'श्रीमान्-श्रीमती डाक्टर हुँदा "क्या राम्रो जोडी" भन्ने, नेताको श्रीमती राजनीतिमा आउँदा "खान आई" भन्ने ?'

'श्रीमान्-श्रीमती डाक्टर हुँदा

सत्ता गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरमा उम्मेदवार दिएकी सिर्जना सिंहको योजना के-के रहेछ? उनीसँग प्रत्यक्ष कुरा गर्न समय माग्दा उनको सहयोगीले शुक्रवार १२ बजेतिरको समय दिइन्।

बागबजारमा उकेराकर्मी पुग्दा सिंह पत्रकारले घेरिएकी थिइन्। उनी अन्तर्वार्तामा व्यस्त थिइन्। उनले औपचारिक कार्यक्रमहरूमा सार्वजनिक गरेको भन्दा भिन्न प्रश्नको सूची नै बनाएर त्यहाँ पुगेको थिएँ।

तर समय निकै छोटो भयो। १० वटा प्रश्न सोध्नै भ्याइएन जुन प्रश्नले काठमाडौं महानगरको विकास र उनले बुझेको काठमाडौंको दृश्य देखाउन सक्थ्यो।

उनको वाककला, परिवारवाद, अकस्मात् राजनीतिमा आउनुको कारण र उनले बुझेको काठमाडौंमा केन्द्रित भएर उत्तर आएका प्रश्न उत्तरसहित। जुन सोध्न पाइएन। त्यो चैँ प्रश्न मात्रै यहाँ प्रस्तुत गरिएको छ।

तपाईँ पार्टीको कार्यक्रम बाहेक टेलिभिजन टक सो अनि सार्वजनिक बहसमा सहभागी हुन निम्ता आए नाइँ भन्नुहुन्छ रे हो?  किन?

नाइँ भनेको छैन। समय व्यवस्थापन नमिलेर हो। मैले पहिला नाइँ भनेको कारण चाहिँ मेरो घोषणापत्र- सङ्कल्पपत्र आएको थिएन। हिजो (बिहीबार) मात्र निस्कियो। आफ्नो कुराहरू बाहिर लिएर आएपछि मात्र मिडियामा जाने भनेर बसिरहेको थिएँ।

पूरै युवा समय राजनीति गरेर बिताएको हुँ। नेविसंघमा हुँदा जुलुसमा गएँ।  पुलिसको लट्ठी पनि खाएँ। हनुमान ढोकाको चिसो छिँडीमा पनि रात बिताएँ।

प्रतिस्पर्धीको तुलनामा वाक कलामा कमजोर छु जस्तो लाग्छ हो?
कमजोर छैन।

तपाईंले स्थानीय तहको निर्वाचनमा मेयरमा महिला उम्मेदवार उठाउनुपर्छ भनेर ट्वीट गर्नुभएको थियो। त्यो आफ्नो पक्षमा माहोल बनाउन थियो कि महिलाहरूको पक्षमा?

महिलाहरूको पक्षमा माहौल बनाउन लेखेको हो। त्यो ट्वीट गर्ने बेलामा त म उम्मेदवार हुन्छु भनेर सोचेको पनि थिइनँ। अब त महिलाहरूको युग हो नि। सबै जना महिलाहरू सशक्त भइसके। सबै आरक्षणको व्यवस्था पनि भइसक्यो, पाइसक्यो। २५ औं वर्षदेखि मैले काठमाडौं हेरिराखेकी छु। जहिले पनि घरबाट निस्कन पाएको छैन बाटोमा फोहोरको थुप्रो मात्रै।

महिलाहरूले घर व्यवस्थापन राम्रोसँग गर्ने भएकोले यो फोहोरको व्यवस्था पनि महिलाहरुले नै गर्न सक्छन्। मेयरको रूपमा पुरुषले मौका पाइसक्नुभयो। अब महिलालाई मौका दिउँ काम गर्न भनेर लेखेको हो।

त्यसो भए सक्रिय राजनीति आउने निर्णय अकस्मात्, बिना योजना नै भएछ हैन?
यसमा किन ढाँट्नु, अकस्मात् हो। बिना योजना नै उम्मेदवार भएको म स्वीकार्छु। तर म राजनीतिबाट बाहिर भने थिइनँ। नेपाल महिला सङ्घले आयोजना गरेको विभिन्न क्याम्पहरूमा मैले हेल्थ क्याम्प पनि चलाएँ। जब मेरो सासू मङ्गलादेवी सिंह केन्द्रीय अध्यक्षको देहान्त भयो। त्यसपछि सबैले मलाई त्यस सङ्घको सल्लाहकार भएर बस्न भने।

तर नेताको श्रीमतीले पद लिएको त कसैले पनि मननै नपराउने। त्यस कारण पनि मैले कुनै पद लिन चाहिनँ। तर, मैले पद नलिए पनि म सधैँ राजनीतिमै छु। आजसम्म पनि म त्यस सङ्घको प्रमुख सल्लाहकारमा नै छु।

राजनीतिमा कस्तो-कस्तो भूमिका निभाउनु भयो?

पूरै युवा समय राजनीति गरेर बिताएको हुँ। नेविसंघमा हुँदा जुलुसमा गएँ।  पुलिसको लट्ठी पनि खाएँ। हनुमान ढोकाको चिसो छिँडीमा पनि रात बिताएँ।

नेपालमा इन्जिनियरको श्रीमती इन्जिनियर भयो भने आहा कस्तो राम्रो जोडी भन्छन्। डाक्टरको श्रीमती डाक्टर भयो भने पनि त्यस्तै भन्छन्। तर नेताको श्रीमती नेता भयो भने सबै त्यै नेतालाई चाहिने भन्न थाल्छन्। खान आयो भन्ने। त्यो सुन्दा सुन्दा वाक्क भएर बरू घरमै बस्छु भनेर बसेको हुँ पछिल्लो समय।

काठमाडौं भनेको ऐतिहासिक शहर हो। विश्व सम्पदा सूचीमा परेको शहर हो। मरुभूमि भएको ठाउँमा ठूला ठूला शहर हराभरा भइसके तर काठमाडौं अहिले पनि त्यस्तै दुर्गन्धित, झन् झन् फोहोर भएको छ। त्यसको लागि पनि मैले महिला मेयर आवश्यक छ भनेकी हुँ।

तर मेरो पृष्ठभूमि पनि राजनीति भएकाले पद नभए पनि निरन्तर राजनीतिमा संलग्न भने थिएँ है। पार्टीको सदस्यता पनि नवीकरण गरेको थिएँ। सामाजिक काममा त थिए नै।

मेयरको टिकट पाउन श्रीमान् प्रकाशमानको सक्रियता अनि आरजु राणाको सहयोगले काम गरेको दावी नि सुनिन्छ। तपाईंलाई पार्टीले टिकट चाहिँ किन दिएको होला जस्तो लाग्छ?
मलाई त महिला सङ्घले प्रस्ताव गरेको हो। श्रीमान् प्रकाशमानका कारण टिकट पाएको झुट हो। आरजु राणा त केन्द्रीय सदस्य हुनुहुन्छ।

उहाँ सधैँ महिलाहरूको सशक्तीकरणको लागि लडिरहनुभएको कारण मलाई टिकट दिइसकेपछि सपोर्ट गर्न आउनुभएको हो। टिकट दिनुअघि मलाई त थाहा थिएन। प्रकाशमान सिंह र आरजु राणालाई कसरी थाहा हुन्छ !

मैले अहिलेसम्म कुनै पनि पद नलिएको, युवा अवस्थामा पूरै पार्टी र देशको लागि समर्पित भएको र विवाह गरेपछि पनि पूरै राजनीतिमा सक्रिय परिवारमा बसोबास भएको कारण टिकट पाएको होला।

अन्य देशका सङ्घीय सहर आधुनिक भइसके। तर तपाईँ त सडक पेटी, बसपार्क, फोहोर व्यवस्थापनको मात्र कुरा गर्नुहुन्छ? महानगरबासीले मोनो रेल चाहिँ कहिले चढ्न पाउने?

घर नै सफा छैन भने ठुला कुरा गरेर के गर्नु। पहिला त घर सफा गर्नुपर्यो नि। तपाईं बाहिरबाट आउनुस्। २० वर्षअगाडी काठमाडौं आएको मान्छेले पनि त्यही काठमाडौं देखेको छ अहिले पनि त्यतै छ।

काठमाडौं भनेको ऐतिहासिक शहर हो। विश्व सम्पदा सूचीमा परेको शहर हो। मरुभूमि भएको ठाउँमा ठूला ठूला शहर हराभरा भइसके तर काठमाडौं अहिले पनि त्यस्तै दुर्गन्धित, झन् झन् फोहोर भएको छ। त्यसको लागि पनि मैले महिला मेयर आवश्यक छ भनेकी हुँ।

तपाईंको पहिलो प्राथमिकता फोहोर व्यवस्थापन हो त्यसो भए?
हो। सबैभन्दा पहिला काठमाडौं सफा गर्नुछ। मेयर भएपछि गर्ने पहिलो काम फोहोर व्यवस्थापन नै हो। अनि सुशासन हो। भित्र फोहोर छ मैले बाहिर मात्र सफा गरेर पनि हुन्न।

त्यसैले महानगरभित्र सुशासन कायम गरेर सफा गर्ने। बाहिर फोहोर व्यवस्थापन गरेर सफा गर्ने। सर्वसुलभ सेवाको पद्धति बनाउनुछ।

सेवा कसरी सर्वसुलभ बनाउनुहुन्छ?
अहिले आईटीको जमाना छ। डिजिटलको जमाना छ। त्यो प्रविधि अपनाएर कतिपय कामहरू घरबाटै सम्पन्न गर्न सकिने बनाउन सकिन्छ। टोल-टोलमा छिटो प्रतिक्रिया दिने टोली राखेर जनताको समस्याहरू बुझेर तुरुन्तै निराकरण गर्न सकिन्छ।

महिला, युवा, ज्येष्ठ नागरिक, बालबच्चा सबैको हित र आवश्यकता हेरेर योजना बनाएर लागू गर्न सकिन्छ। त्यति मात्रै होइन यहाँको विकास निर्माणको कामहरू पनि गर्नुछ। जता हेर्यो त्यतै समस्या छ। त्यसैले सबै काम प्राथमिकतामै छ।

महानगरको कोर क्षेत्र(पुरानो बस्ती), मध्य क्षेत्र( व्यावसायिक), र नयाँ बस्तीको विकासबारेका योजना बताइदिनुस् न।
काठमाडौंको कोर एरियामा भूकम्पले घर सबै खत्तम भएको छ।  उनीहरूको घर सबै बिक्री भइसक्यो। अहिले पनि धेरै घर टेको दिएर राखेको छ। पुनर्निर्माण मेरो दायित्वमा पर्छ।

भाडामा बस्ने धेरै श्रमिकहरू हुन्छन्। उनीहरू बाध्य भएर जोखिम भएको घरमा भाडामा बसेका छन्। त्यो घर परिवारहरूलाई हेर्ने दायित्व मेरो हो। उनीहरूको लागि राम्रोसँग बस्ने वातावरण, भाडा मूल्य दर, कर सबै हेर्नु पर्ने छ। उनीहरूको आम्दानीलाई पनि मध्यनजर गर्दै मैले समस्या सम्बोधन गर्नुपर्नेछ।

यतिमै समय सकियो भन्ने सन्देश आयो। काठमाडौं महानगरपालिकाको नेतृत्त्वलाई लाग्ने एक आरोप हो उनीहरूका लागि महानगर भनेको असन र इन्द्रचोक मात्रै हो। त्यसैले उकेराले उनलाई कोर क्षेत्र, मध्य क्षेत्र अनि नयाँ बस्ती बसेका बाहिर क्षेत्रको योजनाबारे प्रश्न गरेका थियो।

तर कोर क्षेत्र बाहेकको योजना खुलेन उनको। सामान्य सेवामा पनि शुल्कको समस्या चर्को छ महानगरमा। पार्किङ अस्तव्यस्त छ त नै। जहाँ पाङ्ग्रा टेकायो त्यहाँ पैसा तिरिहाल्नुपर्ने समस्या छ। शौचालयको अवस्था पनि त्यस्तै हो।

डेरावालको समस्या, मध्यम वर्ग र निम्न आयस्रोत भएका महानगरवासी लक्षित योजना, सुशासनको मोडल अनि २० वर्षदेखि अलपत्र मनोहरा जग्गा एकीकरण आयोजनाबारे तयार पारिएका प्रश्न सोध्नै पाइएन।
 

सोध्नै नपाएका प्रश्नहरू
 -तपाईले काठमाडौंको भित्री शहरको मात्र मुद्दा उठाउनुभयो। महानगरमा त मध्य र नयाँ बस्ती पनि छन्। तीनको विकास नगर्ने? सुविधा नदिने?
-हरेक सेवामा पैसा मात्र असुल्छ महानगर। पार्किङ÷शौचालय÷पार्क सबैमा। यसबारे कुनै योजना?
-काठमाडौंमा उच्च/मध्यम /निम्न तीनै तहका आम्दानी भएका बस्छन्। यिनका लागि योजना?
-काठमाडौंमा डेरावाल ठूलो समस्यामा छन्। ती मतदाता पनि हुन्। तर उनीहरूका लागि तपाईंको योजना देखिएन त?
-मनोहरा जग्गा एकीकरण २० वर्षदेखि अलपत्र छ। त्यहाँका बासिन्दा पीडित छन्। तपाईंको कुनै योजना?
-तपाईंले विदुर भत्ता र गृहिणी भत्ताको कुरा गर्नुभयो। यो चर्चाका लागि हो कि अध्ययनको आधारमा भन्नुभएको?
-कति विदुर? कति गृहिणी छन् महानगरमा? कति रकम खर्च हुन्छ?
-सम्पदा संरक्षणको मोडल के हो?
-गुठी संरक्षण रणनीति के हो?
-चुस्त सेवा र सुशासन मोडल के हो?
-मेयर जिते दोहोर्याउनु हुन्छ कि हुन्न?

वैशाख १९, २०७९ सोमबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।