सुर्खेतका पाँच पालिकामा कांग्रेस–माओवादीबीच तालमेल, भागबण्डा नमिल्दा समाजवादी 'आउट'

सुर्खेतका पाँच पालिकामा कांग्रेस–माओवादीबीच तालमेल, भागबण्डा नमिल्दा समाजवादी 'आउट'

सुर्खेतः जिल्लाका पाँच वटा स्थानीय तहमा कांग्रेस र माओवादीबीच चुनावी सहकार्य भएको छ। गठबन्धन दलकै अर्को पार्टी एकीकृत समाजवादी भने भागबण्डा नमिल्दा 'आउट' भएको छ।

कांग्रेसभित्रै दुई गुटबीच विवाद बढेपछि पराजय हुने डरले कांग्रेसले गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादीसँग पाँच वटा पालिकामा चुनावी तालमेल गरेको हो। यस्तै गठबन्धनको जिल्लास्तरको तालमेल गर्न हरदम प्रयास गरिए पनि सफल नभएपछि स्थानीयस्तरमा एकीकृत समाजवादीले व्यावहारिक तालमेल सुरु गरेको पार्टीका जिल्ला अध्यक्ष मोहनसिंह बडुवालले बताए।

‘गठबन्धनमा सहकार्य गर्न अन्तिम समयसम्म प्रयास गर्दा पनि कुरा मिल्न सकेन,’ अध्यक्ष बडुवालले भने, ‘औपचारिकरूपमा जिल्लास्तरमा गठबन्धन नभए पनि स्थानीय स्तरमा भने व्यावहारिकरूपमा आवश्यकता अनुसार तालमेल गरिरहेका छौं।’

अहिले गठबन्धनमा समाजवादी नअटाएपछि त्यसको फाइदा उठाउन एमालेले विभिन्न रणनीति बनाइरहेको छ। समाजवादीले पनि एमाले र अन्य दलहरूसँग तालमेल गरेर गठबन्धनका कांग्रेस र माओवादीलाई फेल बनाउने रणनीति बनाउन थालेको छ।

कर्णाली प्रदेशस्तरको गठबन्धन बैठकबाट कुरा टुङ्गिन नसकेपछि केन्द्रस्तरबाटै माओवादीले एक पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख पाउने गरी सहमति भएको छ।

माओवादीले वीरेन्द्रनगर नगरपालिका र भेरीगंगा नगरपालिकाको उपमेयर, बराहताल र सिम्ताको उपाध्यक्ष पाएको छ भने चौकुने गाउँपालिकाको अध्यक्ष पाएको छ।

नेपाली कांग्रेसले वीरेन्द्रनगर, भेरीगंगा, बराहताल, सिम्तामा प्रमुख पाएको छ भने चौकुने गाउँपालिकामा उपाध्यक्ष पाएको छ।

तर चार वटा पालिकामा भने कांग्रेस र माओवादी दुवै दलका उम्मेदवार कायमै रहेका छन्। गुर्भाकोट नगरपालिका, लेकबेंशी नगरपालिका, चिङ्गाड गाउँपालिका र पञ्चपुरी नगरपालिकामा प्रमुख र उपप्रमुखमा दुवै दलका उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन्।

एकीकृत समाजवादीलाई लेकबेंशी नगरपालिकाको उपप्रमुख दिनेगरी प्रस्ताव ल्याए पनि चौकुनेको अध्यक्ष माग्दा कुरा मिल्न नसकेको नेकपा माओवादीका सुर्खेत इञ्चार्ज झकबहादुर मल्लले बताए।

यस्तै वीरेन्द्रनगरमा मेयर र उपमेयरमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार छन्। स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भीमप्रसाद शर्माले चुनाव चिह्न तारा र अर्का उम्मेदवार उमानन्द पंगालीले मुढा पाएका छन्।

यस्तै, उपमेयर पदका उम्मेदवार अनिल ढकाल पनि मुढा र उपमेयरका अर्का उम्मेदवार भोजप्रसाद चपाई गुलाबको फूल चुनाव चिह्नबाट निर्वाचनमा होमिएका छन्।

यी पालिकामा भयो तालमेल
वीरेन्द्रनगर नगरपालिका
प्रमुखः उपेन्द्र खड्का (कांग्रेस)
उपप्रमुखः शान्ति ढकाल (माओवादी)

चौकुने गाउँपालिका
अध्यक्षः खडक विक (माओवादी)
उपाध्यक्षः नरबहादुर वान्तोला (कांग्रेस)

सिम्ता गाउँपालिका
अध्यक्षः वीरेन्द्र बहादुर रावत (कांग्रेस)
उपाध्यक्षः चित्रबहादुर हमाल (माओवादी)

बराहताल गाउँपालिका
अध्यक्षः भिम भण्डारी (कांग्रेस)
उपाध्यक्षः भुमिसरा टमट्टा (माओवादी)

भेरिगंगा नगरपालिका
प्रमुखः रामबहादुर सिंह (कांग्रेस)
उपप्रमुखः नन्दबहादुर कार्की (माओवादी)

वैशाख १८, २०७९ आइतबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।