहरूलाई ओलीको भजन मण्डलीको संज्ञा दिँदै भजन मण्डलीहरुले संसद् विघटनको विरोध गर्न नसकेर व्यक्तिको स्थायित्व कायम गर्न ओलीलाई सघाएको आरोप लगाइन। उनले ओलीले सपनाका कुरा गरेर जनतालाई झुक्क्याउने काम गरेको बताइन।
‘स्याटलाइटबाट आकाश किन्ने कुरा, चन्द्रमामा भर्याङ लगाउने कुरा, पानीजहाज र चुच्चे रेल ल्याउने जस्ता सुन्दै रोमाञ्चकारी कुराले जनताको पेट भरिन्न’ उनले भनिन् ‘वास्तविक धरातलमा उभिएर देश सहाउँदो सीमित साधनबाट असीमित चाहनालाई पुरा गर्ने गरी योजना बनाउनु आवश्यक छ।’
माओवादी नेता चक्रपाणि खनाल (बलदेव) सन्की आत्माहरूको सनकका कारणले उपलब्धि गुम्ने खतरा हुँदा गठबन्धन बनेको दाबी गरे। कांग्रेस प्रवक्ता प्रकाश शरण महतले मनोरञ्जनको पात्रको रूपमा ओलीलाई चित्रण गरे। उनले काण्डै काण्डको सरकार ओली नेतृत्वको सरकार रहेको भन्दै आरोप लगाए।
चुनावमा फन्डा गर्न अधिकार भन्दा बाहिरका योजना बनाउने उद्घोष
पाँच दलीय गठबन्धनको बृहत् भेलामा सम्बोधन गर्दै गठबन्धनको तर्फबाट उम्मेदवार बनेका खेलराज पाण्डेले अधिकार क्षेत्रभित्रै नभएका योजना आफू निर्वाचित भएपछि गर्ने दाबी गरे। संविधानले सङ्घ, प्रदेश, स्थानीय तहलाई अधिकार बाँडफाँड गरिसकेको अवस्थामा आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने योजना पनि पुरा गर्ने दाबी गरे।
उनले बुटवलदेखि चौराहासम्मको सडक बनाउने आश्वासन दिए। जबकि बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक सङ्घ अन्तर्गत अहिले बनिरहेको छ। मोतीपुर औद्योगिक क्षेत्र भित्र पर्ने ढाई सय जग्गा फिर्ता गर्ने चुनावी एजेन्डा पनि बनाए।
सङ्घ सरकारको औद्योगिक क्षेत्र लिमिटेडले लालपुर्जा समेत आफ्ना नाममा लिइसकेको अवस्थामा पाण्डेले जग्गा फिर्ता गर्ने झुटो वाचा गरे।
वैशाख २४, २०७९ शनिबार १६:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।