गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक वाइडबडी जहाज सफल अवतरण
बुटवल : भैरहवा स्थित मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले ५ः५५ बजे गौतमबुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर आएको उक्त वाईडबडि बिमानले भैरहवामा ४५ मिनेटमै अवतरण गरेको थियो।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठुलो वाइडबडी जहाजले सफल अवतरण गरेपछि यश क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल अवतरण गरेको बताए। वैशाख १ गते नै वाईडबडी जहाजले उडान गर्ने भनिएपनि प्राविधिक कारण देखाउँदै केही ढिलाइ भएको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्द प्रसाद दाहाल वाईडवडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए। विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्ता देखि संचालनमा आइसकेको छ। पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा परिणत गरिएको छ। अहिले आन्तारिक तर्फबाट उडानहरू नयाँ धावनमार्गबाटै भइरहेका छन्।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ। यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुदैछ। जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ। उसले सोमबार, बुधबार र शुक्रबार उडान भर्ने उनले बताए। त्यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि उडान भर्न चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ।
सन् २०१५ मा निर्माण सुरु भएको विमानस्थलको काम सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी ठेक्का लगाइएको थियो। बीचमा ठेकेदार कम्पनीको लापरबाही, नाकाबन्दी, मुअब्जा बितरणमा ढिलाइ, ठेकेदार बिचको झगडाले बिमानस्थलमा तिब्र गतिमा काम अघि बढ्न सकेन। पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो। एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको छ। अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै निर्माण प्रक्रिया अघि बढाइने छ। कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ।
यता विमानस्थललाई लक्षित गर्दै बुटवल भैरहवा क्षेत्रमा स्तरीय पाँच तारे होटलमा व्यवसायीहरूले धमाधम लगानी गरिरहेका छन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही का अध्यक्ष रामप्रसाद गौतमले विमानस्थललाई लक्षित गर्दै यश क्षेत्रमा ठुला र स्तरिय होटफलहरुमा लगानी बढेको बताए। तेस्रो मुलुकबाट लुम्बिनी आउने पर्यटक लाई यश क्षेत्रमा बसाई लम्बाउने गरी नयाँ नयाँ पर्यटकीय गन्तव्यहरु पनि बनिरहेका छन्।
वैशाख १५, २०७९ बिहीबार १९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।