अटेरी अभियानका खड्का पक्राउ
पोखरा : अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई प्रहरीले पक्राउ गरेको छ। पोखराबाट राजनीतिक पार्टीको गलत क्रियाकलाप विरुद्ध अटेर गर्ने अभियानमा आबद्ध खडकालाई निर्वाचन सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियन्ता खड्कालाई प्रहरीले गिरफ्तार गरेको अटेरी अभियानका संयोजक एवं पोखरा महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले जानकारी दिए।
खड्कालाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको पौडेलले बताए। निर्वाचन प्रचार अभियानमा सक्रिय रहिरहेका बेला वडा प्रहरी कार्यालय वैदामले खड्कालाई फोन गरेर बोलाएर हिरासतमा लिएको पौडेलले बताए।
निर्वाचन कार्यालय पोखराले शनिबार बिहान अटेरी अभियानका उम्मेदवारलाई बोलाएर दिएको निर्वाचन चिन्ह साँझ फिर्ता गर्ने बताएपछि अभियानका सदस्यहरू कार्यालय पुगेर नाराबाजी गरेका थिए। त्यसकै विरुद्धमा खडकालाई पक्राउ गरेको प्रहरीले दाबी छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले निर्वाचन सम्बन्धी कसुर तथा सजाय ऐन २०७३ को दफा २० को उपदफा १ (घ) उल्लंघन गरेकाले कारबाही गर्नका लागि निवेदन दिएकाले खड्कालाई पक्राउ गरिएको डिएसपी तिवारीले बताए।
उनले भने,‘अटेरी अभियानका सदस्य खड्काले निर्वाचन सम्बन्धी कसुर तथा सजाय ऐन २०७३ को दफा २० को उपदफा १ (घ) उल्लंघन गरेकाले कारबाहीको माग गर्दै निर्वाचन कार्यालयले उजुरी गरेपछि पक्राउ गरिएको हो।
अहिले अटेरी अभियानका सदस्यहरू निर्वाचन कार्यालयमा वार्ताका लागि जानु भएको छ । यदि उहाँहरूलाई माफी दिएर निवेदन फिर्ता भयो भने खड्का छुट्छन्। अन्यथा मुद्दा चल्छ।’ उक्त दफामा निर्वाचन सम्बन्धी कार्यमा प्रभाव पर्ने गरी धाक धम्की वा डर त्रास देखाउन नहुने प्रावधान रहेको छ।
वैशाख १८, २०७९ आइतबार १९:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।