शक्तिको आडमा परिवारका सदस्यलाई उम्मेदवार बनाए गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्मले

शक्तिको आडमा परिवारका सदस्यलाई उम्मेदवार बनाए गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्मले

बुटवलः आउँदो स्थानीय तहको निर्वाचनका लागि विभिन्न पार्टीका शक्तिशाली नेताहरूले आफ्नो परिवारका सदस्य र नातागोतालाई उम्मेदवार बनाएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणका सहोदर साईँला भाइ रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकाको प्रमुखमा उम्मेदवार बनेका छन्। ०७४ सालको निर्वाचनमा समेत उनी उम्मेदवार बनेका थिए। त्यो बेला बालकृष्ण खाँणले परिवारवाद लादेको भन्दै कांग्रेसका पुराना नेता कृष्ण पौडेलले स्वतन्त्र उम्मेदवारी समेत दिएका थिए। 

अहिले पुनः रामकृष्ण नै नगर प्रमुखमा उम्मेदवार बनेपछि पार्टीमा परिवारवाद लादेको आरोप गृहमन्त्री खाँणमाथि लगाउन थालिएको छ।

हुन त नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति समेत रहेका रामकृष्णलाई त्यो पद पनि दाइ बालकृष्णकै जोडबलमा प्राप्त भएको आरोप कांग्रेसकै नेताहरूले लगाउँछन्। 

कांग्रेसको जिल्ला अधिवेशनले विभिन्न जिल्लामा मतदान गराएर सभापति चुने पनि बालकृष्ण खाँणले भने रुपन्देही बसेर भाइलाई सभापतिमा निविर्रोध बनाएका थिए।

यता एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलमाथि नातावादको आरोप लगाउँदै आएका एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीले निर्वाचनमा आफ्नै परिवारभित्रका र नातेदारलाई उम्मेदावर बनाउन सफल भएका छन्। गठबन्धनको भागबण्डामा आफ्नै दिदी, भाइलाई विभिन्न पालिकामा उम्मेदवार बनाउन सफल भएका छन् उनी। 

मेटमणिकी दिदी शान्ति चौधरीले गढवा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी छिन्। भाइ पुरन चौधरीले गढवा–७ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सिचाईँमन्त्री दीपक गिरीका आफन्त दुई जना पनि उम्मेदवार बनेका छन्। उनका दाइ गेहेन्द्र गिरी तुलसीपुर उपमहानगरपालिकाको गठबन्धनबाट मेयरमा उम्मेदवार बनेका छन्। त्यस्तै काका शम्भु गिरी दंगिसरण गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका छन्।

लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले श्रीमती सीता आचार्यलाई रोल्पाको वडा सदस्यको उम्मेदवार बनाएका छन्। जिल्ला समन्वयमा लैजाने गरी वडा सदस्यमा उम्मेदवारी दिइएको नेताहरू बताउँछन्।

एकीकृत समाजवादी रुपन्देहीका जिल्ला इञ्चार्ज रहेका बालकृष्ण चापागाईँ आफैँ लाभको पद भन्दै वडा सदस्यमा उम्मेदवार बनेका छन्। बुटवल वडा नं. ४ को वडा सदस्यको उम्मेदवार बनेका उनको आगामी लक्ष्य जिल्ला समन्वय समितिको प्रमुख रहेको बताइएको छ।

अर्थमन्त्री जनार्दन शर्माका आफन्त लक्ष्मीप्रसाद शर्मा बर्दियाको मधुवन नगरपालिकाको नगरप्रमुखमा उम्मेदवार बनेका छन्। जनार्दन शर्माका मामाका छोरा लक्ष्मीलाई जबरजस्ती मेयरमा उम्मेदवार उठाएपछि त्यहाँका निवर्तमान मेयर गणेशबहादुर क्षेत्रीले पार्टी कार्यालयमा समेत तालाबन्दी गरेका छन्। 

यता आफ्नै परिवारभित्रकालाई उम्मेदवार बनाउने प्रयास गरे पनि वर्षमान पुन भने असफल रहे। रोल्पा नगरपालिकामा नेता पुनकी बहिनी र ज्वाइँले मेयरमा दावी गरेका थिए। हाल उपमेयर रहकी मनकुमारी घर्तीले मेयरमा दावी गर्नु स्वाभाविक भए पनि उनका श्रीमान भानबहादुर घर्तीले पनि मेयरमा दावी गर्दा पुनको आलोचना भयो। 

अन्ततः मेयरमा वर्षमानकी बहिनी–ज्वाइँसहित अन्य ३ जनाको नाम सिफारिस भयो। तर दुवैले टिकट पाएनन्।

बुटवल उपमहानगरमा एमालेबाट मेयरका उम्मदेवार बनेका बाबुराम भट्टराई पनि राष्ट्रिय सभा सदस्य एमाले नेता गाेपाल भट्टराईका सहाेदर भाइ हुन्।

बाम विश्लेषक ऋषि आजातले पछिल्लो समय राजनीतिमा व्यक्तिगत स्वार्थ हावी हुँदा विधिको सर्वोच्चता कमजोर भएको र व्यक्ति हावी हुँदा परिवारवाद हावी भएको स्पष्ट पारे। 

‘कतिपयले रामकृष्ण खाँणलाई दाइको नामले पनि व्याख्या गरेका छन्। म त्यो त मान्दिनँ। किनकी उनको आफ्नै राजनीतिमा ठूलो योगदान छ। तर कुरा खाँणको मात्र होइन समग्रमा राजनीतिमा परिवारवाद, नातावादले जरा गाड्न थालेको छ। यसलाई निमिट्यान्न नपारे पार्टीको विधि पद्दती कमजोर हुन्छ’, उनले भने।

उनले माओवादीमा प्रचण्डले छोरी-बुहारीलाई जसरी पनि स्थापित गर्ने काममा लागेकाले अहिले त्यही सिको तल्लो पंक्तिले पनि गरेको बताए। 

‘पानी र बाढी माथिबाट तल आउने हो, यो परिवारवाद, नातावाद पनि भएको त्यही हो। यसमा शंकर पोखरेल समेत कम छैनन्। विष्णु पौडेलले भने अझै राजनीतिमा परिवारवाद लादेका छैनन्’, उनले भने।

व्यक्तिले आफ्नो स्वेच्छाकारी बन्द नगर्ने र पार्टी व्यक्तिगत भए विधि पद्दति कमजोर हुने उनको भनाई छ।

वैशाख १५, २०७९ बिहीबार ०७:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।