वीरेन्द्रनगर: कांग्रेस–माओवादी गठबन्धनलाई राप्रपाको काउण्टर, बाजी मार्ने दाउमा एमाले

वीरेन्द्रनगर: कांग्रेस–माओवादी गठबन्धनलाई राप्रपाको काउण्टर, बाजी मार्ने दाउमा एमाले

सुर्खेतः स्थानीय तहको निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन सुर्खेतमा विभिन्न राजनीतिक दलहरूले चुनावी प्रचार–प्रसारलाई तीव्र पारेका छन्। सुर्खेतका नौ वटा स्थानीय तहमध्ये प्रदेशको राजधानी वीरेन्द्रनगरलाई चासोको रूपमा हेरिएको छ।

यहाँ अन्य पालिकामाभन्दा दलहरूको तडकभडक बढी नै देखिएको छ।

वीरेन्द्रनगरको मेयर र उपमेयरमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने एमाले र एकीकृत समाजवादी एक्लाएक्लै प्रतिस्पर्धामा छन्। यहाँ राप्रपाले पनि चुनावी प्रचारलाई तीव्र बनाएको छ।

गठबन्धनबाट मेयरमा कांग्रेसका नगर सभापति उपेन्द्र खड्का र माओवादीका शान्ति ढकाल उपमेयरमा उम्मेदवार बनेका छन्। एमालेबाट मेयरमा निवर्तमान उपप्रमुख मोहनमाया ढकाल र उपमेयरमा वडा नम्बर ४ का निवर्तमान वडाअध्यक्ष नीलकण्ठ खनाल चुनावी प्रतिस्पर्धामा छन्।

यस्तै राप्रपाले वीरेन्द्रनगरका पूर्वमेयर मुकुन्दश्याम गिरीलाई मेयरको उम्मेदवार बनाएको छ। समाजवादीबाट धनकुमारी जिसीले प्रतिस्पर्धा गरिरहेकी छिन्।

प्रतिस्पर्धीहरूमध्ये नगरप्रमुखमा मोहनमाया ढकाल, उपेन्द्र खड्का र मुकुन्दश्याम गिरीको कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ। चुनावी तालमेल गरेका कांग्रेस र माओवादीलाई राप्रपाले पनि 'काउण्टर' दिइरहेको छ। 

गिरीले कांग्रेस, माओवादी र समाजवादीको समेत भोट क्रस गर्ने आकलन गरिएको छ। नगरको सबै जसो वडामा उनका नातागोता भएका कारण पनि उनलाई सहानुभूतिको मत आउने आकलन गरिएको हो।

गत २०७४ सालको निर्वाचनमा एमालेले १६ वडामध्ये ९ वडामा जित्दा कांग्रेस पाँच वडामा विजय पाएको थियो भने माओवादीले एक वडामा चित्त बुझाएको थियो। २०७४ को चुनावमा मेयरमा देवकुमार सुवेदी कांग्रेसबाट १४ हजार ४०५ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका बालाराम शर्मा १३ हजार ८९९ ल्याएर पराजित भए।

यस्तै माओवादीका रत्नबहादुर गाहाले ५ हजार २३७ र स्वतन्त्रबाट गेहेन्द्रप्रसाद दाहालले एक हजार ८९४,  अर्का स्वतन्त्र उम्मेदवार मिलन थापा मगरले ५८ मत पाएका थिए।

यस्तै राप्रपाका ईश्वरकुमार श्रेष्ठले ५५७ मत पाउँदा मजदुर किसान पार्टीका शेरबहादुर शाहीले एक हजार ६६७, जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले एक सय ८८, संघीय समाजवादी फोरमका लक्ष्मीप्रसाद ढकालले ७८, समाजवादी जनता पर्टीका मणिराम शर्माले ४० मत पाएका थिए।

उक्त तथ्यांकले पनि वीरेन्द्रनगरको चुनाव एमाले र गठबन्धनबीचको प्रतिस्पर्धा रहेको देखिन्छ। तर, कांग्रेसको शेखर समूहमा चुलिएको असन्तुष्टिका कारण गत निर्वाचनमा राप्रपाले पाँच सय ५७ मत पाए पनि यो पटक मत बढ्ने देखिएको छ।

स्थानीय स्तरमा राप्रपाका गिरीले कांग्रेसको शेखर समूहको समेत सहानुभूति पाइरहेका छन्। यसैको बलमा उनी आफूले जित्नेमा कुनै शंका नभएको दावी गर्दै आएका छन्।

सुरुमा गठबन्धन मिलेर जाने भनिए पनि अन्तिममा माओवादी र कांग्रेस मात्रै मेयर–उपमेयरमा उम्मेदवारको भागवण्डा मिलेको थियो। अझ घरदैलो अभियानमा कांग्रेसले माफ्नो पक्षमा मत माग्ने र माओवादीले आफ्नो पक्षमा मत माग्ने गरेका कारण गठबन्धनलाई विफल बनाउँदै निर्वाचन आफ्नो पक्षमा पार्ने दाउमा एमाले छ।

निर्वाचन प्रचार-प्रसारको अवस्था हेर्दा सबै दलले आचारसंहिता पनि त्यति पालना गरेको देखिँदैन। चुनावी अभियानमा अनगिन्ती गाडी, बालबालिकाको प्रयोग र सार्वजनिक पद धारण गरेकाहरू देखिएका छन्।

वैशाख २४, २०७९ शनिबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।