'जितेर गएकाहरूको अवस्था फेरियो, म यही सडकमै छु'
सुर्खेतः पञ्चपुरी नगरपालिका-६ का बलबहादुर सार्कीले सडकमा बसेर जुत्ता सिलाउन थालेको १८ वर्ष भयो। यसैबाट कमाएको केही पैसाले दुई छाेरा र तीन छाेरीकाे पालनपोषण गरे उनले।
अब त दुई छाेरीकाे विवाह भइसक्यो। बुढाबुढीसहित तीन बालबच्चा अझै छन् उनको काँधमा।
बाउबाजेले बालीघरे प्रथा गर्थे। उनी जुत्ता सिलाउन थाले। दिनभरमा दुई सयदेखि पाँच सयसम्म जुत्ता मर्मत गरेर कमाउँछन्।
अहिले गाउँघरमा चुनाव आएको छ। सबै चुनावी अभियानमा व्यस्त छन्। तर, बलबहादुर भने जुत्ता सिलाउनकै लागि बाबियाचाैरबाट दैनिक ५ किलोमिटर हिँडेर सालकाेटसम्म आउँछन्। बाबियाचाैरमा जुत्ताको काम गर्ने मान्छे धेरै भएपछि उनी सालकाेट आउने गरेका हुन्।
२०७४ सालकाे निर्वाचनमा १५ दिनसम्म आफ्नाे काम बन्द गरेर चुनावी अभियानमा लागेका थिए उनी। स्थानीय तहमा जनप्रतिनिधि आएपछि जीवनस्तर सुध्रिन्छ भन्ने लागेको थियो उनलाई। तर उनले जिताएको नेताको जीवनस्तर सुध्रियो, उनी जहाँको त्यहीँ।
बलबहादुरसँग जुत्ता बनाउने साँचो र मेसिन पनि छैन। परम्परागत छाताकाे सरियाकाे सियाे बनाएर उनले जुत्ता सिलाइरहेका छन्।
बलबहादुर भन्छन्, 'जितेर गएकाहरूले ठूला-ठूला घर हाले। गाडी चढे। उहाँहरूकाे अवस्था फेरियाे। म त यही सडकमै छु।'
बलबहादुरसँग जुत्ता बनाउने सामग्री नहुँदा उनी अहिले पुराना जुत्ता मर्मत मात्रै गर्छन्। सामग्री र अनुदानका लागि बारम्बार वडा, नगरमा गए पनि सुनुवाइ भएको छैन। सुनुवाइ नहुँदा सडकलाई नै कार्यालय बनाउन बाध्य छन् उनी।
वैशाख १७, २०७९ शनिबार ०८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।