प्रमुख बन्न कस्सिएका नेतृ उपप्रमुखमै दोहोरिन घरदैलोमा
बुटवल : तिलोत्तमा नगरपालिकामा एमालेबाट निर्वाचित उपमेयर जागेश्वरीदेवी चौधरी यस पटक मेयरको आकांक्षी थिइन्। उम्मेदवार सिफारिस नहुँदै मेयरमा उठ्ने आकांक्षा राखेकी चौधरीको नाम नगर कमिटीले उपप्रमुखमा सिफारिस गर्दै जिल्ला पठायो। जिल्ला हुँदै प्रदेश कमिटीमा चौधरीको नाम पुग्यो।
चौधरी बाहेक प्रमुखमा देवी वाग्ले, जमुना लम्साल, संगीता गुरुङ र रेनुका खरेलको नाम सिफारिस गरिएको थियो। अन्ततः टिकट चौधरीले नै पाइन्। चौधरी दोस्रो पटक उपमेयर बन्न अहिले घरदैलोमा छिन्। ५ वर्ष गरेका कामको प्रचार र नयाँ योजना मतदाता माझ राख्दै उनी घरदैलोमा पुगेकी छिन्।
सुरुमा प्रमुख दावी गरेकी चौधरी पार्टीको आवश्यकता र आफ्ना योजनालाई दीगो बनाउन उपमेयर स्वीकार गरेको बताउँछिन्। ‘पाँच वर्षमा एउटा विकासको जग बसेको छ। त्यसलाई दीगो बनाउन बाँकी छ। मेयरमा आकांक्षी भए पनि पार्टीको निर्णय स्वीकार गर्दै उपमेयरमा दोहोरिन लागेकी हुँ’, उनले भनिन्।
देवदह नगरपालिकाकी उपमेयर विद्यालक्ष्मी गुरुङ पनि नगर प्रमुखकै आकांक्षी थिइन्। ०७४ सालको निर्वाचनमा एमालेका मेयर पराजित हुँदा विद्यालक्ष्मी विजयी भएकी थिइन्। पाँच वर्षको काम र अनुभवबाट नगरप्रमुख हाक्न तयार भएकी गुरुङ पनि अन्ततः पुन उपप्रमुखमै दोहोरिएकी छिन्।
‘मैले प्रमुखमा दावी गरेँ। तर पार्टीले मेरो आवश्यकता ठानेर दोहोराउने निर्णय गर्याे। पार्टीको निर्णयलाई मान्दै म निर्वाचनमा होमिएकी छु’, उनले भनिन्। उनले पाँच वर्ष जनताका समस्यासँग पनि नजिक भएर काम गरेको अनुभवलाई अझ परिस्कृत र दीगो योजना कार्यान्वयनका लागि आफू अहिले निर्वाचनमा उपप्रमुखमा उम्मेदवारी दिएको बताइन्।
कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु पनि मेयरको आकांक्षी थिइन्। २०७४ सालको निर्वाचनमा ‘कान्छी उपप्रमुख’बनेकी शिवकुमारीकोे प्रमुख बन्ने धोको थियो। संविधानले प्रदान गरेका अधिकारभित्र रहेर पाँच वर्षमा नगरमा काम गरेको अनुभवबाट नगरप्रमुख बन्ने आकांक्षा राखेकी शिवकुमारी अन्ततः पुन उपप्रमुखमै दोहोरिएकी छिन्।
पार्टीले गर्ने निर्णयलाई आत्मसात गर्ने बताएकी शिवकुमारी अहिले दोस्रो पटक उपप्रमुख बन्न मतदाताको घर घरमा पुगेकी छिन्। उनले पनि पार्टीको आवश्यकता अनुसार नै आफूले उम्मेदवारी दिएको बताइन्।
यी प्रतिनिधी पात्र हुन। धेरै उपप्रमुखहरू यस पटक प्रमुख हुन चाहेका थिए। तर अहिले उही पदमा दोहोरिँदै छन्। यस पटकको निर्वाचनमा गाउँपालिका, नगरपालिकाका उपाध्यक्ष/उपप्रमुखहरू पुनः दोहोरिदा नयाँले अवसर पाएनन्।
पार्टीले आवश्यकता ठानेर दोहोर्याएको बताए पनि एक पटक सत्तामा पुगेपछि त्यसबाट फर्कन नचाहने प्रवृत्तिले उम्मेदवारहरू दोहोरिएका हुन्।
महिला अधिकारर्की तथा अधिवक्ता इन्दिरा आचार्यले पुनः उपप्रमुखमा दोहोरिनु पार्टीकै आवश्यकता रहेको बताउँछिन्। ‘स्थानीय पालिकामा जग बसाल्ने काम उपप्रमुख, उपाध्यक्षले गरे। फेरि पनि काम राम्रो हुने विश्वास गरेरै उनीहरूले टिकट पाए’, उनले भनिन्।
उनले कतिपय उपप्रमुख पार्टी पहुँच, गुट, भेग र साझा व्यक्ति भएकाले पनि दोहोरिएको बताइन्।
रुपन्देहीका १६ स्थानीय तहमध्ये ९ वटा पालिका उपप्रमुख अहिले दोस्रो पटक उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। सियारीमा गाउँपालिकाकी उपाध्यक्ष अमृता गुरुङ दोस्रो पटक उपाध्यक्ष बन्न उम्मेदवारी दिएकी छिन्। पाँच वर्ष काम गरेको अनुभव रहेको भन्दै अब पुराना योजनालाई दीगो बनाउन आफूले दोस्रो पटक उम्मेदवारी दिएको उनले बताइन्।
शुद्धोधन गाउँपालिकामा शान्ता ज्ञवालीले दोस्रो पटक उपाध्यक्ष बन्न उम्मेदवारी दिएकी छिन्। लुम्बिनी सांस्कृतिक नगरपालिकामा जानकीदेवी श्रीवास्तव उपप्रमुखमा दोहोरिन उम्मेदवारी दिएकी छिन्।
मर्चवारमा सुनिता कलवार, रोहीणीमा शिवकान्ती हरिजन, मायादेवीमा तारादेवी यादव पनि दोस्रो पटक उपाध्यक्ष बन्न चुनावमा होमिएका छन्।
दाङको बबई गाउँपालिकाकी उपाध्यक्ष सावित्री विश्वकर्मा पनि दोस्रो पटक उपप्रमुख बन्न उम्मेदवारी दिएकी छिन्। गडवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरी पनि गठबन्धनबाट दोस्रो पटक उपप्रमुख बन्न उम्मेदवारी दिएकी थिइन्। ०७४ सालको निर्वाचनमा उनी एमालेबाट उपप्रमुखमा विजयी भएकी थिइन्। एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा छिन्।
गुल्मीमा पनि उपाध्यक्ष पदमा दोहोरिएका जनप्रतिनिधि धेरै छन्। इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिकाकी उपाध्यक्ष राधिका अर्यालले सोही पदमा पुनः उम्मेदवारी दर्ता गरेका छन्।
वैशाख २०, २०७९ मंगलबार ०७:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।