वीरेन्द्रनगरको मेयरमा कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताको डर, एमालेलाई कांग्रेसकै भर

वीरेन्द्रनगरको मेयरमा कांग्रेसलाई आफ्नै नेता कार्यकर्ताको डर, एमालेलाई कांग्रेसकै भर

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयर पदका लागि १७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रदेशको राजधानी समेत भएकोले यहाँको नेतृत्वमा कसले बाजी मार्ला ? भन्ने कौतुहलता आम नागरिकमा छ। सत्तारुढ गठबन्धनबीच तालमेल गरेर निर्वाचनमा जाने सहमति भए पनि भागबण्डा नमिलेपछि अन्तिममा दलहरु एक्ला एक्लै उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन्।

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मोहनमाया ढकाल, काँग्रेसबाट उपेन्द्र खड्का, माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धना शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मुकुन्दश्याम गिरीले उम्मेदवारी दिएका छन्। 

ढकाल वीरेन्द्रनगरकी निवर्तमान उपप्रमुख हुन् भने खड्का नेपाली कांग्रेस वीरेन्द्रनगरका सभापति हुन्। गिरी पार्टीको जिल्ला स्थित नेतृत्वमा छन्। भने  शाही समाजवादीको कर्णाली प्रदेश सदस्य हुन्। यस्तै गिरी राप्रापाका केन्द्रीय उपाध्यक्ष र तत्कालीन वीरेन्द्रनगरको प्रधानपञ्च र मेयर भइसकेका व्यक्ति हुन्।  

यस्तै जनता समाजवादी पार्टीबाट गगन ब। सारु, राष्ट्रिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेमकिपाबाट गोविन्दनाथ योगी, राष्ट्रिय नागरिक पार्टीबाट टीकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकन्ठ भुसालले मेयरमा उम्मेदवारी दिएका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेश प्रसाद काफ्ले, स्वतन्त्रबाट फस्ट बहादुर हमाल, चिन्तामणि शर्मा,  भिमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमा नन्द पङ्गालीले मेयरमा उम्मेदवारी दिएका छन्।

यस्तो छ जोड घटाउ

२०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगरको मेयरमा नेपाली काँग्रेसका देवकुमार सुवेदी र उपमेयरमा एमालेकी ढकालले जितेका थिए। २०७४ को निर्वाचनमा नेपाली काँग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्धन्द्धी एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरेका थिए। सुवेदीले शर्मालाई ५०६ मतान्तरले पराजित गरेका थिए। यस्तै उपप्रमुखमा नेकपा एमालेकी मोहनमाया ढकाल १३ हजार ८९९  मत ल्याएर उपमेयर बनिन्।

अहिले नेकपा एमाले विभाजन भएका कारण पनि काँग्रेसले यो पालिकामा आफ्नो जित सहज हुने आकलन गर्दै सत्तारुढ गठबन्धनबीच भागबण्डाका लागि चासो देखाएको छैन। अहिलेसम्म पनि सत्तागठबन्धनबिच सहकार्यको सहमति सुर्खेतमा हुन सकेको छैन। २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थियो

माओवादीका रत्नबहादुर गाहा मगरले मेयरमा ५ हजार २३७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहालले १ हजार ८९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ईश्वरकुमार श्रेष्ठले ५५७, नेपाल मजदुर किसान पार्टीका शेरबहादुर शाहीले १६६, राष्ट्रिय जनमोर्चाका गोविन्दप्रसाद सुवेदीले १८८ मत प्राप्त गरेका थिए।

१६ वटा वडा भएको वीरेन्द्रनगरमा ६ वटा वडा कांग्रेसले जितेको थियो भने ९ वटा वडा एमाले र एउटा वडा माओवादीले जितेको थियो। त्यो समयमा वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ६३७ मतदाता थिए। अहिले ३१ हजार ६७९ पुरुष र ३५ हजार ३७७ महिला गरी जम्मा  ६७ हजार ५६ मतदाता छन् । यस्तै २७ मतदान स्थल र ७५ वटा मतदान केन्द्र रहेका छन्। २०७४ मा नेपाली काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भएको वीरेन्द्रनगरमा यो पटक पनि काँग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

कांग्रेसलाई इतर, एमालेलाई समाजवादीको डर

२०७४ सालको निर्वाचन परिणामको तुलनामा अहिले एमाले विभाजन भइसकेको र नेपाली काँग्रेसभित्र समेत गुटबन्दी चर्किएको हुँदा पनि निर्वाचनमा दलहरूको मतमा अस्वाभाविक फेरबदल हुन सक्ने राजनीतिक वृत्तमा चर्चा चलेको छ। वीरेन्द्रनगरको मेयरमा काँग्रेसले संस्थापन पक्षका उपेन्द्र खड्कालाई उम्मेदवार बनाएकोमा इत्तर पक्ष असन्तुष्ट देखिएको छ।

जिल्लामा काँग्रेसका केन्द्रीय उपसभापति पुर्णबहादुर खड्का र निवर्तमान केन्द्रीय सदस्य हृदयरामी थानी गरी दुई पक्षमा काँग्रेस विभाजित छ। यसअघि नै थानी पक्षले उम्मेदवारीमा ४० प्रतिशत हिस्सा माग गरेको थियो। सोही हिस्सा नमिल्ने भएपछि आफ्नो समुहबाट मेयरमा सिफारिस भएका नारायण कोइराला र भुपेन्द्र खत्रीलाई इतर पक्षले सिफारिस फिर्ता लिन पठाएको थियो।

अहिले वीरेन्द्रनगरमा इतर समूहको प्रतिनिधित्व शून्यजस्तै बनेको छ। इतर समूहले अब चुनावमा फरक किसिमको माहौल बनाएर असहयोग गर्न सक्ने संस्थापन पक्षले संका मानेको छ। यस्तै एमालेभित्र पनि पार्टीकै कार्यकर्ता एवं सुर्खेतका व्यवसायी चिन्तामणि शर्माले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीका कारण एमालेको केही भोट काटिने आकलन गरिएको छ। एमालेबाटै विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले पनि मतहरू काट्ने छ।

वैशाख १४, २०७९ बुधबार २०:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।