स्याङ्जा निर्वाचन : केन्द्रमा प्रभाव जमाएका नेताको गृहजिल्लामा गुटैगुटै
स्याङ्जा : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्याङ्जामा पनि चुनावी सरगर्मी बढेको छ। पाँच नगरपालिका र ६ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जामा पाँच वर्षका लागि नेतृत्वमा पुग्न विभिन्न दलका उम्मेदवारहरु जोडतोडले लागेका छन्।
स्थानीय निर्वाचनमा स्याङ्जामा ११ वटै पालिकामा सत्ता-गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
२०७४ को स्थानीय निर्वाचनमा स्याङ्जाका ११ पालिकामध्ये एमालेले पुतलीबजार नगरपालिका सहित ७ वटा पालिका जितेको थियो। कांग्रेस वालिङ नगरपालिका सहित चार पालिका प्रमुखमा विजयी भएको थियो।
यसअघिको संघीय निर्वाचनमा स्याङ्जाबाट एमालेकी पद्मा अर्याल र नारायण मरासिनी विजयी भएका थिए। प्रदेश सभाको चार सिटमध्ये एउटामा कांग्रेसका भगवतप्रकाश मल्ल, माओवादीबाट दीपक चर्तिमगर, एमालेबाट मीनप्रसाद गुरुङ र मोहन रेग्मी विजयी भएका थिए।
पार्टी विभाजन भएपछि स्याङ्जाबाट निर्वाचित संघीय र प्रदेश सांसदहरु एमालेमै छन्। साविक एमालेका जिल्ला उपसचिव रामचन्द्र भट्टराई एकीकृत समाजवादीमा लागेका छन्। एमालेको विभाजनपछि स्याङ्जामा ठूलो प्रभाव नदेखिए पनि निर्वाचनमा प्रभाव पर्ने भयले एमाले नेताहरु केही आत्तिएका छन्।
गुटगत चक्रब्युहमा दल
अघिल्लो स्थानीय तहमा जित हासिल गरेका पालिकाहरु जोगाउँदै विरासत कायम गर्ने दाउमा एमाले देखिएको छ। एमाले र माओवादीबीचको पार्टी एकताका बेला भागबण्डा मिलाउने क्रममा स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रे (पारस)लाई गत अधिवेशनमा पार्टी सचिव पद्मा अर्यालले समर्थन गरेकी थिइन्।
लामो समयदेखि सँगै काम गर्दै आएका नारायण मरासिनी विरुद्ध गएर सचिव अर्यालले पूर्वमाओवादी रहेका पारसलाई समर्थन गरी जिल्ला अध्यक्ष बनाएपछि एमालेमा गुटगत राजनीति हावी भएको छ।
पार्टी सचिव अर्याल र अध्यक्ष पारससँग सांसद नारायण मरासिनी पक्षका नेताहरु असन्तुष्ट रहेका छन्। केन्द्रीय राजनीतिमा प्रभाव जमाएसँगै नेतृ अर्यालले जिल्ला स्तरका नेताहरुप्रति गुटगत व्यवहार गर्न थालेपछि अहिले एमालेका नेता कार्यकर्तामा असन्तुष्टि बढिरहेको छ। आन्तरिक असन्तुष्टिका बीच विगतमा निर्वाचन जितेको ठाउँ सुरक्षित गर्दै अन्य पालिका समेत जित्ने योजनामा एमालेका नेता/कार्यकर्ता जुटेका छन्।
लामो समयदेखि सँगै काम गर्दै आएका नारायण मरासिनी विरुद्ध गएर सचिव अर्यालले पूर्वमाओवादी रहेका पारसलाई समर्थन गरी जिल्ला अध्यक्ष बनाएपछि एमालेमा गुटगत राजनीति हावी भएको छ।
अर्कोतर्फ एमालेमा आएको विभाजनको फाइदा उठाउँदै गत निर्वाचनमा हारेका पालिकामा परिणाम आफ्नो पक्षमा पार्ने दाउमा कांग्रेस, माओवादी लगायतका दलहरु लागेका छन्।
कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्व उपसभापति गोपालमान श्रेष्ठ र एमालेकी केन्द्रीय सचिव पद्मा अर्यालको गृहजिल्ला भएकोले पनि स्याङ्जामा चुनावी सरगर्मी बढेको हो। तीनै जना नेताको केन्द्रीय राजनीतिमा राम्रो प्रभाव भएकाले उनीहरुको गृहजिल्लाको जनमतलाई उत्सुकताका साथ हेरिएको छ।
विगतमा गोपालमानको प्रभावका कारण स्याङ्जाका अधिकांश क्षेत्रमा कांग्रेसले निर्वाचन जित्दै आएको थियो। तर उनी केन्द्रीय राजनीतिमा पुगेपछि जनअपेक्षा अनुसारका विकास निर्माणका काम गर्न नसक्दा पछिल्ला निर्वाचनमा एमालेले प्रभाव जमाउँदै आएको थियो।
गोपालमानको राजनीतिक दबदबा रहेको स्याङ्जामा संघीय निर्वाचनमा उनैलाई हराएर विजयी भएपछि एकाएक पद्ममा अर्यालको चर्चा चुलिएको थियो। स्याङ्जामा एमाले प्रभाव बढाएपछि केन्द्रीय राजनीतिक फड्को मारेकी नेतृ अर्यालसँग जोडेर अहिलेको स्थानिय निर्वाचनलाई हेरिएको छ।
जिल्लामा विशेषत: गठबन्धनमध्येको दल नेपाली कांग्रेस र एमालेले स्थानीय निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन्।
यी दुई पार्टीले विगतको बिरासत जोगाउने र तोड्नेमा केन्द्रित भएर राजनीतिक गतिविधि तीव्र पारेका छन्। स्थानीयस्तरमा आफ्नो वास्तविक शक्ति मापन गर्ने आधारका रुपमा कांग्रेस र एमालेले निर्वाचनलाई हेरिरहेका छन्।
कांग्रेसमा पनि पछिल्लो समय पार्टीका केन्द्रीय पूर्व उपसाभापति समेत रहेका गोपालमान श्रेष्ठले जमाएको आधिपत्यलाई राजु थापाले तोडेका छन्। स्याङ्जाको गत अधिवेशनमा थापाले गोपालमान पक्षलाई पत्तासाफ गरेर पूरै नेतृत्व कब्जा जमाएको अवस्था छ। उनले अधिवेशनमा जिल्लादेखि पालिकाका वडासम्म आफ्नै प्यानलाई विजयी गराएका छन्। थापा कांग्रेसको जिल्ला सभापति समेत हुन्।
कांग्रेसमा पनि पछिल्लो समय पार्टीका केन्द्रीय पूर्व उपसाभापति समेत रहेका गोपालमान श्रेष्ठले जमाएको आधिपत्यलाई राजु थापाले तोडेका छन्। स्याङ्जाको गत अधिवेशनमा थापाले गोपालमान पक्षलाई पत्तासाफ गरेर पूरै नेतृत्व कब्जा जमाएको अवस्था छ।
अहिले निर्वाचनको बेला थापा पक्ष नै हावी भएकाले पार्टीभित्र गोपालमान पक्ष असन्तुष्ट बनिरहेको अवस्था छ। खुलेर थापा पक्षको विरोध गर्न नसके पनि कांग्रेसका नेता-कार्यकर्तामा व्यापक असन्तुष्टि देखिन्छ। कांग्रेस र एमाले गुट-उपगुटका बीच स्थानीय चुनाव प्रचार-प्रसारमा जुटेका छन्।
यस्ता छन् गठबन्धन र एमालेका उम्मेदवार
पुतलीबजार नगरपालिकाको प्रमुखमा एमालेले सीमाकुमारी क्षेत्री र उपप्रमुखमा महेश पुरीलाई उम्मेदवार बनाएको छ। उनीहरु दुवै जना दोस्रो कार्यकालका उम्मेदवार बनेका हुन्।
त्यसैगरी गठबन्धनका तर्फबाट पुतलीबजारको प्रमुखमा कांग्रेसले तुलसीराम रेग्मी र उपप्रमुखमा देवी अर्याललाई उम्मेदवार बनाएको छ।
वालिङ नगरपलिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसका दिलिपप्रताप खाँण र उपप्रमुखमा कविता तिवारी गैह्रे उम्मेदवार बनेका छन्। एमालेका तर्फबाट भने प्रमुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापा मगर उम्मेदवार छन्। खाँण वालिङको प्रमुखमा दोस्रो पटक उम्मेदवार बनेका हुन्।
गल्याङ नगरपालिकाको प्रमुखमा कांग्रेसले गुरु भट्टराईलाई प्रमुखमा उम्मेदवार बनाएको छ। एमालेले पार्टीका जिल्ला अध्यक्ष समेत रहेका सूर्यप्रसाद गैह्रे (पारस) लाई उठाएको छ। माओवादीले भने घनश्याम भट्टराई उम्मेदवार बनाएको छ।
चापाकोट नगरपालिकाको प्रमुखमा गठबन्धनबाट कांग्रेसका देवबहादुर खाँण (ईश्वर) उम्मेदवार बनेका छन्। एमालेका तर्फबाट राजु कोइराला उम्मेदवार बनेका छन्।
कालीगण्डकी गाउँपालिका प्रमुखमा एमालेबाट खिम थापा, गठबन्धनका तर्फबाट कांग्रेसकी माया राना उम्मेदवार बनेका छन्।
फेदिखोला गाउँपालिका प्रमुखमा एमालेका तर्फबाट घनश्याम सुवेदी र उपप्रमुखमा देउमाया गुरुङ उम्मेदवार बनेका छन्। सुवेदी २०७४ को निर्वाचनमा विजयी भएका थिए।
त्यसैगरी गठबन्धनका तर्फबाट प्रमुखमा कांग्रेसका लक्ष्मीप्रसाद बराल र उपप्रमुखमा माओवादी केन्द्रका शिवप्रसाद पराजुली उम्मेदवार बनेका छन्।
आँधिखोला गाउँपालिकामा गठबन्धनले अध्यक्षमा कांग्रेसले प्रेमप्रसाद पौडेल र एमालेले विश्वनाथ पौडेललाई अध्यक्षमा उठाएको छ। उपाध्यक्षमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने एमालेले सीता थापालाई उठाएको छ।
अर्जुनचौपारी गाउँपालिकाको प्रमुखमा गठबन्धनबाट कांग्रेसले प्रकाश तिवारी, एमालेले चिनमाया गुरुङलाई उठाएको छ।
बिरुवा गाउँपालिकामा गठबन्धनको तर्फबाट कांग्रेसका डिआर पोखरेल अध्यक्षको उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा माओवादीका थमबहादुर गुरुङ ‘थमन’ले उम्मेदवारी दिएका छन्। एमालेबाट अध्यक्षमा सूर्यकुमार गुरुङ र उपाध्यक्षमा भगवती पोखरेल चुनावी मैदानमा छन्।
भिरकोट नगरपालिकाको प्रमुखमा गठबन्धनको तर्फबाट कांग्रेसका गोविन्दकुमार कर्माचार्य उमेदवार बनेका छन् भने एमालेका तर्फबाट विश्वनाथ अर्याल अगाडि सकेका छन्।
हरिनास गाउँपालिकमा एमालेले प्रमुखमा खिमनारायण मानन्धरलाई उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा इन्द्रकुमारी थापा रानालाई अगाडि सारेको छ। गठबन्धनबाट प्रमुखमा कांग्रेसका टोपबहादु भुजेलर उपप्रमुखमा माओवादीकी मिठु लम्साललाई उम्मेदवार बनाइएको छ।
यस्तो छ गत निर्वाचनको हिसाब
पुतलीबजार नगरपालिका
२०७४ मा पुतलीबजार नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै एमालेले जितेको थियो। प्रमुखमा सीमाकुमारी क्षेत्री १० हजार २४९ मत ल्याएर विजयी भएकी थिइन। उनका प्रतिस्पर्धी कांग्रेसका तुलसीराम रेग्मीले ९ हजार २९ मत पाएका थिए भने माओवादीका दुर्गानारायण ढकालले ६६५ मत पाएका थिए।
उपप्रमुखमा एमालेका महेश पुरीले १० हजार ३७९ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसकी हिरादेवी शर्माले ८ हजार ४४४ मत पाएकी थिइन्।
पुतलीबजारका १४ वडामध्ये १० वटामा एमालेले र चार वटामा कांग्रेस विजयी भएको थियो।
वालिङ नगरपालिका
२०७४ मा वालिङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा कांग्रेस विजयी भएको थियो। प्रमुखमा कांग्रेसका दिलिपप्रताप खाँण १० हजार ६०० मत ल्याएर विजयी भएका थिए।
उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार पुण्यप्रसाद अर्यालले ८ हजार ७४९ मत प्राप्त गरेका थिए भने माओवादीका हुम बहादुर गुरुङले १ हजार २३७ मत ल्याएका थिए।
उपप्रमुखमा कांग्रेसकी कल्पना तिवारीले ९ हजार ८९५ मत ल्याएर विजयी भएकी थिइन्। उनकी प्रतिस्पर्धी एमालेकी खगिसरा थापा मगरले ९ हजार ३५७ र माओवादीकी नेत्रकुमारी पौडेल भट्टराईले १०४६ पाएकी थिइन्।
चापाकोट नगरपालिका
गत निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले जितेको थियो। कांग्रेसका शिवकुमार गिरी ५९८९ मत ल्याएर विजयी भएका थिए भने एमालेका बुद्धिमान श्रेष्ठले ५००८ मत पाएका थिए।
त्यस्तै उपप्रमुखमा कांग्रेसकी विमला श्रेष्ठले ६३५८ मत ल्याएर विजयी हुँदा एमालेकी सरस्वतीदेवी भट्टराईले ४४९६ पाएकी थिइन्।
गल्याङ नगरपालिका
२०७४ मा गल्याङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा एमालेले जित हासिल गरेको थियो। नगर प्रमुखमा भुपराज अधिकारी ८३६८ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका गोपाल अर्यालले ६०६२ मत प्राप्त गरेका थिए। माओवादी केन्द्रका लोकेन्द्र तराङले १ हजार ३८१ मत पाएका थिए।
यो पालिकाको उपप्रमुखमा एमालेकी देवीसरा थापा ८४१९ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी कांग्रेसकी खगीसरा भण्डारीले ५९७६ मत ल्याउँदा माओवादी केन्द्रकी रीता खनालले १ हजार २२६ मत प्राप्त गरे।
भीरकोट नगरपालिका
२०७४ मा भीरकोटको प्रमुख र उपप्रमुखमा कांग्रेसले जितेको थियो। प्रमुखमा कांग्रेसका छायाराम खनालले ६ हजार २८४ मत ल्याएर विजयी हुँदा एमालेका सन्तोष केसीले ४ हजार ५० मत पाएका थिए।
त्यसैगरी उपप्रमुखमा कांग्रेसकी सीमा कर्माचार्य ५ हजार ९३७ मत पाएर विजयी भएकी थिइन् भने एमालेकी सरस्वती अधिकारीले ४ हजार २४९ र माओवादीका चन्द्र बहादुर रोकाहाले ५५४ प्राप्त गरेका थिए।
फेदीखोला गाउँपालिका
२०७४ मा फेदीखोला गाउँपालिकाको अध्यक्षमा र उपाध्यक्षमा एमालेले जित हासिल गरेको थियो। अध्यक्षमा एमालेका घनश्याम सुवेदीले ३ हजार ८०६ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका तारापती सुवेदीले १ हजार ७६० मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा एमालेकी झनमाया पराजुलीले २ हजार ९२० मत ल्याएर विजयी हुँदा कांग्रेसकी लिला थापाले २ हजार ७९६ मत प्राप्त गरेकी थिइन्। माओवादीकी मिठु लम्सालले भने ९९४ मत प्राप्त गरेकी थिइन्।
कालीगण्डकी गाउँपालिका
गत निर्वाचनमा कालीगण्डकी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो। गाउँपालिका अध्यक्षमा एमालेका खिमबहादुर थापाले ५ हजार ८८ मत ल्याएर विजयी भएका थिए भने कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले ४ हजार ४२२ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा एमालेकी सावित्रा कोइराला ५ हजार ११६ मत ल्याएर विजयी हुँदा कांग्रेसकी तुलसा पाण्डे भट्टराई ४ हजार ३२५ ल्याएकी थिइन्।
आँधिखोला गाउँपालिका
आँधिखोला गाउँपालिकामा २०७४ को निर्वाचनमा अध्यक्षमा र उपाध्यक्ष दुवै पदमा एमालेले जित हासिल गरेको थियो। अध्यक्षमा सुधीरकुमार पौडेल ५ हाजार ४१ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार प्रदीपकुमार पौडेल (क्षेत्री) ले ३ हजार ८६ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा एमालेकी शर्मिलादेवी पौडेल (क्षेत्री) ५ हजार ८५ मत ल्याएर विजयी भएकी थिइन् भने कांग्रेसकी गीता देवी चपागाईंले २ हजार ८६२ मत प्राप्त गरेकी थिइन्।
अर्जुन चौपारी गाउँपालिका
अर्जुन चौपारीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेले जित हासिल गरेका थिए। अध्यक्षमा कांग्रेसका दीर्घनारायण अर्यालले ३ हजार ३१९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार मोहनबहादुर अधिकारीले ३ हजार २४१ मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा एमालेकी चीनमाया गुरुङ ३ हजार ३३४ मत ल्याएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी कांग्रेसकी माया खत्री क्षेत्रीले ३ हजार २१५ मत प्राप्त गरेकी थिइन्।
बिरुवा गाउँपालिका
गत निर्वाचनमा बिरुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले जित हासिल गरेको थियो। अध्यक्षमा चुनप्रसाद शर्माले ४ हजार ४०३ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले ३ हजार ३५० मत प्राप्त गरेका थिए।
उपाध्यक्षमा एमालेकै शर्मिलाकुमारी थापाले ४ हजार ४७६ मत ल्याएर विजयी भएकी हुँदा माओवादीकी मनुकुमारी थापाले २ हजार ८०८ मत ल्याएकी थिइन्।
हरिनास गाउँपालिका
२०७४ को निर्वाचनमा हरिनास गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेले जित हासिल गरेको थियो। अध्यक्षमा खिमनारायण मानन्धर ३ हजार ८ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार देवकुमार मानन्धरले २ हजार ८३२ मत प्राप्त गरेका थिए। माओवादीका नन्दकुमार थापाले भने ९३७ मत ल्याएका थिए।
उपाध्यक्षमा एमालेकी झनमाया पराजुली २ हजार ९२० मत ल्याएर विजयी भएकी थिएन् भने कांग्रेसकी लिला थापाले २ हजार ७९६ ल्याउँदा माओवादीकी मिठु लम्सालले ९९४ मत प्राप्त गरिन्।
वैशाख २१, २०७९ बुधबार ०७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।