बुटवलवासीलाई देउवाको प्रश्नः ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ?
बुटवल : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पाँच वर्षसम्म सरकार चलाउन जनताले मत दिए पनि संविधानमाथि प्रहार गर्दै संसद् विघटन गरेकाले संविधानको रक्ष गर्न पनि गठबन्धनको आवश्यकता परेको बताए।
बुटवलमा पाँच दलीय गठबन्धनको आयोजनामा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन जोगाउन सबै दलका उम्मेदवारलाई जिताउन अपिल समेत गरे। ‘संसद् भंग गर्ने, अदालतले स्थापित गरेको संसद्लाई चल्न नदिने काम ओली जी बाट भएको छ। उहाँलाई जिताएर के हुन्छ ? त्यसैले गठबन्धनलाई जिताउँदै, टिकाउन नेपाली कांग्रेस प्रतिबद्ध छ’ उनले भने।
उनले प्रजातान्त्रिक स्वतन्त्रलाई बचाउन पनि गठबन्धन सरकार बनेको बताए। उनले संघीय सरकार सम्म गठबन्धन कायम राख्ने र राष्ट्रिय सरकार बनेपछि पहिलो काम सडक निर्माण र तराईमा रहेको अव्यवस्थित सुकुम्वासी समस्या समाधानलाई प्राथमिकता दिने बताए।
साथै उनले एमसीसीको अनुदानबाट बन्ने सडक पूर्वाधारबाट यस क्षेत्रले सबैभन्दा बढी फाइदा लिने बताए। उनले बुटवल देखि लमही सम्मको सडक एमसीसीको रकमबाट बन्न लागेको बताउँदै बुटवल, भैरहवा, दाङका जनताहरूलाई यसले सबैभन्दा फाइदा पुग्ने बताए।
त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले २ पटक सम्म ओलीले संसद् विघटन गरेर देशलाई अस्थिरता तर्फ धकेल्ने काम गरेको बताए। ‘संसद् भंग गर्ने। अदालतले पुर्नस्थापित गरेको संसद् चल्न नदिनेलाई अब यहीबाटै संसद्मा जानबाट रोक्नुपर्छ। नक्कली राष्ट्रवादले जनतालाई धोका दिए। ठग्ने काम गरे। अब जनता ठगिने होइन’ उनले भने।
उनले सुकुम्वासी समस्या समाधानका लागि संघ सरकारबाट पनि पहल गर्ने बताए। उनले संविधानको रक्षा, परिवर्तनको रक्षाका लागि गठबन्धन गरेको समेत स्पष्ट पारे।
वैशाख २४, २०७९ शनिबार १४:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।