उद्योगमा फर्कियो लोडसेडिङ युग, '३३ र ११ केभिए औद्योगिक कोरिडोरमा २४ घण्टा नै विद्युत कटौती'

उद्योगमा फर्कियो लोडसेडिङ युग, '३३ र ११ केभिए औद्योगिक कोरिडोरमा २४ घण्टा नै विद्युत कटौती'

बुटवलः अघोषित लोडसेडिङका कारण रुपन्देहीका उद्योगीहरूले धमाधम उत्पादन घटाउन थालेका छन्। विद्युत प्राधिकरणले गरेको अघोषित लोडसेडिङका कारण पहिले १८ घण्टासम्म चल्ने उद्योगहरू हाल मुस्किलले ८ घण्टा चल्ने गरेका छन्। 

विद्युत नहुँदा महँगो डिजेल प्रयोग गरेर सामान उत्पादन गर्दा लागत पनि नउठ्ने भन्दै उद्योगहरूले उत्पादन नै कम गर्न थालेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले बताए।

एक महिनाअघिदेखि लो भोल्टेज, ट्रिपिङ समस्याबाट आजित भएका उद्योगीहरूले यो साताबाट अघोषित लोडसेडिङको सामाना गरिरहेका छन्। कोभिडका कारण बन्द रहेका प्राय उद्योगहरू गतिशील हुँदै गर्दा फेरि लोडसेडिङ हुनुले उद्योगीहरू व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेका  छन्।

त्यसमाथि उद्योगलाई डिजेलबाटै पूर्णक्षमतामा चलाउँदा लागत पनि नउठ्ने हुँदा उत्पादनको परिमाण घटाउनुको विकल्प नरहेको उद्योगीहरू बताउँछन्।

रुपन्देही उद्योग संघका निवर्तमान अध्यक्ष बावुराम बोहोराले अहिलेको स्थितिमा लोकप्रियताका लागि सरकारले घर–घरको विद्युत नकाटे पनि औद्योगिक कोरिडोरमा भने विद्युत नै नदिएको बताए। कतिपय उद्योग त बन्द समेत हुन थालेको उनले बताए। 

‘डिजेल झन् झन् महँगो हुँदैछ। कच्चा पदार्थमा पनि महँगीको हालत उस्तै छ’, उनले भने, ‘प्राधिकरणले घरमा एसी चलाउन लाइन दिएर रोजगारी सिर्जना हुने उद्योगलाई बन्द गराउँदैछ।’ अघोषित लोडसेडिङ, कच्चापदार्थको महँगी, दक्ष कामदारको अभाव जस्ता कारणले अहिले उद्योग र उद्यमीलाई चौतर्फी समस्याले घेरेको उनले बताए।

संघले ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगमा २४ घण्टा नै विद्युत कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराइसकेको छ। 

अनावश्यक ट्रिपिङ र अघोषित लोडसेडिङका सम्बन्धमा विद्युत प्राधिकरणमा समस्या समाधान गरिदिन डेलिगेशन गए पनि माग सुनुवाइ नभएको रुपन्देही उद्योग संघका अध्यक्ष पौडेलले बताए। ‘जति सकिन्छ ४/६ घण्टा दिनुहोस्, अघोषित नगर्नुस् भनेका छौँ। सस्तो लोकप्रियताका लागि घरमा लाइन काटिएको छैन। रोजगारी गुम्ने तर घरमा सितल थाप्ने कुरा जायज छैन’, पौडेलले भने। 

उनले विद्युत अपुग भएमा सबैतिर बिहान साँझ २/४ घण्टा लोडसेडिङ गरेर अन्य समयमा सबैतिर विद्युत दिन समेत प्राधिकरणलाई आग्रह गरेको बताए।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले कोभिडपछि उद्योगहरू बल्ल गतिमा आउन लागेको समयमा भएको अघोषित लोडसेडिङले उद्योगहरू बन्द हुन थालेको बताए।

संघले ३३ केभिए र ११ केभिए औद्योगिक कोरिडोरका उद्योगमा २४ घण्टा नै विद्युत कटौती हुँदा उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत ध्यानाकर्षण गराइसकेको छ। 

संघले उत्पादन जस्तो गम्भीर विषयमा केन्द्रित भई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत आपूर्तिको तालिका मिलाएर भए पनि सञ्चालनको वातावरण मिलाउन आग्रह गरेको छ।

रुपन्देहीको लुम्बिनी कोरिडोर, भैरहवा परासी, बुटवल भैरहवा क्षेत्रमा रहेका सबै उद्योगहरूले अघोषित लोडसेडिङका कारण अहिले उत्पादन घटाउन बाध्य भएका छन्। उद्योगमा उत्पादन भइरहेका बेला बीचमै विद्युत जाँदा वस्तु उत्पादन नभई फाल्नुपर्ने अवस्था अहिले छ। 

बुटवलको औद्योगिक क्षेत्रमा पनि अघोषित लोडसेडिङ हुन थालेको त्यहाँका उद्योगीले बताएका छन्। बुटवलको औद्योगिक क्षेत्रमा ६६ उद्योग छन्। उद्योगी रामप्रसाद बस्यालले ट्रिपिङ समस्या पनि औद्योगिक क्षेत्रमा रहेको बताए।

बुटवल औद्योगिक क्षेत्रका ६६ उद्योगमा कुल ३ हजार मजदूर छन्। नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेले मागअनुसारको विद्युत आपूर्ति गर्ने प्रयासमा आफूहरू रहेको बताए।

लेबरदेखि इञ्जिनियरसम्म सबै भारतीय
रुपन्देहीमा साना ठूला गरी ८ हजार उत्पादनमूलक उद्योग छन्। यसमध्ये २ हजार मात्र सञ्चालनमा छन्। यी उद्योगमा अधिकांश कामदार भारतीय छन्। कार्यालय सहयोगीदेखि इञ्जिनियरसम्म भारतीय कामदार रहेका छन्। 

नेपाली युवाहरू रोजगार नपाइएको भन्दै विदेशी भूमिमा गइरहँदा नेपाली उद्योगमा भने भारतीय कामदारको बाहुल्य छ। 

युवाहरूले सीप सिक्न नचाहने र नेपालमा काम गर्न अनिच्छुक हुँदा भारतीय कामदार प्रयोग गर्नुको विकल्प नरहेको उद्योगी बस्यालले बताए। उत्पादनमूलक र सेवामूलक उद्योगमा मात्र होइन रुपन्देहीमा रहेका ७३ वटा इँटा उद्योगमध्ये अधिकांशमा भारतीय मजदूर छन्।

वैशाख १८, २०७९ आइतबार ०७:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।