घर-दैलोमा पुगेर मत माग्दै उम्मेदवार, पूरा नहुने आश्वासनले दिक्क मतदाता

घर-दैलोमा पुगेर मत माग्दै उम्मेदवार, पूरा नहुने आश्वासनले दिक्क मतदाता

सुर्खेतः वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर-दैलोमा पुगेर मत माग्न थालिसकेका छन्। कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धन, एमाले, राप्रपा र अन्य साना दलहरू चुनावी अभियानमा होमिइसकेका छन्।

कर्णालीमा खासगरी सत्ता गठबन्धनबीच नै भागबण्डा नमिल्दा कतिपय स्थानमा गठबन्धनभित्रकै दलबाट पनि छुट्टाछुट्टै उम्मेदवार बनेका छन्। १० जिल्ला रहेको कर्णालीमा सुर्खेत, रुकुमपश्चिम र कालिकोटका अधिकांश पालिकामा गठबन्धन दलले छुट्टै उम्मेदवार उठाएका छन्।

सुर्खेतका पाँच पालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका छन्। अन्य स्थानमा भने आ–आफ्नै उम्मेदवार खडा गरेका छन्।

यद्यपि, गठबन्धनभित्रकै एकीकृत समाजवादीलाई भने गठबन्धनबाट नै ‘आउट’ गरिएको छ। समाजवादीलाई सुर्खेतका कुनै पनि पालिकामा समावेश नगरेपछि आवश्यकताका आधारमा स्थानीय स्तरमा व्यावहारिक तालमेल गर्ने  निर्णय गरिसकेको छ।

यता पार्टीभित्रको झगडा थाती राख्दै मतदाता रिझाउन उम्मेदवारहरू मतदाताको घर-दैलोमा पुग्न थालेका छन्। तर, उम्मेदवार देखेर नै मतदाता आजित हुन थालेका छन्।

विगतमा झैं घोषणापत्र लिएर मतदाता फकाएर निर्वाचन आफ्नो पक्षमा बनाएर सिन्को नभाँच्ने जनप्रतिनिधिदेखि आफूहरू सचेत रहेको वीरेन्द्रनगर–६ का श्याम नेपालीले बताए। ‘यसपटक पनि उम्मेदवारहरू विभिन्न आश्वासन ल्याएर घरदैलोमा पुगेका छन्। विगतमा पनि यसरी नै आए, तर हाम्रा लागि उनीहरूले सिन्को पनि भाँचेनन्,’ नेपालीले भने, ‘मतदाता रिझाउन प्रतिबद्धता पत्र बोकेर तामझामका साथ आउनेलाई होइन, नागरिकका लागि जसले विगतमा राम्रा गरेको छ र गर्नेछ त्यस्ता उम्मेदवारलाई मात्रै हाम्रो सहयोग रहन्छ।’

नेताहरुले चुनावमा घोषणापत्रमा केबुलकारदेखि रेलसम्मका सपना देखाए पनि खानेपानी र सडकको अवस्थासम्म परिवर्तन गर्न नसक्दा नेताहरूप्रति मतदाताको दृष्टिकोण नै बदलिएको वीरेन्द्रनगरकै भावना विसीले बताइन्।

‘चुनाव आएपछि पार्टीका ठूला घोषणापत्रमा ठूला आश्वासन मात्रै दिइन्छ। पछि ती कुनै पनि पूरा हुँदैनन्,’ उनले भनिन्, ‘वीरेन्द्रनगरकै कुरा गर्ने हो भने २०७४ को निर्वाचनमा केबुलबारदेखि नगर बस र रेलसम्मका कुरा आएका थिए, तर अहिले यहाँको बाटो पनि गतिलो बन्न सकेको छैन।’

वीरेन्द्रनगरकै अर्का युवा सन्देश रावतले निर्वाचनमा हाम्रालाई भन्दा पनि राम्रलाई मतदाताले छान्न सके आगामी ५ वर्षभित्र थुप्रै परिवर्तन आउने बताए। पुराना पुस्तादेखि नागरिक आजित भएको भन्दै अब युवा पुस्ता नेतृत्त्वमा आउन जरुरी रहेको रावतको भनाइ छ।

यसअघिको स्थानीय तह निर्वाचनमा नागरिकलाई आश्वासन धेरै दिएर काम निकै कम गरेका जनप्रतिनिधिका कारण यसपटक मतदाताहरू उम्मेदवारप्रति नकरात्मक देखिएका छन्।

वैशाख १९, २०७९ सोमबार ०९:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।