मञ्च पायो कि एक अर्कालाई गाली गरिहाल्छन् ओली-नेपाल
रौतहट : स्थानीय तहको निर्वाचनमा मत माग्न आयोजना हुने कार्यक्रम एमाले र एमालेबाट विभाजित एकीकृत समाजवादीका नेताहरूबिच गाली गर्ने मञ्च बनेको छ। संयुक्त गठबन्धनको सभामा सहभागी भएका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल माइक पाए लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्छन्। ओलीले माइक पाए नेपाललाई।
काठमाडौँको सभामा नेपालले ओलीलाई लक्षित गर्दै भने 'केपी ओलीको कार्यकालमा कहीँ नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन।'
उता पार्टीको चुनावी सभालाई सम्बोधन गर्न रौतहट पुगेका ओलीले विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा भेटिएका माधव नेपाललाई राजनीतिमा पूर्णकालीन बनाएको दाबी गर्दै सर्पको बच्चालाई दूध खुवाएको भन्दै आलोचना गरे।
भरतपुरमा आयोजित सभामा नेपालले एमालेलाई कुहिएको फर्सी भन्दै टिप्पणी गरेका थिए। ओलीले नेपाललाई नै कुहिएको फर्सी भन्दै आफ्नै पार्टी विरुद्ध षड्यन्त्र गरेपछि पार्टीबाट हटाएको दाबी गरे।
नेपाललाई तीन पटक पार्टीको प्रमुख अनि प्रधानमन्त्री बनाएको भन्दै उनलाई कुलमा कुलङ्घार जन्मिएको भन्दै आलोचना गरे। उनले रौतहटमा विकास नहुनुको कारण समेत नेपाल भएको र उनले बदमासी गर्ने शङ्का लागेर पहिल्यैदेखि सचेत भएको दाबी समेत गरेका थिए।
वैशाख २३, २०७९ शुक्रबार २१:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।