जनतालाई खानेपानी दिन नसक्ने जनप्रतिनिधि नै फेरि उम्मेदवार !
सुर्खेतः २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू अघिल्लो पटक गरेको बाचा पूरा नै नगरी पुनः यस पटक पनि उम्मेदवार बनेका छन्।
गत स्थानीय तहको निर्वाचनमा सुर्खेतको चौकुने गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार भइरहँदा निर्मला राना र अध्यक्ष धिरबहादुर शाहीले घोषणापत्रको छैठौँ बुँदामा 'चौकुनेका सबै वडाहरूमा खानेपानीको पहुँच पुर्याउने', 'रेक्चा र पुच्मा लगायतका लेकाली भेगमा पहिलो चरणमा काम गर्ने' उल्लेख गरेका थिए।
यही घोषणा पत्र लिएर रेक्चा र पुच्मामा चर्का नारा लगाएर निर्वाचित पनि भए। तर चौकुने वडा नम्बर ३ को रेक्चा, पुच्मा, नाउली र चौकुने–१ को धनरास लगायतका ठाउँहरूमा अहिले पनि पानीको हाहाकार छ।
'यहाँ पानीको अभाव छ, खानेपानी समेत समस्या हुन्छ, काेही बाटाे हिँड्ने बटुवालाई पानी दिन समेत लाेभ लाग्छ', बिसीले भने, 'त्यही समस्याले यहाँका आधाभन्दा बढी मानिस गाउँबाट गुटु, बिजाैरा, नेपालगञ्ज र कैलाली बसाइँसराइ गरेका छन्।'
यी क्षेत्रका नागरिकहरू वर्षामा आकासको पानी, हिउँद र खडेरीमा तालमा जम्मा भएको पानी खान बाध्य छन्। त्यति मात्रै होइन सडक, विद्युत, विद्यालय र स्वास्थ्य संस्थाको पहुँच पनि छैन।
तर अहिले फेरि गाउँपालिकाको उपाध्यक्षमा निर्मला रानाले उम्मेदवारी दिएकी छिन्। यस पटक पनि उनको नारा 'खानेपानी' कै हो।
‘पहिलो चुनावमा हामीलाई घरघरमा पानी ल्याउँछौं भनेर आश्वासन दिए, हामीले पनि विश्वास गरेर जितायाैं', रेक्चाका नवराज जैसीले भने, ‘यो पल्ट पनि झुटा आश्वासन दिनेहरू नै उम्मेदवार बनेर भाेट मागिरहेका छन्। तर, हामीहरू कागज बनाएर यहाँ पानीको समस्या समाधान गर्ने विश्वासिलो मान्छेलाई चुन्नेछाैं।’
अहिले अवस्था कतिसम्म नाजुक छ भने- खडेरीले गाउँका २ वटा कुवा सुक्न थालेपछि प्रतिघर दुई गाग्री पानी वितरण गर्ने गरिएको छ। गाउँमा विवाह, पूजा र कसैकाे मृत्यु भए दुई घण्टा टाढाबाट पानी बाेकेर ल्याउनुपर्ने बाध्यता रहेकाे जैसीले बताए। उनका अनुसार गाउँमा कक्षा ५ सम्म विद्यालय छ। बालबालिकाले पनि घरबाटै पानी बाकेर जाने गर्छन्।
१७५ घरधुरी भएकाे रेक्चामा खानेपानीसँगै विद्यालय, स्वास्थ संस्था, विद्युत, सडककाे अभाव छ। कक्षा ६ माथि पढ्नलाई बालबालिकाहरू दुई घण्टा टाढाको गुटुबजार आउनुपर्ने बाध्य छ।
रेक्चाबासीकाे खानेपानी समस्या समाधान गर्नेभन्दा पनि मतदातालाई फकाएर चुनाव जित्नेतर्फ नेताहरूकाे ध्यान जाँदा समस्या भएको स्थानीय रतन बिसीले बताए। पानी कै अभावमा आधाभन्दा बढी घरधुरी बसाइँसराइ गरेकाे उनले बताए।
'यहाँ पानीको अभाव छ, खानेपानी समेत समस्या हुन्छ, काेही बाटाे हिँड्ने बटुवालाई पानी दिन समेत लाेभ लाग्छ', बिसीले भने, 'त्यही समस्याले यहाँका आधाभन्दा बढी मानिस गाउँबाट गुटु, बिजाैरा, नेपालगञ्ज र कैलाली बसाइँसराइ गरेका छन्।'
दाेहाेरिए पुराना उम्मेदवार
सुर्खेतको गुर्भाकोट नगरपालिका प्रमुखमा कांग्रेसका हस्त पुनले फेरि उम्मेदवारी दिएका छन्। वीरेन्द्रनगर नगरपालिकामा यसअघि उपप्रमुख निर्वाचित मोहनमाया ढकाल प्रमुख पदमा एमालेबाट उम्मेदवार बनेकी छन्।
नेकपा एमालेले कर्णाली प्रदेशका १६ स्थानीय तहमा पुराना प्रमुख र उपप्रमुख दोहोर्याएको छ। ८ स्थानीय तहमा माओवादीका नेताहरू दोहोरिएका छन्।
वैशाख १६, २०७९ शुक्रबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।