दाङका दुई उपमहानगर : गठबन्धन उत्साहित, बिरासत जोगाउने कसरतमा एमाले

दाङका दुई उपमहानगर : गठबन्धन उत्साहित, बिरासत जोगाउने कसरतमा एमाले

बुटवल : मनोनयन दर्तासँगै दाङका दुई उपमहानगरपालिका घोराही र तुल्सीपुरमा चुनावी माहोल तातेको छ। यी दुवै महानगरका उम्मेदवारहरु मत माग्न जनताका घरदैलो चहार्न थालिसकेका छन्।

घोराही उपमहानगरपालिकाको प्रमुखमा अहिलेका मेयर एमालेका नरुलाल चौधरी र गठबन्धनबाट माओवादीका हेमराज शर्मा चुनावी मैदानमा छन्। उपप्रमुखमा एमालेकी हुमा डिसी र गठबन्धनबाट नेपाली कांग्रेसका भुपबहादुर डाँगी चुनावी प्रतिस्पर्धामा छन्।

२०७४ को निर्वाचनमा घोराहीमा एमालेका चौधरी विजयी भए। चौधरीले २२ हजार ३० मत ल्याउँदा कांग्रेसका डाँगी क्षत्रीले १७ हजार ४ सय ८४ मत ल्याएर पराजित भए। त्यस्तै माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए। 

अघिल्लो निर्वाचनमा नगर प्रमुखमा प्रतिस्पर्धा गरेका डाँगी गठबन्धनको भागबन्डामा यस पटक उपप्रमुखको उम्मेदवार बनेका छन्।

२०७४ सालको निर्वाचनमा त्यहाँ सबै दल एक्ला-एक्लै चुनाव लडेका थिए। अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धन बनेको हुँदा एमालेको किल्ला भत्काउने दाउमा गठबन्धन दलहरु रहेका छन्। यद्यपि, त्यहाँ गठबन्धन दलभित्र केही असन्तुष्टि देखिएको छ।

अघिल्लो निर्वाचनमा १२ हजार ८२ मत प्राप्त गरेका जीवन गौतमले टिकट वितरणमा असन्तुष्टि जनाएर राजीनामा दिइसकेका छन्। नेपाली कांग्रेसमा पनि केही असन्तुष्टि छ।

२०७४ सालकै परिणाम हेर्दा घोराहीमा गठबन्धन दल बलियो देखिएको छ। गठबन्धनको मत नबिग्रिएमा एमालेलाई पराजित गर्न सकिने भएकाले दलहरु आफ्नो मत जोगाउन लागिरहेका छन्।

गठबन्धनमा रहेका दलका उम्मेदवारले मेयरमा पाएको मत एमाले उम्मेदवारले पाएको भन्दा ७ हजार ६५३ ले बढी छ। २०७४ को मत परिणाम अनुसार त्यहाँ गठबन्धनको २९ हजार ६८३ मत छ। एमाले विभाजन भई बनेको एकीकृत समाजवादीको दावी अनुसार उसको ५ हजार मत छ।

मतदाताले गठबन्धनलाई सजहै विश्वास गरे घोराहीमा आफ्नो पक्षामा नतिजा निकाल्न गठबन्धनलाई केही सहज छ। तर नयाँ मतदाताको मत आकलन गर्न कठिन छ। घोराहीमा अघिल्लो निर्वाचनमा भन्दा ३४ हजार ५ सय नयाँ मतदाता थपिएका छन्।

दाङकै तुल्सीपुर उपमहानगरपालिकामा एमालेबाट टीकाराम खड्का र गठबन्धनबाट नेपाली कांग्रेसका गेहेन्द्र गिरी चुनावी मैदानमा छन्। खड्का एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् भने गिरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।

उपप्रमुखमा एमालेकी श्यानी चौधरी र गठबन्धन दलबाट एकीकृत समाजवादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगर प्रतिस्पर्धामा छन्।

२०७४ सालको निर्वाचनमा तुल्सीपुरमा एमालेका घनश्याम पाण्डे विजयी भएका थिए। उनले २२ हजार ८ सय ५७ मत ल्याउँदा कांग्रेसका गेहन्द्र गिरीले १८ हजार ९ सय ३, माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६सय ९३ मत प्राप्त गरेका थिए। गेहेन्द्र फेरि नगर प्रमुखको उम्मेदवार बनेका छन्।

समाजवादी पार्टीको राम्रो मत रहेको विश्लेषण गरेको गठबन्धनले तुल्सीपुरमा सहज जित हुने बताउँदै आएको छ। २०७४ सालमा प्राप्त परिणामलाई विश्लेषण गर्दै एमाले तुल्सीपुरमा कमजोर भएको निष्कर्ष गठबन्धन दलको छ।

समाजवादीले तुल्सीपुरमा अघिल्लो निर्वाचनको मत परिणाममा १० हजार बढी मत घटेको बताउँदै आएको छ। यहाँ गठबन्धन दलका मेयरका उम्मेदवारले गत निर्वाचनमा २७ हजार ८८७ मत ल्याएका थिए। यो एमालेले पाएको मतभन्दा ५ हजार ३० मत बढी हो। यस आधारमा गठबन्धन बलियो रहेको निष्कर्ष छ।

अझ एकीकृत समाजवादीको दावी सहित २०७४ को मत परिणाम अनुसार गठबन्धनको त्यहाँ मत १५ हजार हाराहारी हुन आउँछ। २०७४ मा एमालेबाट विजयी भएका पाण्डेको मत २२ हजार ८ सय ५७ हो।

त्यस कारण तुलसीपुर गठबन्धनका लागि सहज देखिन्छ भने एमालेका लागि जोखिमपूर्ण रहेको दलहरु बताउँछन्। यद्यपि नयाँ थपिएका मतदाताको अंक गणित गर्न कठिन छ। नयाँ मतदाताको मत विभाजन र गठबन्धनभित्र बेइमानी भए नजिता जस्तो पनि आउन सक्छ। तुल्सीपुरमा ३० हजार ७८४ जना नयाँ मतदाता थपिएका छन्।

के भन्छन् प्रमुखका उम्मेदवार?
एमालेबाट घोराहीमा उम्मेदवार बनेका नरुलाल चौधरीले पाँच वर्षमा गरेका केही अधुरा कामहरु पूरा गर्दै नयाँ विकासको थालनीका लागि आफ्नो उम्मेदवारी भएको बताए।

सडक निर्माणका बाँकी काम, युवाहरुलाई स्वरोजगार, कृषि, पर्यटन क्षेत्रको विकासका साथै मतदाताका आधारभूत आवश्यकता पूरा गर्नु आफ्ना चुनावी एजेण्डा रहेको बताए। फोहोरमैला व्यवस्थापन, पार्किङ व्यवस्थापनका पनि आफ्नो चुनावी एजेण्डा रहेको बताए।

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका हेमराज शर्माले ५ वर्षमा एमाले नेतृत्वको स्थानीय सरकारले जनताका आवश्यकता अनुसार विकास नगरेको भन्दै आफूले उम्मेदवारी दिएको बताए। उनले घोराहीलाई सुन्दर, सफा र वातावरणमैत्री नगरको रुपमा स्थापित बनाउने आफ्ना एजेण्डा रहेको बताए।

एमालेबाट तुलसीपुर उपमहानगरको प्रमुखमा उम्मेदवार बनेका टीकाराम खड्काले समग्र तुल्सीपुरको विकास र जनताका साँझा समस्या समधानका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले समृद्ध समाज निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी क्षेत्रमा सुधार तथा सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरण गर्ने योजना सुनाए।

अर्का नगर प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले सडक स्तरोन्नति, तुल्सीपुरको रोलमोडल विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए। उनले भ्रष्टाचार मुक्त, शुसासन र पारदर्शितालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए।

वैशाख १७, २०७९ शनिबार ०७:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।