गण्डकीमा सत्ता-गठबन्धन विरुद्ध बागी नै बागी

गण्डकीमा सत्ता-गठबन्धन विरुद्ध बागी नै बागी

पोखरा : सत्ता-गठबन्धनका पाँच दलले अफ्ना नेता/कार्यकर्तालाई स्थानीय तहको निर्वाचनमा तालमेल गर्न दिएको निर्देशनसँगै बढेको असन्तुष्टिले बागी उम्मेदवारको संख्या बढाएको छ।

स्थानीय नेता, कार्यकर्ताले गठबन्धन नगर्न राखेको अडान विपरीत केन्द्रीय नेतृत्वले आफ्नो स्वार्थ अनुकुल तालमेल गरेर अगाडि बढ्न निर्देशन गरेपछि गण्डकीका विभिन्न ठाउँमा गठबन्धनका उम्मेदवार विरुद्ध नै सबैभन्दा बढी बागी उम्मेदवारी परेको छ।

उम्मेदवारी मनोनयन गर्ने पहिलो दिन केही साना दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकोमा सोमबार मुख्य दलसहित अन्यले उम्मेदवारी दर्ता गराए। साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको भए पनि निर्वाचन आयोगको व्यवस्थापकीय कमजोरीका कारण गण्डकी प्रदेशका पोखरा लगायतका जिल्लाहरुमा मंगलबारसम्म पनि उम्मेदवारी दर्ता गरिएको थियो। 

केन्द्रीय नेतृत्वले स्थानीय कार्यकर्ताको भावना विपरीत गठबन्धन दलका उम्मेदवारबीच चुनावी तालमेल गरेपछि गण्डकीका पोखरा लगायत विभिन्न पालिकाहरुमा बागी उम्मेदवारी परेका छन्। विशेषगरी तालमेलको विरोधमा सत्ता गठबन्धनतको प्रमुख दल नेपाली कांग्रेसका नेता कार्यकर्ताले धेरै ठाउँमा बागी उम्मेदवारी दिएका छन्। 

भौगालिक हिसाबमा देशकै ठूलो पोखरा महानगरपालिकाको मेयर पद गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीको भागमा परेपछि असन्तुष्टि जनाउँदै कांग्रेसका ३ जना जिल्लास्तरका नेताहरुले मेयरमा बागी उम्मेदवारी दिएका छन्। 

गठबन्धनको विरोध गर्दै पोखरा महानगरको प्रमुख पदमा नेपाली कांग्रेस कास्कीका पूर्वसचिव नन्दुप्रसाद अधिकारी, पूर्वकोषाध्यक्ष ऋषि सापकोटा र पोखरा महनगरका पूर्व सभापति विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्।

तीनै जनाले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनीहरुले कांग्रेसले आफ्नो मूल्य–मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई अन्य दललाइ भोट दिन बाध्य पारेकाले स्वतन्त्रमा उमेवारी दिएको बताएका छन्। 

त्यसैगरी पोखरा महानगरपालिका वडानं २६ को अध्यक्षमा नेकपा एमालेका नेता रामकृष्ण जिसीले पनि बागी उमेदवारी दर्ता गराएका छन्। उनले यसअघि भएका चुनावहरुमा लोकप्रिय मात ल्याउँदा समेत पार्टीले जिम्मेवारी नदिएकाले बागी उम्मेदवारी दिएको बताए। 

खोस्दै टिकट दिँदै
एमालेका गत शनिबार पोखरा महानरपालिकाको मेयरमा दीपक पौडेललाई मेयरको टिकट दिने निर्णय गर्यो। त्यसको केही समयमै आफ्नै पार्टीका कार्यकर्ताहरूले पुरानो भिडियो सामाजिक सञ्जालमा राखेर बदनाम गरे। सोमबार पार्टीले उनको टिकट खोसेर प्रदेश सांसद कृष्ण बहादुर थापालाई दियो।

कास्कीमा एमालेभित्र गुट चलाइरहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीबीचको लडाइँका कारण पौडेललाई बद्नाम गरियो। अन्तत: पार्टीले खगराज निकटका थापालाई उम्मेदवार बनायो। पार्टीले मेयरमा उमेदवार बनाएको बधाई खाइरहेका पौडेलको थापाको र्यालीमा हिँड्न बाध्य भए।

कांग्रेसले पोखराको उपमेयरमा सोमबार बिहान सुरेन्द्रमान विजुक्छेलाई टिकट दिने निर्णय गरेको थियो। तर कांग्रेसमा झाँगिएको गुटगत राजनीतिका कारण उनलाई दिएको टिकट खोसेर महिला नेतृ कोपिला रानाभाटलाई दिइयो। मनोनयन चलेपछि उपमेयरमा उम्मेदवारीको चिठ्ठा परेको खबर पाएपछि उम्मेदवारी दर्ता गर्न रानाभाट हस्याँङफस्याँङ गर्दै निकै ढिलो निर्वाचन कार्यालय पुगेकी थिइन्।

नवलपरासीमा पोखराकै रोग
त्यसैगरी पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन्। कांग्रेसले नरपालिकाको प्रमुखमा महेन्द्रप्रसाद पोख्रेललाई उम्मेदवार बनाएपछि तीन जनाले उक्त निर्णय विरुद्ध उम्मेदवारी दिएका हुन्।

बागी उम्मेदवारी दिनेमा कावासोती–१ का वडाध्यक्ष नारायणप्रसाद पन्त, बालकृष्ण पाण्डे र कमलराज गुरौ रहेका छन्। यसअघि पनि वडाअध्यक्ष रहेका पन्तले पुनः उम्मेदवार बन्न नपाएकाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

गठबन्धनका तर्फबाट कावासोतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।

यसैगरी हुप्सेकोट गाउँपालिकामा पार्टीका उमेदवार लक्ष्मीदेवी पाण्डेविरुद्ध कांग्रेसकै पालिकाका सभापति बलबहादुर रानाले बागी उम्मेदवारी दिएका छन्।

त्यसैगरी बागलुङमा माओवादी केन्द्रबाट ०७४ स्थानीय निर्वाचनमा विजयी ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले पनि बागी उम्मेदवारी दिएका छन्। गठबन्धनमध्येको माओवादीकै भागमा परेको ताराखोलामा पार्टीले धनबहादुर विकलाई उम्मेदवार बनाएपछि घर्तीले आफ्नै पार्टीका उम्मेदवार विरुद्ध उम्मेददारी दर्ता गराएका हुन्। 

अवसरवादीको च्याँखेदाउ
नेपाल महिला संघ बागलुङकी सचिव उषा पौडेलले कांग्रेसबाट उम्मेदवार बन्न नपाएपछि एमालेमा प्रवेश गरेर उम्मेदवार बनेकी छिन्। उनले निकै रस्साकस्की गर्दा पनि कांग्रेसबाट उम्मेदवार बन्न नपाएपछि कांग्रेस परित्यग गरेकै दिन एमालेबाट जैमिनी नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनेकी छिन्।

पारिवारिक मोहमा जोशी
तनहुँमा पनि स्वातन्त्रका नाममा बागी उम्मेदवारी परेको छ। तनहुँको  ब्यास नगरपालिकामा कारबाहीमा परेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले एमालेसँग मिलेर आफ्नो छोरालाई स्वतन्त्र उम्मेदवार बनाएका छन्।

उनले गत संसदीय निर्वाचनमा कांग्रेस विरष्ठ नेता रामचन्द्र पौडेललाई हराउन बागी उम्मेदवारी दिएपछि पार्टीले कारबाही गरेको थियो। आफू विरुद्धको त्यो कारबाही फुकुवा गर्न पार्टीमा दवाब दिदाँसमेत वास्ता नगरेपछि जोशीले छोरा दिपकराज जोशीलाई व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनाएका छन्।

जोशीले ब्यासमा कांग्रेसका उम्मेदवार बैकुन्ठ न्यौपानेका विरुद्ध एमालेसँग मिलेर आफ्नो छोरा दिपकराजलाई मेयर र एमालेलाई उपमेयर दिएर चुनावी तालमेल गरेका छन्।

त्यसैगरी तनहुँको भानु नगरपालिकाको मेयरमा पनि एमाले नेता हरिबहादुर पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीबाट आफूले पाइसकेको टिकट परिवारवादका कारण खोसिएको आरोप लगाउँदै उनले बागी उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी एमालेका शमशेरबहादुर लम्सालले भानु–१२ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

असन्तुष्टिका नाममा जोविन्दराजलाई सहयोग
तनहुँ कांग्रेसका नेताहरु गाविन्दराजको जालोमा पर्न थालेका छन्। विगतदेखि नै गोविन्दराजको निकटका नेताका रुपमा चिनिँदै आएका नेताहरुले चुनावको मुखमा आएर पार्टीका उम्मेदवार विरुद्ध असन्तुष्टि जनाउँदै जोशीका छोरालाई चुनाव जिताउन सहज वातावरण बनाउनका लागि पार्टीबाट राजीनामा दिएका छन्। 

तनहुँ कांग्रेसका नेता विश्व बास्तोला, महेश्वर भट्टराई, चुडामणि दाहाल, दीपेन्द्र पौडेल, इन्जिनियर दीर्घ थापा, ऋषिराम महत, बाबुराम बगाले लगायतले राजीनामा दिएका हुन्। उनीहरुले पार्टी सभापति जितप्रकाश आलेसमक्ष पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा बुझाएका छन्। 

राजीनामा दिएका बास्तोला तनहुँ कांग्रेसको पूर्व जिल्ला सचिव एवं हालको संगठन विभाग प्रमुख हुन्। त्यस्तै भट्टराई कांग्रेस पूर्वक्षेत्रीय सभापति दाहाल, पौडेल, ई.थापा, महत र बगाले पार्टीका विभिन्न समितिमा रहेर काम गरेका व्यक्ति हुन्।

गठबन्धनले दलित र महिला पछाडि
गठबनधन दलबीचको चुनावी तालमेलमा रस्साकस्सी चल्दा स्थानीय तहमा दलित र महिलाको उम्मेदवारी कम देखिएको छ। देशकै ठूलो पोखरा महानगरपालिकाको उपमेयरमा गठबन्धनबाट कोपिला रानाभाट र एमालेका तर्फबाट मन्जुदेवी गुरुङ उम्मेदवार बने पनि वडाहरुमा भने दलित तथा महिलाको संख्या न्यून देखिएको छ। पोखरा महानगरका ३३ वटा वडामा एमालेबाट तीन जना महिलालाई मात्र वडा अध्यक्षको उम्मेदवार बनाइएको छ। 

पालिका प्रमुखमा महिला तथा दलितको उपस्थिति नगन्य मात्रामा छ। कास्कीमा पोखरा बाहेकका अन्य पालिको प्रमुख र उपप्रमुखमा दलित समुदायबाट उम्मेदवारी दर्ता गरेका छैनन्। कास्कीका ५ वटै स्थानीय तहको प्रमुखमा ५३ जना र उपप्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ। 

त्यसमध्ये अधिकांश पालिका महिला र दलितको उम्मेदवारी शून्यप्रायः छ। उपप्रमुखको भागमा मात्रै महिला परेका छन्। महिला र दलितलाई उपेक्षा गर्नेमा ठूला दलहरु नै देखिएका छन्।

पोखरा महानगरको प्रमुखमा २८ जनाले उम्मेदवारी दिएकोमा ४ जना महिला र एक जनामात्रै दलित समुदायका उम्मेदवार छन्। 

महानगर प्रमुखका लागि दलित समुदायबाट देशभक्त समाज पार्टीबाट रनबहादुर दमैले मात्रै उम्मेदवारी दिएका छन्। महानगरको उपप्रमुखमा ११ जनाले उम्मेदवारी दिएकामध्ये महिला ७ जना रहेका छन्। दलितका तर्फबाट ३ जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिको अध्यक्षमा एक जनामात्रै महिलाका उम्मेदवारी परेको छ। उपप्रमुखमा ४ जना महिला उमेदवार रहेका छन्।

माछापुच्छ्रेमा ४ जना महिलाले उम्मेदवारी दिएका छन्। मादीको प्रमुखमा एक जना महिला र उपप्रमुखमा ३ जनाको आवेदन परेको छ। रुपाको प्रमुखमा एकजना महिलाको उम्मेदवारी परेको छ। 

त्यस्तै बागलुङका १० पालिकामा १ जना मात्रै महिलाको प्रमुखमा उम्मेदवारी परेको छ । गठबन्धनबाट बडिगाड गाउँपालिकाको अध्यक्षमा गण्डकी थापा अधिकारीको मात्रै उम्मेदवारी परेको हो।

त्यस्तै मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको उपाध्यक्षमा जिल्ला समन्वय समिति प्रमुख छिरिङ ल्हामो गुरुङले मात्र एमालेको तर्फबाट उम्मेदवारी दिएकी छन्। कानुनले बाध्यकारी बनाएको पदमा बाहेक महिला र दलित समुदायले उम्मेदवारी दर्ता गरेका छैनन्।

वैशाख १५, २०७९ बिहीबार १७:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।