सडकको पर्खालमा बजारियो प्रमोद खरेल चढेको कार, ४५ मिनेटपछि होसमा आए

सडकको पर्खालमा बजारियो प्रमोद खरेल चढेको कार, ४५ मिनेटपछि होसमा आए

काठमाडौंः गायक प्रमोद खरेल सवार कार दुर्घटनामा परेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू सवार कार दुर्घटनामा परेको बताएका हुन्।

उनी काठमाडौंमा रेकर्डिङ सकेर हिजो साँझ फ्लाइटबाट नेपालगञ्ज पुगेका थिए। त्यहाँबाट उनी दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि होटलतर्फ जाँदै गर्दा राति १ बजे दुर्घटनामा परेका हुन्।

उनका अनुसार उनी सवार कार सडकको पर्खालमा बजारिएको हो। अर्धनिद्रामै उनको होस त्यहीँ गुमेको र अस्पताल पुर्याइएको ४५ मिनेटपछि बल्ल होस आएको उनले बताएका छन्। उनले लेखेका छन्- 'दुर्घटनापश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसउँदा मात्र झण्डै ४५ मिनेटपछि मेरो होस आएछ। त्यसपछि पनि करिब ५/७ मिनट कहाँबाट आएँ कहाँ छु पत्तै पाइनँ। गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएछ। सँगैका दुई आयोजक भाइहरू रक्ताम्य देख्दा मन झनै डरायो।'

उनी रातिको ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आइपुगेका छन्। काठमाडौं आएपश्चात पनि उनले स्वास्थ्य जाँच गराएका छन्। जाँचमा बाहिरी चोट भए पनि भित्री चोट नदेखिएको उनले बताएका छन्। 

प्रमोदले अबको ३/४ दिन सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको बताएका छन्।

वैशाख १५, २०७९ बिहीबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।