बालेनलाई मदन पुरस्कार विजेता लेखक शाहको सुझाव : जनताको नेता बन्नु छ भने काली चस्मा खोल

बालेनलाई मदन पुरस्कार विजेता लेखक शाहको सुझाव : जनताको नेता बन्नु छ भने काली चस्मा खोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेर भाइरल हुन सफल बालेन शाहसँगै ब्रान्ड बनेको छ उनको कालो चस्मा। आखिर उनी जहाँ पनि किन त्यही कालो चस्मामा देखिन्छन् ? चस्माविहीन बालेन कस्ता देखिएलान् उनी उनको चस्माले बोल्ने भाषा के होला? चासो हुनु स्वाभाविकै हो।

जुन समयमा उनले महानगरको मेयरको उम्मेदवार बनेका थिए त्यो बेला जो जसले उनलाई जोकरको उपमा दिने प्रयास गरेका थिए उनीहरू समेत अहिले सामाजिक सञ्जालमा एकछत्र कब्जाले चकित छन्। नेपाली कांग्रेस या एमाले वा माओवादी केन्द्रका समर्थक मतदाता जसका लागि उम्मेदवार भन्दा चुनाव चिन्ह प्यारो छ उनीहरूबाट समूहगत भोट नआउन सक्छ उनलाई। त्यसैले उनलाई विजेताको रूपमा अझैँ काठमाडौँ महानगरवासीले स्वीकार गरिसकेका छैनन्।

तर उम्मेदवारी घोषणाको समयमा हास्यपात्रको रूपमा हेरिएका उनी मतदान गर्न २ साता बाँकी रहँदा प्रमुख प्रतिस्पर्धीको रूपमा चढ्न सफल भएका छन्। मत सङ्ख्याको आधारमा उनले जित्छन् या हार्छन् यो अलग पाटो हो। तर एकल अभियानको रूपमा उनलाई जसरी तीन प्रतिस्पर्धीमध्ये एकको रूपमा हेरिन थालियो यो उनको जीतै समान हो।

तै पनि उनको कालो चस्माबारेको जिज्ञासा भने अझै उस्तै छ। त्यसबारे प्रतिक्रिया आउने क्रम पनि जारी छ। त्यही जिज्ञासुको सुचीमा मदन पुरस्कार विजेता लेखक तथा नेपाल प्रहरीका पूर्व डिआइजी महेशविक्रम शाह समेत जोडिए शुक्रवार।

शुक्रवार राष्ट्रिय झन्डा काँधमा राखेर कालो चस्मासँगै नमस्कार गरिरहेको बालेनको तस्बिर फेसबुकमा राखेर उनले प्रतिक्रिया दिए' जनताको नेता बन्नु छ भने पहिला तिम्रा आँखाका भावहरूलाई छोप्ने तिम्रो काली चस्मा खोल।'

शाहले लेखेका छन्' जनताको प्रतिनिधि बन्न चाहने व्यक्तिका आँखाले आफूलाई मत दिने नागरिकका आँखासँग भावनाले कुरा गर्नु पर्छ। साउती गर्नु पर्छ।  कालो चस्मा धारण गरेर तिमी जनताको मनभित्र पस्न सक्दैनौँ बालेन शाह!  जनताको नेता बन्नु छ भने पहिला तिम्रा आँखाका भावहरूलाई छोप्ने तिम्रो काली चस्मा खोल।'

वैशाख १६, २०७९ शुक्रबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।