दलका प्रतिबद्धतापत्रमा लोकरिझ्याइँ : अधिकारभित्रै नपर्ने योजना पनि समावेश

दलका प्रतिबद्धतापत्रमा लोकरिझ्याइँ : अधिकारभित्रै नपर्ने योजना पनि समावेश

बुटवल : स्थानीय तहको निर्वाचनका लागि दलहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। त्यही प्रतिबद्धता पाँच वर्षभित्र पूरा गर्ने वाचा गर्दै उम्मेदवारहरुले मत मागिरहेका छन्।

अधिकांश दलका चुनावी प्रतिबद्धतापत्रमा सडक विस्तार, खानेपानी, स्वास्थ्य चौकी, सडक कालोपत्रे, स्वास्थ्य, शिक्षाको गुणात्मक विकासदेखि करको दायरा बढाउँदै कर छुट गर्नेसम्मका योजना छन्। कतिपय दलले केही महत्वाकांक्षी प्रतिबद्धता समेत गरेका छन्।

संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ-आफ्ना अधिकारका क्षेत्रहरु तोकेको छ। दलहरुले आफ्नै क्षमतामा गर्नसक्ने बाहेक संघ र प्रदेश सरकारबाट समन्वय गरेर पनि कतिपय कार्यक्रम पालिकामा ल्याउने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएका छन्।

तिलोत्तमा नगरपालिकामा गठबन्धन दलबाट नगर प्रमुखको उम्मेदवार बनेका नेपाली कांग्रेसका रामकृष्ण खाँणले प्रशासकीय भवनलाई नगर अस्पताल बनाउने महत्वाकांक्षी योजना प्रतिबद्धतापत्रमा लेखेका छन्। यसको आलोचना समेत भएको छ। एमालेले त उनको प्रतिवद्धतालाई सस्तो प्रचारबाजीको ‘फण्डा’ भनेको छ।

तिलोत्तमा नगरपालिका र शंकर बनबाटिकाको संयुक्त आयोजनामा बनबाटिकामा ११ करोडको बहुउद्देश्यीय टावर निर्माण भएपछि व्यापक आलोचना भयो। त्यही कारण अहिले नेपाली कांग्रेस र माओवादीको संयुक्त प्रतिबद्धतापत्रमा जनताबाट उठाएको करले सालिक, गेट, स्तम्भ, भ्यु-टावर बनाउन पूर्ण रुपमा बन्देज लगाउने योजना अघि सारेको छ।

'एक घर एक रोजगार' योजना लागू गर्ने गठबन्धनले साझा प्रतिबद्धतामा उल्लेख गरेको छ। त्यस्तै गठबन्धनले नगरभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने महत्वाकांक्षी योजना पनि अघि सारेको छ भने सांगीतिक महोत्सवको कार्यक्रम गर्ने पनि गठबन्धनको प्रतिबद्धता छ।

एमाले तिलोत्तमाको प्रतिबद्धतापत्रमा पनि केही महत्वाकांक्षी योजना उल्लेख गरिएको छ। बस्ती भएका स्थानको हाइटेन्सन लाइनलाई भूमिगत गरिने बताइएको छ। काठमाडौं सहित देशभर तार भूमिगत हुने चर्चा भए पनि यो काम गर्न त्यति सहज भने छैन। तर संघ सरकार र प्राधिकरणको समन्वयमा तार भूमिगत गरिने योजना एमाले तिलोत्तमाले प्रतिबद्धतापत्रमा लेखेको छ।

यता पाँच वर्ष भित्रमा निरपेक्ष गरिबीमुक्त नगरको रुपमा नगरपालिकालाई विकसित गरिने महत्वकांक्षी योजना पनि एमाले तिलोत्तमाले अघि सारेको छ।

तिलोत्तमामा एमालेबाट नगर प्रमुखमा मोहन चापागाईं र उपप्रमुखमा जागेश्वरी देवी चौधरी उम्मेदवार छन्। त्यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका रामकृष्ण खाँण नगर प्रमुख र माओवादी केन्द्रका हेमन्त पाण्डे उपप्रमुख पदमा उम्मेदवार छन्। 

२०७४ को निर्वाचनमा बुटवल उपमहानगरपालिकाले प्रतिबद्धतापत्रमा झुम्सा खानेपानी आयोजना, सेमलार-मोतिपुर स्याटेलाइट सिटी बनाउने उल्लेख थियो। तर बनेनन्। अहिले पनि महत्वकांक्षी योजना सहित एमालेले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

लुम्बिनी वाणिज्य क्याम्पसलाई विश्वविद्यालयको रुपमा विकास गर्ने योजना प्रतिबद्धतापत्रमा छ। जबकी, यो उसको अधिकारभित्र पर्दैन। समन्वयन गर्न सकिने भए पनि विश्वविद्यालय आफैंले बनाउने दावी प्रतिबद्धतापत्रमा छ।

नि:शुल्क रक्त सेवा सञ्चालन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। नेपाली कांग्रेस र एकीकृत समाजवादी बुटवलको साझा प्रतिबद्धतापत्रमा पनि नि:शुल्क रक्त सेवा सञ्चालन गर्ने भनिएको छ। तर यो प्रदेश सरकारबाट बजेटमा समेटिएर कार्यान्वयनमा गइसकेको कार्यक्रम हो।

तत्कालीन शंकर पोखरेल नेतृत्वको सरकार रहँदा स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठले यो नीति तथा कार्यक्रममा समावेश गरेका थिए।

एमाले बुटवल उपमहानगरपालिकाले चारैतिर ऐतिहासिकता झल्कने गरी स्वागतद्वार निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने बारम्बार आवाज उठाइरहे पनि सस्तो लोकप्रियताका लागि राज्य कोषबाट बेथर्अी रुपमा स्वागतद्वार बनाउने योजना एमाले बुटवलको प्रतिबद्धतापत्रमा छ। 

एमालेबाट बुटवलमा नगर प्रमुख पदमा बाबुराम भट्टराई र उपप्रमुखमा सावित्री अर्याल उम्मेदवार छन्। गठबन्धनबाट नगर प्रमुखमा कांग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा समाजवादीका चीनबहादुर गुरुङ उम्मेदवार छन्।

राष्ट्रिय जनमुक्ति पार्टीबाट सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका हसनरजा मुसलवानले नगरवासीको घरघरमा पुगेर निःशुल्क सेफ्टी ट्यांकी सफा गर्ने एजेन्डा अघि सारेका छन्।

भैरहवामा व्यवस्थित सार्वजनिक शौचालय समेत नभएको अवस्थामा उनको यो योजना कार्यान्यन गर्नेभन्दा मतदाता आकर्षित गर्ने एजेण्डा भएको स्थानीयहरु बताउँछन्।

एमाले देवदह नगरपालिकाले प्रतिबद्धतापत्रमा केही लोकप्रिय कार्यक्रमहरु समावेश गरेको छ। एक शिक्षक, एक ल्यापटप कार्यक्रम, शिक्षाका लागि साइकल कार्यक्रम, कर घटाउने जस्ता लोकप्रिय कार्यक्रम प्रतिबद्धतापत्रमा उल्लेख छन्।

मर्चवारलाई समृद्ध बनाउने, कृषि, शिक्षा, स्वास्थ्य रोजगारका योगना सहित २०७४ मा निर्वाचित जितेन्द्रनाथ शुक्लाले मर्चवारमा प्रभावकारी काम गर्न सकेनन्। अहिले माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनले फेरि तिनै पुराना एजेण्डा पूरा गर्ने भन्दै मत मागिरहेका छन्। 

यी सहित रुपन्देहीका १६ वटै पालिकामा अहिले दलहरुले सस्तो लोकप्रियता र केही महत्वकांक्षी प्रतिबद्धता लिएर घरदैलो गर्दै मतदाता भेटघाट गरिरहेका छन्। उनीहरुका प्रतिबद्धता २०७४ सालका भन्दा केही फरक छैनन्।

राजनीतिशास्त्री झपेन्द्र जिसीले जनताले सहजै बुझ्ने र गर्न सकिने कामलाई मात्र प्राथमिकतामा राख्नुपर्ने बताए। उनले कतिपय दलका प्रतिबद्धता फन्डा समेत हुने गरेकाले त्यसको खास अर्थ नहुने बताए।

‘अल्पकालीन र दीर्घकालीन योजना प्रतिबद्धतापत्रमा समेटिनुपर्छ। सुरुमा पाँच वर्ष गर्ने आवधिक योजना पास गर्ने र योजना कार्यान्वयनमा लैजानुपर्छ,’ उनले भने।

प्रतिबद्धतापत्रमा उल्लेख भएका कार्यक्रमलाई आधार बनाउँदै आवधिक योजना तयार गरेमा मात्र नेतृत्वले सफलता पाउने उनले बताए।

वैशाख २४, २०७९ शनिबार ०७:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।