लक्का जवान: महिलालाई मजाक बनाएको हास्यरस

लक्का जवान: महिलालाई मजाक बनाएको हास्यरस

घमण्डी झपटबहादुर (किरण के.सी)लाई तीन भाइ छोरा जन्माएकोमा गर्व छ। भ्रष्टाचार गरेर उसले बिल्डिङ ठड्याएको छ। ब्यांक ब्यालेन्स टन्न छ। तर उनी पेशाले कार्यालय सहयोगी हुन्। 

उनले यत्रो रवाफिलो जीवन कसरी बाँचे भने उनी पार्टीका कार्यकर्ता हुन्। मन्त्रीसम्म राम्रो पहुँच बनाउँछन्। खुलदुली गाउँमा तीनभाइ छोरा जन्माउने टिप्स दिँदै छिमेकीलाई हेप्छन्।

उनको बिल्डिङनजिकै अर्को प्लाष्टर समेत नगरेको घर छ। त्यहाँ सुशील पोखरेल बस्छन्। उनका तीन जना छोरी मात्रै छन्। 

बुढेसकाल लागिसक्दा पनि उनी छोरा जन्माउने टिप्स खोजिरहेका हुन्छन्।  छिमेकीले छोराको धाक लगाएको उनी सहनै सक्दैनन्। 

इमान्दार, कुनै पार्टीको कार्यकर्ता नबनेका, सरकारी हाकिम भए पनि गतिलो घर बनाउन नसकेका पात्र हुन् उनी।

तर फिल्म अघि बढेदै जाँदा न तीन भाइ छोरा हुनेलाई खुशी देखाइन्छ, न तीन दिदी बहिनी छोरी हुने नै। छोराछोरी सबै लाखापाखा लाग्छन्। 

नयाँ पुस्ता कति बाध्यताले, कति रहरले गाउँ बस्न चाहँदैनन्। गाउँमा वृद्धवृद्धा मात्रै छन्। फिल्ममा महिला र बालबालिका देखाइए पनि छोराछोरी भने शहरमा पढाउने भन्दै उनीहरूले समेत गाउँ छाडेको अवस्था छ।

मर्दापर्दा लास उठाउने युवा समेत गाउँमा छैनन्। फिल्मको कथावस्तु बुढेसकालमा सन्तानको साथ नहुँदा वृद्धवृद्धाले भोग्नपरेको विषयमा केन्द्रित छ।

फिल्ममा कमजोरी धेरै छन्। तर क्लाइमेक्समा देखाइएको दृश्यले सबैको आँखा रसाउँछ। केमियो रोल पाएका मदनकृष्ण श्रेष्ठको प्रवेशले फिल्मको बहावलाई मोडिदिन्छ। युवाहरूलाई फिल्मले गाउँ सम्झिन बाध्य बनाउँछ।

फिल्ममा आकर्षक गीतको प्रयोग छ। तर क्यामेरा, एडिटिङको काम कर्मकाण्डी मात्र छ। फिल्म लम्ब्याउन अनावश्यक दृश्यहरू जबर्जस्ती कोचिएको छ। 

पहिलेको जमानामा जस्तै अहिलेको समयमा पनि महिलालाई मजाक बनाएरै हसाउन खोजेका छन् निर्देशकले।

उदाहरणका लागि, सरोज खनाल फिल्ममा कतै फिट भएका छैनन्। राजाराम पौडेल, निर्मल शर्मा, स्वर्गीय जयनन्द लामा लगायतको उपस्थितिले कथामा केही प्रभाव पर्दैन।

फिल्ममा जातीयसँगै अरू विभिन्न विषय उठान गरिएको छ। तर बीचैमा छोडिएको छ। जस्तो, चाइल्ड एडप्सन (धर्मपुत्र/धर्मपुत्री) को कुरा। 

उमेर ढल्किँदा पनि बच्चा नभएपछि फिल्मका पात्र छोरा एडप्ट गर्छन्। तर बच्चाको मानसिकतालाई कतै पनि देखाइएको छैन। विषय छुस्स छोइएको मात्र छ।

फिल्ममा कलाकारहरूको अभिनय औसत छ। सुशील पोखरेल, किरण के.सी र अंशु थापा महर्जनको अभिनयले अन्य कलाकारलाई छायामा पारेको छ। 

नायिका प्रियंका कार्की, वर्षा शिवाकोटी, दिलीप रायमाझी, सलोनमानसिंह बस्नेत, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामा लगायतको भूमिका हास्यरसका लागि मात्रै प्रयोग भएको छ।

मजाकको पात्र सधैं महिला मात्रै?
यो फिल्म पुराना हास्य कलाकारको टोलीले बनाएको हो। 'जिरे खुर्सानी' टेलिश्रृङ्खलाबाट 'प्वाक्क मुखाँ हान्नु जस्तो' थेगोले चर्चित शिवहरि पौडेलले फिल्म लेखनदेखि निर्देशनसम्मको काम गरेका हुन्। 

डेब्यू निर्देशनका आधारमा पौडेलको कामलाई औसतै मान्नुपर्छ।

टेलिभिजनको पर्दामा पहिले देखिएका हास्य कलाकारहरूसँग फिल्ममा भेट त हुन्छ नै, फिल्मको झण्डै २ घण्टा हास्य टेलिश्रृङ्खलाकै अनुभूति गराउँछ। 

तर पहिलेका फिल्म र टेलिफिल्ममा जस्तै यसमा पनि महिलालाई मजाक बनाएरै हसाउन खोजेका छन् निर्देशकले।

सरोज खनालले एक संवाद बोल्छन्, 'सपिङ गर्दा, बाहिर घुमडुल गर्दा केही हुँदैन। घर छिर्ने बित्तिकै टाउको दुख्न थाल्छ, मेरी श्रीमतीको।' 

हलमा फिल्म हेरिरहेका एक अधवैंशे पुरुष खुट्टा बजार्दै हाँस्दै भन्दै थिए, 'ठ्याक्कै मिल्यो।'

प्रस्तुतिमा चुके पनि फिल्मको विषय उठान राम्रो छ। क्लाइमेक्स राम्रो छ। त्यो नहुने हो भने, फिल्म पुरानो जमनाको हास्यटेलिश्रृङ्खला जस्तो हुनजान्छ। 

त्यस्तै 'तीन सन्तान तीनथरि अनुहारका छन्' भन्ने संवादमा समेत हासो पुरुषलाई नै लाग्यो। हसाउने बहानामा महिलाको चरित्रमाथि प्रश्न उठाउने पुरानो हास्यशैलीमा फिल्म बनेको छ।

फिल्ममा महिला चरित्रलाई धेरै महत्त्व दिइएको छैन। पढेलेखेकी छोरीहरूको विहे अनपढ, आवारा, फटाहा केटाहरूसँग गराइदिएको देख्न सकिन्छ। अझै एउटा दृश्यमा त नायिका प्रियंका कार्कीलाई दोहोरो चरित्रको देखाइएको छ।

उनी एक संस्थामा प्रमुखको काम गर्छिन्। त्यहाँ नेताको पावर लागेका अनपढ केटो अध्यक्ष भएर आउँछ। प्रियंकाले विरोध गर्छिन्। एक्लै भेट हुँदा 'तिमी सक्दैनौं, तिम्रो कारणले संस्था बन्द भयो भने हजारौंको रोजगारी गुम्छ' भन्छिन्। 

देशप्रेममा उनको आँखा रसाउँछ। तर, ससुरा भ्रष्टचारको मुद्दामा जेल पर्दा 'पाँच करोड खाएर एक करोड धरौटी तिर्ने हो, चार करोड त फाइदा' भन्नेखालको अभिव्यक्ति दिन्छिन्। श्रीमानलाई आमा, भाइसँग छुट्टिएर बस्न दबाब दिन्छिन्।

फिल्ममा घुमाउरो पाराले दलितलाई पनि कमजोर देखाइएको छ। 

पढेलेखेकी एक महिला तथाकथित माथिल्लो जातको केटोसँग प्रेममा भएको देखाइन्छ। परिवारलाई जसोतसो मनाएर केटो माग्न आउँछ। तर उमेर मिल्दो र प्रेममा परेको केटा माग्न आउँदा समेत केटी मान्दिनन्।

उनी पहिल्यै श्रीमती, चार छोराछोरी भएको आफूभन्दा उमेरले निकै बुढोसँग विहे गर्छिन्। उनलाई अवसरवादी महिलाको रूपमा चित्रण गरिएको छ।

फिल्ममा विदेश जान रहर गरिरहने किशोरीको बलात्कार भएको देखाइएको छ। बलात्कार भइसकेपछि उनलाई रातो टिका लगाएर विदेशका लागि बिदा गरिन्छ। 

उनलाई यो देश सुरक्षित नभएसम्म फर्केर नआउन भनिन्छ। छोरीहरू विदेश जानु भनेको बलात्कारमा नपरून् भनेर हो भन्ने खालका विषय फिल्ममा देखाइएको छ। 

यही प्रसङ्गमा विदेश जाँदै गरेकी छोरीकी आमाले आफ्नो श्रीमानलाई भन्छिन्, 'छोरीलाई घरबाट बाहिर ननिस्की भन्दा गाली गर्थ्यौ नि! यस्तै हुन्छ भनेर हो।'

लक्का जवान, यसअघि नेपालमै बनेको छोटो फिल्म 'मलामी'लाई अनावश्यक दृश्य थपेर बनाइएको चलचित्र जस्तो लाग्छ। मलामीमा महिलाले लास छुन नहुने, बुढापाकाले बोकेर लैजान नसक्ने अफ्ठ्यारो परिस्थितिमा लास आफैँ उठेर चिहानसम्म पुगेर सुतेको दृश्य देखाइएको छ भने, यहाँ महिलाले लास घाटसम्म लगेको देखाइन्छ। 

महिलालाई मजाक बनाइको हास्य मनपर्छ भने, यो फिल्म पनि तपाईंलाई पक्कै मनपर्छ। 

प्रस्तुतिमा चुके पनि फिल्मको विषय उठान राम्रो छ। क्लाइमेक्स राम्रो छ। त्यो नहुने हो भने, फिल्म पुरानो जमनाको हास्यटेलिश्रृङ्खला जस्तो हुनजान्छ। 

वैशाख २४, २०७९ शनिबार ०९:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।