बिर्सन लायक कार्यकाल सकाएर बिदा भए शैलेश, आइजिपी क्वाटर छाडेर गए भक्तपुर
काठमाडौँ : प्रहरी निरीक्षकको रूपमा प्रवेश गरेको सङ्गठनमा प्रहरी महानिरिक्षतहसम्म पुगेका शैलेश थापा क्षेत्री सोमबारबाट पूर्व प्रहरी महानिरीक्षक हुनेछन्। उनी आइतबार प्रहरी प्रधान कार्यालयबाट बिदा भएर भक्तपुरको निजी घरमा गएका छन्।
सरकारले प्रहरी महानिरीक्षकमा धिरज प्रताप सिंहलाई नियुक्तिको निर्णय गरेसँगै उनलाई गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयमा बिदाइ गरेका थिए। साँझ प्रहरी प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेर उनको बिदाइ गरियो। सोमबारबाट क्षेत्रीको कुर्सीमा बसेर सङ्गठनको कमान्ड सम्हाल्ने सिंहले उनलाई मायाको चिनो उपहार दिएका थिए। क्षेत्रीसँगै तीन एआइजी र डिआइजीहरू समेत गरेर १९ जनाले अवकाश पाएका छन्।
कार्यकालमा मिश्रित काम गरेका क्षेत्री प्रहरी सङ्गठनभित्र शालीन प्रहरी अधिकृतको रूपमा परिचित थिए। आर्थिक विवादबाट सधैँ टाढा रहेका उनको कार्यकालमा भएका सरुवा र बढुवालाई पनि उनले सङ्गठनको हित अनुकूल निर्णय गराउन सकेनन्। जाँदाजाँदै उनले सञ्चारकर्मीहरूलाई बोलाएर किशोरी निर्मला पन्तको बलात्कार र हत्या घटनाको अनुसन्धान सफल बनाउन नसकेकोमा चुक्चुकाएका थिए।
सङ्गठनको आवश्यकता भन्दा पनि व्यक्ति केन्द्रित पद बढाउने,सरुवामा राजनीतिक हस्तक्षेप नियन्त्रण गर्न असफल भएका उनले आफ्ना ब्याचमेटहरुबाट भने पूर्ण साथ र सहयोग लिन सके। उनले आफ्नो कार्यकालमा सम्झन लायक काम कमै गरे। उनको कार्यकालमा सुरु भएको व्यक्ति लक्षित दरबन्दीको खराब थालनीले सङ्गठनलाई लामो समय दुख दिन सक्छ।
बिदाइ समारोहमा बोल्दै क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक विश्राम लिई निवृत्त हुन लाग्दा बिदाइ कार्यक्रमको आयोजना गरेर हार्दिकतापूर्वक सम्मान दिएकोमा धन्यवाद दिए।
कोभिड-१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च कार्यसम्पादनको प्रशंसा गर्दै उनले सङ्गठनमा सुधार तथा हितको लागि गरिएको प्रयासहरूमा सबैको सहयोग प्राप्त भएको बताएका थिए। क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि सङ्गठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गरेका थिए।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी सङ्गठनमा हाल सञ्चालनमा रहेका महत्त्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक सिंहलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा सिंहले सेवा निवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र सङ्गठनप्रति पुर्याएको योगदानका लागि कृतज्ञता व्यक्त गरेका थिए। उनले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा वैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरूका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भई भएको बताएका थिए।
वैशाख १८, २०७९ आइतबार २२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।