बुटवलका उम्मेदवारको चुनावी फन्डा : सुकुम्बासीलाई लालपुर्जाको आश्वासन
बुटवल: २०५९ माघ २८ गते बुटवल- ११, तिलोत्तमा नगरमा शेरबहादुर दर्जीले ढुंगा र बोराले बेरेर जग्गाको घेरा लगाए। अव्यवस्थित सुकुम्बासी खुलेको समयमा जग्गा घेरेर बसेका उनी अहिले त्यहीँ सानो झाप्रो बनाएका छन्।
२०५९ साल देखि खोला बगर किनारमा बसेको दर्जीले ३ पटक चुनावमा मत दिएका छन्। ३ पटक लालपुर्जाकै आश देखाएर नेताले मत मागेपछि मत दिएको उनी बताउँछन्।
‘लालपुर्जा पाइएला भन्ने आशा सकियो। अब चुनावपछि त यहाँ डोजर चल्दै रे,’ उनले भनिन्, ‘बुटवलका धनाढ्यहरुका घर त भत्किए। सुकुम्बासीमा कसले रोक्ला?’
दर्जीलाई अहिले नेता मात्र नराम्रा हुन् भन्ने लाग्दैन। जनता पनि अबुझ बन्दा अव्यवस्थित बसोबासीका समस्या समाधान हुन नसकेको बताउँछन्। ‘चुनाव आएपछि पार्टीको झण्डा बोकेर सबै हिँड्छन्। उसले विगत भुल्छ। अनि फेरि चुनाव सकिएपछि त्यही व्यक्ति त्यही पार्टीको विरोध गर्छ। जनता नै झोले बन्दा पनि समस्या ज्यूँका त्यूँ छ,’ उनले भने।
६३ वर्षीया सावित्री थापाको पनि तिलोत्तमा नगरमै सानो झुप्रो छ। २०५९ सालदेखि त्यहाँ बस्दै आएकी उनी नेताहरुले गरेको प्रतिबद्धता भुल्दा अहिले चुनावमै भोट नै नदिउँ जस्तै लागेको बताउँछिन्। चुनावको समयमा मात्रै आफूहरुको खोजी हुने र निर्वाचित भएपछि नेताले त्यहाँ फर्केर पनि नहेरेको गुनासो उनले गरिन्।
‘पाँ वर्षअघि भोट दिएर जिताए पनि विकास भएन। २ वटा बोरिङ हामी समुदायले आफैं पैसा उठाएर जडान गरेका छौं। विद्युत हामीले सामूहिक लिएका छौ। खै के विकास भयो? बाटो उस्तै छ। समस्या उस्तै छन्,’ उनले भनिन्।
२०५९ सालदेखि तिलोत्तमा नगरमै बसेकी सावित्रीलाई अहिले फेरि अर्को पिरलो थपिएको छ। भएको झुप्रोको लालपुर्जा छैन। अब त्यही लालपुर्जा नभएको झुप्रो पनि तिनाउ-दानव कोरिडोरले लैजाँदै छ।
‘लालपुर्जा पाइएला भन्ने आशा सकियो। अब चुनावपछि त यहाँ डोजर चल्दै रे,’ उनले भनिन्, ‘बुटवलका धनाढ्यहरुका घर त भत्किए। सुकुम्बासीमा कसले रोक्ला?’
उनले जमिनको टुक्रो कतै नभएर खोला किनारमा बसेको भन्दै अब कोरिडोरबाट विस्थापित भए अन्यत्र जग्गा मिलाइदिन आग्रह गरिन्। ‘अब हामीलाई राम्रो ठाउँमा जसले स्थानान्तरण गर्छ। मत उसैलाई दिने हो। झुटो आश्वासनले मत पाइन्न अब,’ उनले भनिन्।
बुटवल- ११ मा १६ हजार बढी मतदाता छन्। राजनीतिमा निर्णायक मतको भूमिकामा त्यहाँका मतदाता छन्। हरेक निर्वाचनमा लालपुर्जालाई प्रमुख एजेण्डा बनाउने राजनीतिक दलहरुले ३० वैशाखमा हुन लागेको निर्वाचनमा पनि अव्यवस्थित सुकुम्बासी बस्ती लालपुर्जाको ‘कार्ड’ फ्याँकेका छन्।
अहिले सिर्जनानगर, तिलोत्तमा नगर क्षेत्रमा तिनाउ-दानव कोरिडोर अन्तर्गत काम भइरहेको छ। कोरिडोर नजिकका अव्यवस्थित बसोबास गर्नेहरुले सजिलैसँग ज्याला मजदूरी गर्ने स्थानमा स्थान्तरण गर्न समेत माग गरेका छन्। चुनावमा मत माग्न आउने सबैलाई सुरक्षित स्थानमा राख्न र लालपुर्जा छिटो उपलब्ध गराउन माग गरेको सिर्जनानगरकी ६० वर्षीया पार्वती क्षेत्रीले बताइन्।
उनले जंगलमा लगेर राख्ने योजना सरकारले गराएको सुन्नमा आएको भन्दै काम गरेर खान नसक्ने ठाउँमा आफूहरु जान नसक्ने समेत बताइन्। ‘चुनावमा आश्वासन देखाउन मात्र नेताहरु आउँछन्। तर यस पटक भरोसा नदिलाएसम्म मत नदिने हो। जसले हाम्रा कुरा सुन्छ, उसलाई भोट दिने हो,’ उनले भनिन्।
उनले सरकारबाट अहिलेसम्म जग्गा देखाउने समेत काम नभएको बताइन्।
यी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेका अव्यवस्थित सुकुम्बासी बस्तीहरुका सबैजसो नागरिक निर्वाचनका जित्ने सिँढी बनेका छन्। सधैं उनीहरुले झुटो आश्वासन मात्र पाएका छन्। लालपुर्जा पाएका छैनन्।
‘अघिल्लो पटक एमालेले दिन लागेको बेला कांग्रेसले आयोग हटाइदियो। गर्न खोज्नेलाई समेत काम गर्न दिइएन। निस्सा त पाएका छौं। तर के विश्वास?,’ हात्तिसुढका अर्जुन रानाले भने।
बुटवल- ११ मा १६ हजार बढी मतदाता छन्। राजनीतिमा निर्णायक मतको भूमिकामा त्यहाँका मतदाता छन्। हरेक निर्वाचनमा लालपुर्जालाई प्रमुख एजेण्डा बनाउने राजनीतिक दलहरुले ३० वैशाखमा हुन लागेको निर्वाचनमा पनि अव्यवस्थित सुकुम्बासी बस्ती लालपुर्जाको ‘कार्ड’ फ्याँकेका छन्।
बुटवलमा यस पटक सत्तारुढ गठबन्धनबाट नगर प्रमुखको उम्मेदवारमा नेपाली कांग्रेसका खेलराज पाण्डे छन्। एमालेबाट बाबुराम भट्टराई चुनावी मैदानमा छन्। यी दुवैले बुटवल- ११ लाई विशेष प्राथमिकतामा राखेर चुनावी रणनीति बनाइरहेका छन्। त्यहाँ दुवै नेताका पार्टीले फेरि ‘आश्वासन’ बाँडेका छन्।
एमालेबाट नगर प्रमुखमा उम्मेदवार बनेका भट्टराईले बुटवलमा सुकुम्बासी समस्या रहेको भन्दै निस्सा अनुसारको लालपुर्जा दिन आफू कटिबद्ध भएर लाग्ने बताए।
बुटवल नगरको ३ कार्यकाल सभापति रहेका पाण्डेले मेयर लड्न १ वर्ष अघिदेखि नै चुनावी रणनीति बनाएका थिए। यस पटक पाण्डेलाई जित्नैपर्ने दबाब छ भने भट्टराईलाई एमाले किल्ला जोगाउनुपर्ने चुनौती छ।
‘सुकुम्बासीलाई लालपुर्जा दिनका भूमि आयोग बनेको अवस्थामा त्यो सरकार परिर्वतन भएसँगै हुन पाएन। समस्या यहीँ रह्यो। नाप-जाँप भइसकेका ठाउँमा निस्सा समेत उपलब्ध भएका छन्। यहाँको यो अव्यवस्थित बसोबासको समस्या समधान मैले प्रमुख प्राथमिकताका साथ गर्नेछु,’ उनले भने।
गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका पाण्डेले सुकुम्बासी समस्याहरुको बारेमा अल्पकालीन र दीर्घकालीन उपायहरु अपनाउने बताए। ‘अल्पकालीन उपायमा हामी उपमहानगरपालिकामा दर्ता प्रक्रिया सुरु गरेर उपमहानगरपालिका भित्र एउटा मापदण्डमा ल्याउन सक्छौं र नामसारीका प्रक्रियाहरु वडाहरुमार्फत लैजान सक्छौं। यति मात्रै गर्न सक्यौं भने धेरै समस्या समाधान हुन्छ,’ उनले भने। उनले दीर्घकालीन समस्या भनेको लालपुर्जा प्रदान भएको बताए।
भूमि सम्बन्धी कार्यालयहरु गठन भएको र त्यसमार्फत कामहरुको टुंगो लगाउने उनले बताए। ‘हामी लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं। एमालेले जस्तो भोटका लागि समाधान गर्छु भन्दैनौं। लालपुर्जा भनेर निस्सा वितरण गर्दैनौं,’ उनले भने।
सबैको चासो बुटवलमा
यस पटकको निर्वाचनमा बुटवल उपमहानगरपालिका धेरैका लागि चासोको विषय बनेको छ। २०५४ सालदेखि एमालेले किल्ला जमाएको बुटवलमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले गठबन्धनको आडमा त्यो बिरासत ढाल्न चाहेका छन्। एमाले पार्टी फुटेर समाजवादी पार्टी भएपछि बुटवलमा एमालेका कति मत काटिन्छन्, यो पनि चासोको विषय बनेको छ।
दुई स्याङजालीको भिडन्त यस पटक रोचक मात्र हैन निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा समेत गरिएको छ।
भट्टराई र पाण्डे स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट बुटवल झरेका व्यक्ति हुन्। भट्टराई कालीगण्डकीको ४ नम्बर वडा र पाण्डे २ नम्बर वडाबाट २०३५ सालतिर बुटवल झरेका थिए।
पाण्डे गत निर्वाचनमा एमालेका उम्मेदवार शिवराज सुवेदीसँग पराजित भएका थिए। शिवराज सुवेदीले २३ हजार २४९ मत ल्याउँदा कांग्रेसका पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए।
बुटवल नगरको ३ कार्यकाल सभापति रहेका पाण्डेले मेयर लड्न १ वर्ष अघिदेखि नै चुनावी रणनीति बनाएका थिए। यस पटक पाण्डेलाई जित्नैपर्ने दबाब छ भने भट्टराईलाई एमाले किल्ला जोगाउनुपर्ने चुनौती छ।
१९ वडा रहेको बुटवलमा अहिले २४ हजार मतदाता थपिएका छन्। गत निर्वाचनमा ६६ हजार ९० मतदाता रहेको बुटवलमा अहिले ९० हजार ६५ मतदाता पुगेका छन्।
को हुन् भट्टराई?
स्याङ्जाको कालिगण्डकी गाउँपालिका वडा नं. ४, बिर्घामा जन्मिएर बुटवल बसोबास गर्दै आएका भट्टराई एक सालिन र भद्र छवि बनाएका व्यक्ति हुन्। २०३६ सालदेखि कम्युनिस्ट पार्टीमा आवद्ध भएका भट्टराई सरल र सादगी छन्।
लामो समयसम्म औषधि व्यवसायको क्षेत्रबाट समाज कर्ममा लागेका भट्टराईले व्यवसाय र राजनीतिलाई सँगसँगै लगे। नेपाल औषधि व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष भइसकेको भट्टराई स्वास्थ्य विभागमा रहेर काम गरे।
एमाले जिल्ला कमिटी सदस्य हुँदै हाल प्रदेश कमिटी सदस्य रहेका भट्टराईले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए। उनी २०६२/६३ सालको आन्दोलनमा आकस्मिक राहत कोषका संयोजक थिए। त्यस्तै उनले बुद्धिजीवी परिषद्मा रहेर पनि काम गरे।
को हुन पाण्डे?
२०२६ साल फागुन ५ गते स्याङ्जाको साविक आलमदेवी-२ (हाल कालिगण्डकी-२) मा जन्मेका पाण्डे बुटवल उपमहानगरपालिका-८, सुख्खानगरका बासिन्दा हुन्। अघिल्लो निर्वाचनमा व्यक्तिगत मत प्राप्त गर्दा मेयरसँगको मतान्तर २ हजार ३ सय ९८ बनाएर हौसिएका पाण्डे बुटवल नगर सभापति समेत हुन्। व्यक्तिगत आचरण र सालिन व्यक्तित्वकै कारण खेलराजले अघिल्लो निर्वाचनमा राम्रो मत प्राप्त गरेका थिए।
पाण्डेले २०३८ सालमा बुटवल झर्नुअघि नै विद्यार्थी संगठनमा आवद्ध भएर राजनीति सुरु गरेका थिए। आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभिटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आबद्ध भए। त्यसपछि उनले निरन्तर विद्यार्थी संगठनभित्र रहेर काम गरे।
उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव भए। पाण्डेले २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहेर काम गरेका छन्।
वैशाख २३, २०७९ शुक्रबार १२:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।