मधेश प्रदेश कोरोना सङ्क्रमणमुक्त

मधेश प्रदेश कोरोना सङ्क्रमणमुक्त

धनुषाः मधेश प्रदेश कोरोना सङ्क्रमणमुक्त प्रदेश बनेको छ। प्रदेशका आठ वटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेकाले प्रदेश सङ्क्रमणमुक्त बनेको हो।

महामारी सुरु भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालय धनुषाले जनाएको छ। सङ्क्रमणकै कारण प्रदेशमा एक हजार ६२ को मृत्यु भएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए।

सङ्क्रमणले समग्रमा बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२, रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ।

यस्तै प्रदेशमा करिब ८२ प्रतिशतले कोेभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्। सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य गरेको र खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण कोभिड–१९ विरुद्धको खोप लगाउने दर बढेको निर्देशक झाले बताए।

वैशाख २३, २०७९ शुक्रबार १३:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।