अर्घाखाँचीमा गठबन्धनका कार्यकर्ताबाट कुटिए एमालेका उम्मेदवार

अर्घाखाँचीमा गठबन्धनका कार्यकर्ताबाट कुटिए एमालेका उम्मेदवार

बुटवल : १६ वैशाखमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८ माओवादी कार्यकर्ताले एमालेका वडा सदस्यका उम्मेदवारमाथी कुटपिट गरेका छन्। एमालेबाट छत्रदेव वडा ८ का वडा सदस्यका उम्मेदवार हुमा श्रेष्ठलाई गत बिहीबार साँझ ८ बजेतिर अर्घातोष बजारमा विष्णु पौडेल सहितको टोलीले कुटाकुट गरेको हो। कुटपिट पछि भएको दुई पक्षिय झडपमा ६ जना घाइते भएका छन्। 

एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले चुनाव प्रचारमा रहेका श्रेष्ठ सहित एमालेका कार्यकर्तालाई कांग्रेस नेतृत्वको गठबन्धनले योजनाबद्ध रूपमा कुटपिट गरेको बताए। 

हिजो मात्रै रुपन्देहीको सैनामैनामा नेकपा एमालेको निर्वाचन अभियानमा रहेको सवारी साधनमाथि गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड भयो। सैनामैनामा गठबन्धन दल माओवादी केन्द्र तथा नेपाली कांग्रेसका कार्यकर्ताहरूले निर्वाचन अभियानमा रहेको एमाले कार्यकर्ता सवार गाडीमा तोडफोड गरेको हो। एमाले निकट युवा संघ नेपाल सैनामैना नगर कमिटीले यो घटनाको विरोध समेत जनाएको छ। 

युवा संघका अनुसार एमाले सैनामैना नगरपालिकाको वडा नम्बर १० को प्रचारप्रसारको गाडीमाथि कांग्रेस तथा माओवादी नेता कार्यकर्ताबाट शनिबार तोडफोड भएको हो। कांग्रेस नेता हरि पोख्रेल, माओवादी नेता शान्ती बराल लगायतले प्रचार प्रसारमा हिँडेका केही कार्यकर्तामाथि हातपातको प्रयास गरेको युवा संघको आरोप छ। 

सैनामैना १० पानबारीमा उक्त घटना घटेको पीडित पक्षका ओमबहादुर पचभैयाले बताए। उनले गाडि रोकिएको अवस्थामा अकस्मात् आएर गाडी चालकसँगै अर्का कार्यकर्ता सन्तोष बेल्बासे माथि शान्ती बरालले हातपात गरेको बताए।

घटनाको निष्पक्ष छानबिन गरी दोषीले माफी माग्नुपर्ने र अब उप्रान्त अराजक गतिविधि नगर्न साथै फेरि पनि यस्ता गतिविधि दोहोरिएको अवस्थामा  प्रतिकार गर्ने युवासंघ सैनामैना नगर कमिटीले जनाएको छ। 

गए राती रुपन्देहीको देवदहमा वडा नं. १० मा एमाले चुनावी प्रचारमा प्रयोग गरिएका दुई वटा ई-रिक्सामाथि कांग्रेस कार्यकर्ताले तोडफोड गरेको आरोप एमालेले लगाएको छ। राती १ बजे सम्म पाटी गरेका कांग्रेस कार्यकर्ताले सोम बहादुर खड्काले घर अगाडि राखेको लु १ ह २५५६ नं. को अटो तोडफोड गरेको एमालेले जनाएको छ। 

त्यस्तै घरभित्रै राखिएको बुद्ध बहादुर गोलेको ना २ ह ६७२ नं. अटोमा पनि कांग्रेस कार्यकर्ताले तोडफोड गरेको बुद्धिमाया गोलेले बताइन। सडकको लाईट फुटाएर अध्ययारो बनाई अटोमाथि तोडफोड गरेको उनको भनाई छ।

एमालेका तर्फबाट वडा नं. १० मा वडा अध्यक्षका उम्मेदवार बनेका मनकुमार कनौजे मगरले एमालेको लोकप्रियताबाट आत्तिएको कांग्रेसी जत्थाले आक्रमण गरेको भन्दै घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न माग गरे। उनले चुनाव प्रचारको समयमा एमालेको माहौल बनेको थाहा पाएपछि आत्तिइएको समूहले अराजक गतिविधि गरेको भन्दै कडा भन्दा कडा कारबाहीका लागि प्रशासन समक्ष माग गरे।

यी त केही प्रतिनिधि घटनाहरू हुन । गठबन्धन दलहरूका कार्यकर्ताहरूले निर्वाचनको माहौल भाड्ने गरी कुटपिट र तोडफोडमा उत्रिएका छन् । सत्ता र शक्तिको आडमा विपक्षी उम्मेदवारहरूलाई कुटपिट र सवारी साधन माथि तोडफोड गर्नु अराजकताको पराकाष्ठा भएको एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए ।

‘जनता सामु एजेण्डा लिएर मत माग्ने हो । तोडफोड गरेर दम्भ देखाएर निर्वाचनमा आफ्नो माहौल बनाउन खोज्नु मुर्खता हो ।’ उनले भने । उनले तोडफोड र कुटपिटमा उत्रिने विरुद्ध प्रशासनले कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठग बहादुर केसीले घटना बारे जानकारी पाउन साथ घटनास्थलमा गई मुचुल्का उठाउने काम भएको बताए । उनले घटना माथि थप अनुसन्धान भइरहेको बताए ।  फोटोः देवदहमा भएको अटो रिक्सामा आक्रमण

वैशाख १८, २०७९ आइतबार १८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।