चुनावी रन्कोमा मन थामिएन कलाकारको :  बालकोटले भाउ नदिएपछि पुगे बालुवाटार

चुनावी रन्कोमा मन थामिएन कलाकारको :  बालकोटले भाउ नदिएपछि पुगे बालुवाटार

काठमाडौँ : सामाजिक सञ्जाल प्रयोगकर्ता देवेन्द्र प्रसाद सिटौलाले स्ट्याटस लेखे,' कलाकार पटक–पटक राजनीतिक दल पस्ने र निस्कने देखियो। यो दल प्रवेश र वदलेको आकर्षण र विकर्षण के रहेछ? राजनीति पनि अभिनय र नाटक नै भएकाले स्टेज र कथा परिवर्तन हो?'

यही प्रश्न उकेराले मङ्गलवार एमाले छाडेर नेपाली कांग्रेस प्रवेश गरेका कलाकार रवीन्द्र खड्कालाई सोध्यो। उनले भने, 'अरू कलाकारको कुरा म जान्दिन। मलाई पुरानो पार्टीले वास्ता गरेन त्यसैले कांग्रेस रोजेको हुँ।'

उनले २० दिनअघि नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेर कुराकानी गरेको र मङ्गलवार पार्टी प्रवेश गरेको बताए।

'काङ्ग्रेसकै तर्फबाट मेयर बन्न उहाँले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो। तर मैले अरूलाई चान्स दिएँ र मेयरबाट ब्याक भएँ। काङ्ग्रेसबाट मेयर बनेका व्यक्तिले पनि मेरो घोषणापत्र बमोजिम काम गर्ने विश्वास छ।'

झन्डै काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनेका अभिनेता भुवन केसी गत निर्वाचनको समयमा नेकपामा थिए। उनले काठमाडौँको क्षेत्र नम्बर १ बाट एमालेको टिकटमा उम्मेदवारै बन्न कस्सिए पनि एमालेले पत्याएन। उनी लामो समय कुनै दलमा देखिएनन्। मङ्गलवार एकाएक खड्कासँगै उनी पनि कांग्रेस सभापति देउवासँगै बालुवाटारमा देखिए। उनी मङ्गलवारबाट कांग्रेसी कलाकार भए।

जानकार श्रोतका अनुसार उनी एमालेको टिकटमा काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने आसमा थिए यो पटक। छलफलपछि उन्नत लोकतन्त्र पार्टीले उनलाई काठमाडौँ महानगरको मेयरको उम्मेदवार घोषणा गर्यो। तीन दिन राम्रै चर्चा भएपछि उनले उम्मेदवार नबन्ने घोषणा गरे फेसबुकबाट। व्यक्तिगत कामले राजनीतिमा सक्रिय हुन नसक्ने बहाना बनाए उनले। तर मङ्गलवार प्रधानमन्त्री निवासमा गएर कांग्रेसको सदस्य बने लगत्तै उनको आँखा चलचित्र विकास बोर्डको अध्यक्षमा परेको देखियो।

यी दुईसँगै अभिनेत्री श्वेता खड्का पनि कांग्रेस प्रवेश गरिन्। उनले सामाजिक सञ्जालमा लेख्दै 'सानैदेखि बिपी कोइरालालाई पढ्दै आएको र व्यक्तिगत बिचार मेल खाने भएकाले कांग्रेस रोजेको' बताएकी छिन्। उनी यस अगाडि कुनै राजनीतिक दलमा खुलेकी थिइनन्।

किन परिवर्तन गर्छन् कलाकार पार्टी

कलाकार रवीन्द्र आफूले एमालेसँग केही मागहरू राखेको तर पार्टीले त्यसलाई हल्का रूपमा लिएपछि पार्टी बदलेको दाबी गरे। उनको दाबी अनुसार उनले जे भने त्यसमा देउवा सकारात्मक भएका थिए।

उनले दलहरूले कलाकारलाई प्रचारमा प्रयोग गर्ने तर राजनीतिमा खासै भाउ नदिएको गुनासो गरे। पार्टीको प्रचारमा मात्र हिँड्दा राजनीति नगरी सिधै छिरेर पद भन्ने प्रतिक्रिया सुनेपछि पार्टी नै प्रवेश गरेको उनले बताए।

रवीन्द्र भन्छन्, 'दल अदलबदल नाटक हैन, बाध्यता हो।'

एमाले प्रवेश गर्दै करिष्मा

अभिनेता केसी पनि कलाकारका लागि पार्टीको सिद्धान्त भन्दा काम ठुलो भएको बताउँछन्। जता काम भइरहेको छ अनि जता जाँदा देशले फाइदा लिन सक्छ त्यसैलाई सपोर्ट गर्ने उनले बताए। पार्टीको सिद्धान्त भन्दा काम ठुलो भएकाले आफूले पार्टी परिवर्तन गरेको उनको भनाई छ।

केही समयअघि मात्रै एमालेमा प्रवेश गरेकी नायिका करिष्मा मानन्धर भने पार्टीको बिचारले ठुलो भूमिका खेल्ने बताउँछिन्।

उनले भनिन्, 'म पहिले नयाँ शक्ति भन्ने पार्टीमा थिएँ। त्यो समयमा मेरो बिचार जुन थियो, अहिले पार्टी परिवर्तन भए पनि मेरो समाजवादी बिचार यथावत् छ। हामी जुन बाटो हिँडेंपनि बिचार त सबैको समृद्ध नेपाली, सुखी नेपाली नै हो।'

फिल्मी शैलीको चुनावी रमझम

'रेखा थापा नेता बन्न आई भन्ने लाग्ला, म नेता बन्न आएको हैन। नेताले देश बिगारे, तिनीहरूलाई खबरदारी गर्न आएकी हुँ।'

अभिनेत्री थापाले सप्तरीको एक नगरपालिकाको आमसभामा फिल्मी शैलीमा भाषण गरिन्। उनको भाषण गर्ने शैली दक्षिण भारतीय फिल्मको झल्को दिएको थियो। सिन्दूर, चुरा र कुर्तामा सजिएर उनी यति बेला स्थानीय तहको निर्वाचनमा राप्रपा जिताउन चुनावी घरदैलोमा छिन्।

तराइका जिल्लाहरूमा राप्रपाको चुनाव चिन्ह हलोमा कसरी मतदान गर्ने भनेर महिलाहरूलाई सिकाउँदै घरदैलो गरिरहेकी छिन्।

नायिका मानन्धरलाई पनि चुनावले छपक्कै छोएको छ। एमालेको आमसभामा सहभागी भएर मेरो न्वारनको नाम पनि सूर्यकुमारी हो नि भनेर चर्चामा आएकी उनी पार्टीको पक्षमा घरदैलो अभियानमा भने निस्केकी छैनन्। परीक्षा नजिइरहेकाले आफू प्रचारप्रसारमा हिँड्न नपाएको उनको भनाई छ। तर मनमा पार्टीको प्रचारमा हिँडेँ उसलाई फाइदा हुन्थ्यो कि भन्ने चैँ लागेको रहेछ।

राप्रपा सभामा रेखा

'हामी सेलिब्रेटी हौँ। अरूसँग सेल्फी खिच्दैनन्। हामीसँग खिच्छन्। त्यसैले कलाकारहरू प्रचारप्रसारका लागि राम्रो माध्यम हुन्,' उनले भनिन्।

गायिका कोमल ओली यति बेला गृह जिल्ला दाङमा सक्रिय छिन् एमालेको माहौल बनाउन। कलाकारिता पृष्ठभूमिबाट राजनीतिमा आए पनि अचेल कोमल ओली आफूलाई कलाकार कम नेतृ बढी भन्न रुचाउँछिन्। उकेराले कलाकारको राजनीतिबारे सोध्दा उनले भनिन्, 'अब त म कलाकार रहिन।'

उनी राजतन्त्र पक्षधर विचार राख्ने कलाकार हुन्। तर गणतान्त्रिक सिद्धान्त मान्ने एमालेमा छिन्। बिचार कसरी परिवर्तन हुन्छ भन्ने प्रश्नमा उनले नेटवर्कले साथ नदिएको भन्दै फोन काटिन्।

यति बेला काठमाडौँ उपत्यकाको मेयर पदमा दुई जना उम्मेदवार कलाकार छन्। लामो समयदेखि कलाकारिता गर्दै आएका मदनदास श्रेष्ठ राप्रपाबाट उठेका छन्। बालेन शाह र्यापर हुन्। बालेनको क्रेज ह्वात्तै बढेको छ काठमाडौँमा। तर मदनदास चुपचाप छन्।

बालेन स्वतन्त्र उम्मेदवार बनेर' कांग्रेस र एमालेको मत काटेर जित्न आएको दाबी गरिरहेका छन्। श्रेष्ठ भने निर्वाचनको मैदानमा टिक्ने कि ब्याक हुने दोधारमा छन्।

तर उकेराकर्मीले जति कलाकारहरूसँग राजनीतिबारे जिज्ञासा राख्यो उनीहरू सैद्धान्तिक रूपमा पार्टीमा आबद्ध भएको भन्दा मौका मिलेमा यसो राजनीति पनि गरि हालौ न भन्ने मनसाय देखियो। यसमा राजाको प्रत्यक्ष शासनकालमा बनेपाका मेयर बनेका खड्का भने प्रस्ट देखिए। 

वैशाख २०, २०७९ मंगलबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।