नगरपालिकाको प्रशासकीय भवनलाई अस्पताल बनाउने चुनावी फण्डाको व्यापक विरोध

नगरपालिकाको प्रशासकीय भवनलाई अस्पताल बनाउने चुनावी फण्डाको व्यापक विरोध
अस्पतालमा रूपान्तरण गर्ने भनिएको नगरपालिकाको प्रशासकीय भवन

बुटवलः तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनले बनाएको प्रतिबद्धता पत्रमा हालको प्रशासकीय भवनलाई नगर अस्पताल बनाउने उल्लेख गरेपछि यसको विरोध भएको छ। अस्पताल बनाउन आवश्यक मापदण्डको भवन हुनुपर्ने भए पनि सस्तो लोकप्रियता र राज्यमाथि आर्थिक भार थप्नेगरी योजना ल्याएको भन्दै यसको विरोध भएको हो।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका तिलोत्तमा नगरपालिकाको नगर प्रमुखका उम्मेदवार रामकृष्ण खाँणले जनप्रतिनिधिहरू सेवक भएको भन्दै अहिलेको भवनलाई नगर अस्पताल बनाउने र नजिकै अर्को भवन बनाएर नगरको सेवा प्रवाह गर्ने बताएका थिए।

‘जनताका घरमा पंखा छैन, एसी छैन। जनप्रतिनिधिले एसी चलाएर बस्ने होइन। जनप्रतिनिधि सेवक हुन्। त्यो भवन नगर अस्पतालमा रूपान्तरण गर्ने र नजिकै सानो भवन बनाउने योजना छ’, उनले भने।

तर नगरपालिकाको हालको भवनमा अस्पताल सञ्चालन गर्न उपयुक्त र व्यावहारिक नहुने विज्ञहरूको भनाइ छ। डा. सन्तोष भुसालले अस्पतालको भवन बनाउन निश्चित मापदण्ड हुनुपर्ने र प्रशासकीय भवनमा अस्पताल बनाउन नमिल्ने बताए।

पाँच वर्षको समयावधिमा नगरपालिकाले सबै वडाहरूमा स्वास्थ्य संस्था सञ्चालन गरिसकेको अवस्थामा चुनावी फण्डाका लागि गठबन्धनले नगर अस्पताल बनाउने भनेर सस्तो लोकप्रियता कमाउन खोजेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए।

तिलोत्तमा नगरपालिकामा हाल ७ वटा स्वास्थ्य चौकी, १० वटा आधारभूत स्वास्थ्य संस्था, एउटा आयुर्वेदिक अस्पताल, एउटा बर्थिङ सेन्टर सञ्चालनमा रहँदा रहँदै एमाले नेतृत्त्वको स्थानीय सरकारले बनाएको भवनलाई श्रेय नदिन यस्तो फण्डा मच्चाइएको उनले आरोप लगाए।

अहिले तिलोत्तामामा स्वीकृत तीन वटा अस्पतालमध्ये दुई वटा निर्माणाधीन छन्। तिलोत्तमा- १७ मा रहेको बिपी ग्राम स्वास्थ्य उपचार केन्द्रको करोडौंको सम्पत्ति उपयोगविहीन रहेको अवस्थामा नगर अस्पताल बनाउने कांग्रेसी प्रतिबद्धता ‘सपनाको किस्सा’ भएको एमाले तिलोत्तमा नगर सचिव दिनेश फुल्लेलले बताए।

‘नेपाली कांग्रेसका नेताहरूले नेतृत्त्व लिएको तिलोत्तमा वडा नम्बर १७ मा रहेको भवन अलपत्र जस्तै छ। आफ्नै अस्पताल संरक्षण नगर्नेले नगर अस्पताल बनाउने कुरा हास्यास्पद छ’, उनले भने।

२०५९ माघ २८ गते नेपाल सरकारको जग्गामा जापान सरकारको सहयोगमा बिपी ग्राम सेवा केन्द्रद्वारा उपचार केन्द्र निर्माण भएको थियो। पूर्वप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन नेपालका लागि जापानी राजदूत जेन्जी कामीनागाको उपस्थितिमा उद्घाटन गरी सेवा सुरु भएको ग्राम ५ वर्षमै बन्द भएको हो। 

हाल तिलोत्तमा नगरपालिकामा दुई वटा १५/१५ शय्याका अस्पताल शिलान्यास गरी काम सुरु भइरहेको छ भने एउटा १५ शय्याको अस्पतालका लागि स्वीकृति प्राप्त गरी प्रकृया अघि बढेको छ।

वैशाख १८, २०७९ आइतबार ०९:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।