आफ्नै खत सम्झाउने पुरानो घरको नाटक 'खत'

आफ्नै खत सम्झाउने पुरानो घरको नाटक 'खत'

सिनामंगलको 'पुरानो घर' नाटकघरमा लागिरहेको छ- नाटक 'खत'। खत, दुई ठूला थुम्काहरूको बीचमा भएको एउटा सानो घरको कथा हो। त्यो घरले देखेको, भोगेको कथा हो।

एउटा थुम्कोमा हँसिया हतौडा अङ्कित झण्डा फहराइएको छ। त्यहाँ बस्नेहरूले चल्तीको बाटो कब्जा गरेका छन्। उनीहरू पूरा देश कब्जा गर्ने सोचमा छन्। उनीहरू आफूलाई क्रान्तिमा होमिएका जनताका सिपाही भन्न रुचाउँछन्।

अर्को थुम्कामा छन्, सेनाहरू। कब्जामा रहेको बाटो सबैका लागि खुलाउनुपर्ने बाध्यता उनीहरूमा छ।

क्रान्तिमा होमिएका माओवादी र क्रान्ति रोक्ने जिम्मा पाएका सेनाबीचको द्वन्द्व नै 'खत' को कथावस्तु हो।

नाटकको उत्कृष्ट पक्ष हो- मञ्चको परिकल्पना। दर्शकदीर्घा नै मञ्च हो। दर्शक पनि नाटकका हिस्सा हुन्। दुई थुम्काहरूको बीचमा दर्शक ढुंगामुढा जसरी सास रोकेर नाटकलाई साथ दिन्छन्।

विगतमा माओवादी विद्रोहको डरलाग्दो समय भोगेर आएकाहरूमा नाटकले पुनः डर भरिदिन्छ। कथाअनुसार नाटकले त्रासलाई मज्जैले देखाएको छ। नाटक हेरिसकेपछि फेरि द्वन्द्व कहिल्यै नहोस् भन्ने कामना गर्न बाध्य बनाउँछ नाटकले।

घटनालाई एउटा आँखाले मात्र हेर्नाले सशस्त्र द्वन्द्वको कथा प्रस्तुत गर्दा प्रायः लेखक तथा निर्देशक चुकिरहेको देखिएकै हो। तर खतका निर्देशक सुलक्षण भारतीले नाटक सन्तुलित बनाइदिएका छन्।

खतमा सेना पहिलो प्रहार गर्न चाहँदैन। माओवादी पनि आफैँ निहुँ खोज्ने पक्षमा छैन।

शान्ति वार्ताको प्रयास पनि हुन्छ। तर सफल हुँदैन। दुवै पक्ष हतियार प्रयोग गर्न चाहँदैनन्। तर पनि बन्दुक चल्छ। युद्ध हुन्छ। दुवै पक्षबाट मानवीय क्षति हुन्छ। आखिर कारण के होला त? यही प्रश्नको जवाफ नाटकले विस्तारै दिँदै जान्छ।

नाटकको उत्कृष्ट पक्ष हो- मञ्चको परिकल्पना। दर्शकदीर्घा नै मञ्च हो। दर्शक पनि नाटकका हिस्सा हुन्। दुई थुम्काहरूको बीचमा दर्शक ढुंगामुढा जसरी सास रोकेर नाटकलाई साथ दिन्छन्।

कथाको उतारचढावलाई प्रकाशले पनि साथ दिइरहन्छ। युद्ध उत्कर्षमा पुगेको बेला गरिएको प्रकाश सञ्योजनले एक प्रकारको थ्रिल पैदा गर्छ। रंगमञ्चभित्रको रणभूमि प्रकाशमार्फत देखाउन नाटक सफल भएको छ।

ध्वनीमा पनि नाटकमा राम्रो काम भएको छ। बन्दुकको आवाजदेखि बच्चा रोएसम्मको आवाजले वास्तविकता झनै प्रकट गर्छ। 

रेडियोले घर बनेर गरेको न्यारेशनमा कलाकारहरू फिट भएका छन्। नाटकमा वास्तविक रूपमै पटका समेत पड्काइएको छ। यसले भने गोली बारुदको आवाज मन नपराउने दर्शकका लागि अफ्ठ्यारो हुन सक्छ।

अभिनयमा सबै कलाकार अब्बल छन्। माओवादीमा लाग्नुको कारण सुनाइरहँदा त्यसलाई बोली हैन, दृश्यबाटै देखाउने प्रयास भएको छ।

कसरी एउटा बाहुनको छोरो हलीया मुक्तिको आन्दोलनमा लाग्यो, गोबर फ्याँकेर बसेको गोठाले कसरी मालिकलाई पछारेर क्रान्तिमा होमियो जस्ता कुरालाई दृश्यमै देखाइएको छ।

बाटोमा भने झण्डै सय मिटरको फरक गरेर गोलीगठ्ठा बोकेका सेना मुखमा मोसो दलेर हिँडिरहेका थिए। हुस्सु पातलो हुँदै गयो। कलिलो घामसँग एउटा खबर फैलियो- बाहुन कान्छालाई त सेनाले मार्यो रे।

कलाकारले द्रुतगतिमा ती भूमिका निभाउँदा समेत कतै चिप्लिएका छैनन्। उदाहरणका लागि कम्रेड प्रभा कसरी क्रान्तिमा लागिन् भन्नेबारे साथीहरूलाई सुनाएको दृश्य। 

कथा सुनाउँदा एकैछिनको अध्यारोमा उनी बेहुली बनेर तयार हुन्छिन्। गरिबसँग विहे गरेकी उनी त्यही रात शक्तिमा रहेका पुरुषहरूको सामूहिक बलात्कारमा पर्छिन्। 

उक्त दृश्य सकिन नपाउँदै उनलाई फेरि पुरानै ठाउँमा कथा सुनाइरहेको अवस्थामा देख्न सकिन्छ। प्रत्यक्ष रूपमा दर्शकले देख्दादेख्दै उनले सबै काम आफैँ गर्न भ्याएकी छन्।

केही वीभत्सपूर्ण दृश्य भएकाले कमजोर मुटु भएकाहरू र नाबालिगहरूले यो नाटक नहेरेकै राम्रो। 

आफ्नै खत
पुषको महिना। मिर्मिरे बिहानी भए पनि बाक्लो हुस्सुले नजिकका मानिस समेत खुट्याउन धौधौ पर्थ्यो। घरनजिकै एक जना मिसकोमा ट्युसन पढ्न जाँदै थिएँ, एक्कासि गोलीको आवाज आयो।

आठ वर्षको थिएँ। के भयो, कसो भयो पत्तो पाउन सकिनँ। 

बाटोमा भने झण्डै सय मिटरको फरक गरेर गोलीगठ्ठा बोकेका सेना मुखमा मोसो दलेर हिँडिरहेका थिए। हुस्सु पातलो हुँदै गयो। कलिलो घामसँग एउटा खबर फैलियो- बाहुन कान्छालाई त सेनाले मार्यो रे।

ती बाहुन कान्छा मेरा काका थिए। गाउँलेहरू भेला भएर घटनास्थलतिर लागे। सेनाले निकै केरकार गर्यो। पछि बुवाको साथमा काकाको शव छोडिदियो। 

भर्खर हरियो हुँदै गरेको गहुँ बारीमा ढलिरहेका काकालाई साँझ पार्टीको झण्डा ओडाएर गाढे। 'एक जना सेना बाहुन कान्छालाई मारेपछि लडीबुडी गरेर रोयो रे' भन्ने हल्ला पछिसम्म पनि गाउँमा सुनिन्थ्यो।

त्यही आठ वर्षको उमेरमा देखे, भोगेको दृश्य मंगलबार पुरानो घर थिएटरमा दोहोरियो। 'खत' नाटकले पुरानो खतलाई स्मरण गरायो।

०००

नाटकको अन्त्य निर्देशक सुलक्षण भारतीको न्यारेशनबाट हुन्छ। उनी भन्छन्, 'हामी लासमाथि टेकेर यहाँसम्म आयौं, यहाँबाट बाहिरिँदा पनि यिनै लासहरूलाई टेकेर निस्कनेछौं।' 

अनि भर्खरै युद्ध मैदानबाट बाहिरिए जसरी दर्शक रंगमञ्चबाट सास फेरिरहेका लासमाथि टेक्दै निस्कन्छन्।

खत हेर्न दर्शकको चाप पनि बढेको छ अहिले। १० दिन थप नै गरिएको छ नाटक हेर्ने अवधि।

पात्रहरू
नाटकमा कमरेड अडिगको भूमिका निभाएका छन्- अरुणले।
कमरेड दयाको भूमिकामा छन्- जयराम।
फूलमतिको भूमिकामा छिन्- भावना।
कमरेड प्रभा बनेकी छिन्- निशा।

यस्तै रमेश, सन्दीप, प्रकाश, आदि, सागर, सराबन, चर्चित, प्रितम सागर, नूज, उत्तम, रितेश, शिशिर, अर्नभ, राजकमल र सरिता पनि आ-आफ्नो भूमिकामा देखापर्छन्।

वैशाख १७, २०७९ शनिबार १०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।