अटेरी अभियानका पौडेलको अभियानको चुनाव चिन्ह ‘लौरो’

अटेरी अभियानका पौडेलको अभियानको चुनाव चिन्ह ‘लौरो’

पोखरा : पोखराका ‘अटेरी’ अभियन्ता गनेश पौडेलको ‘अटेरी समूह’बाट उम्मेदवारी दिएकालाई निर्वाचन कार्यालयले चुनाव चिन्ह ‘लौरो’ दिएको छ।

राजनीतिक दलका विरुद्ध अटेर गर्ने उद्घोष गर्दै  वैशाख ३० मा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकामा ‘अटेरी समूह’बाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलको अभियानलाई निर्वाचन कार्यालयले 'लौरो’ चुनाव चिन्ह दिएको हो। 

‘अटेरी’ अभियान चलाएका लेखक एवं साहित्यकार गनेस पौडेलले शनिवार महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर चुनाव चिन्ह लिएका हुन्। 

पोखरा बदल्ने 'अटेरी' सपना : अब जनता झुक्याउने दिन गए 

लौरो चिन्ह देशैभरका अटेरीलाई दिएको पोखरा महानगरपालिकाका मेयर प्रत्याशी गनेस पौडेलले जानकारी दिए।

राजनीतिक दलविरुद्ध अटेरी गर्ने अभियान अन्तर्गत पोखरामा नगर प्रमुखसहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा भएको छ। पौडेलको अटेरी अभियान अन्तर्गत अहिले देश भरका विभिन्न ठाउँहरूमा अटेरीका तर्फबाट उम्मेदवारी घोषणा भइरहेको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अटेरी अभियानका संयोजक पौडेलले ‘पोखरा लक्ष्य २०७९ कार्य योजना’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेका छन्। उनले पोखरा लक्ष्य २०७९ को घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई प्राथमिकता राखेका छन्। ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ अभियानको चुनावी नारा हो।  

वैशाख १७, २०७९ शनिबार १६:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।