बुटवलमा एमालेको जित सुनिश्चित छ : विष्णु पौडेल
बुटवल : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल गठबन्धन भएपनि बुटवलमा एमालेको जित सुनिश्चित भएका बताएका छन्। एमाले बुटवल ११ मा भएको घरदैलो कार्यक्रममा बोल्दै एमालेको जित सुनिश्चित रहेको बताए।
विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै एमालेका उम्मेदवारहरूलाई जिताउन जनता आतुर रहेको दाबी गरे। बुटवलको सबै सुकुम्वासी समस्या स्थायी रूपमा समाधान आफूहरूले गर्ने नेता पौडेलको भनाइ छ।
‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित र सुकुम्वासीलाई जग्गाधनी पूजा वितरणको लागि सबै प्रक्रिया पूरा गरे पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरेर अन्तिम समय रोकिन पुगेको हो। अहिलेको सरकारले सुकुम्वासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन। एमाले नेतृत्वको सरकार बनेपछि पुर्जाविहीन नगरबासीले जग्गा धनी बनाउँछौँ।’
पौडेलले तिनाउ दानव कोरिडोर निर्माण क्षेत्रका बसोबासहरूको पनि उचित प्रबन्ध गर्ने पनि बताए। ‘सडक निर्माणको कार्य र सडक निर्माणका क्रममा प्रभावित स्थानीयहरूलाई सुरक्षित र उचित स्थानमा बसोबासको प्रबन्ध मिलाउँछौ’ नेता पौडेलले भने। नगरका प्रायजसो विकासका काम भइरहेको बताउँदै नेता पौडेलले जनताको विकासका चाहना आफूले पूर्ण रूपमा बुझेको बताए।
वैशाख २०, २०७९ मंगलबार १८:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।