केशव स्थापितको वचाउँमा उत्रिँदै ओलीले भने' ‘चुनाव आयो कि मिटू!'

केशव स्थापितको वचाउँमा उत्रिँदै ओलीले भने' ‘चुनाव आयो कि मिटू!'

काठमाडौँ : यौन दुर्व्यवहारको आरोपबारे प्रश्न गर्नेलाई नै धम्क्याएका एमालेका काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितको पक्षमा पार्टी अध्यक्ष केपी शर्मा ओली नै उत्रिएका छन्।

बिहीबार काठमाडौँमा मेयरका उम्मेदवारहरुविच भएको एक अन्तर्क्रिया कार्यक्रममा यौन दुर्व्यवहारको आरोप लागेका स्थापितलाई एक सहभागीले ' तपाईँमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ। तपाइको कार्यालयमा आउँदा म सुरक्षित हुन्छु' भनेर प्रश्न सोधेकी थिइन्।

त्यसको उत्तर दिनुको साटो स्थापितले प्रश्नकर्तालाई उल्टो बडी सेमिङ गर्दै प्रमाण के छ भन्दै मञ्चमै अभद्र व्यवहार गरेका थिए। बिहीबारै एमालेको काठमाडौँ महानगर कमिटीको कार्यक्रममा बोल्दै ओलीले काठमाडौँको मेयरमा अनुभवी स्थापितलाई अघि सारेको तर चुनावका बेलामा चरित्रहत्याका कुरा अनि मिटूका कुरा आउने गरेको दाबी गरेका थिए।

‘चुनाव आयो कि मिटू! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरूमा होइन, महान् उद्देश्यतर्फ अघि बढेका छौँ’ उनले कार्यक्रममा भने। उनले महिला अस्मिताको रक्षा र महिलाको सम्मानमा एमाले जति कुनै दल सजग नभएको दाबी समेत गरेका थिए।

यौन दुर्व्यवहारबारे प्रश्न आएपछि स्थापित' प्रमाण के छ' भन्दै मञ्चमै जंङगिए

उनले चुनाव आयो कि मिटु भन्दै स्थापितको बचाऊँ गरे पनि यो आरोप उनी बागमती प्रदेशको मन्त्रिहुँदै आएको भने बिर्सिए। उनी भौतिक योजना मन्त्री रहेको बेलामा काठमाडौँ महानगरपालिकाकी एक पूर्व कर्मचारी र रिपब्लिका दैनिककी पूर्व पत्रकारले स्थापितले गरेको दुर्व्यवहारबारे सार्वजनिक गरेका थिए।

आरोप सार्वजनिक भएपछि छानबिनको माग बढिरहेको बेलामा उनलाई बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले बर्खास्त गरेका थिए। तर बर्खास्तीको कारण यौन दुर्व्यवहारको आरोप नदेखाई मुख्यमन्त्रीलाई दुर्व्यवहार गरेको दाबी गरिएको थियो।

वैशाख १५, २०७९ बिहीबार २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।