काठमाडौँमा फ्लप भएको एमालेको मोनो-मेट्रो रेल सपना योजना पोखरा सर्यो
पोखरा : एमालेले पोखरा महानगरपालिकाका घोषणापत्र सार्वजनिक गर्दै पाँच वर्षभित्रमा सहरमा मोनो रेल र मेट्रो रेल चलाउने दाबी गरेको छ। पाँच वर्ष अगाडि एमालेले काठमाडौँमा पनि यस्तै घोषणा पत्र ल्याएको थियो। एमालेमा उम्मेदवार निर्वाचित पनि भए। तर कार्यकाल पुरै असफल भयो।
त्यस्तै योजना पोखरा महानगरपालिकाका एमाले उम्मेदवारहरूले शनिवार सार्वजनिक गरे। पोखरामा आयोजित कार्यक्रममा एमालेले आगामी पाँच वर्षको कार्य योजना समेटिएको २० पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको थियो।
महानगरवासीलाई मोनो र मेट्रो रेलको सपना देखाएको पहिलो पटक भने हैन। २०७४ को निर्वाचनमा एमालेको मेयरका उम्मेदवार मानबहादुर जिसी र उपमेयर मञ्जु देवी गुरुङले मोनोरेल देखि मेट्रो रेलसम्म सञ्चालन गर्ने र सुशासनको नमुना बनाउने प्रतिबद्धता ब्यक्ता गरेका थिए।
उनीहरू निर्वाचित पनि भए। तर वाचा पुरा गर्न सकेनन्। यो पाली उपमेयरमा गुरुङ नै दोहोरिएकी छिन् भने मेयरमा कृष्ण बहादुर थापा उम्मेदवार बनेका छन्।
घोषणापत्र सार्वजनिक कार्यक्रममा मेयरका प्रत्याशी थापाले ‘हाम्रो अभिभारा : स्वच्छ सुन्दर पोखरा,श्रम सीप जुटाऔँ, पोखरालाई उठाऔँ’ भन्ने नारासहित पोखरामा मोनो रेल र मेट्रो रेलको सञ्चालन गर्ने दाबी गरेका थिए।
प्रत्याशी थापाले पोखरा क्षेत्रमा चक्रपथ निर्माण, बिजुलीका तारहरू भूमिगत बनाउने, पोखराको छोरेपाटनदेखि स्याङ्जाको पौवेगौंडेसम्म भूमिगत मार्ग लगायतका परियोजनाहरू अगाडी बढाउने घोषणापत्रमा समेटिएको बताए।
पोखरालाई अन्तर्राष्ट्रियकरण सहरको रूपमा विकास गर्ने उनले बताए। प्रत्याशी थापाले एमालेले पोखरा महानगरमा २० हजार मतान्तरले चुनाव जित्ने दाबी समेत गरे।
प्रत्याशी थापाले प्रदेश सांसद परित्याग गरेर पोखराको मेयरमा उम्मेदवारी दिएका हुन्। यस अघि उनी २०५४ मा पनि तत्कालीन पोखरा उपमहानगरको मेयरमा निर्वाचित भएका थिए।
महानगरमा गठबन्धनका तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट उम्मेदवार बनेका छन्। उनीहरूले यस अघि नै घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
त्यसै गरी पोखराबाट सुरु भएको अटेरी अभियानका संयोजक एवं मेयरका प्रत्याशी गनेस पौडेल, लगायतका अन्य दलहरूले पनि घोषणापत्र सार्वजनिक गरिसकेका छन्।
वैशाख १७, २०७९ शनिबार २०:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।