वीरेन्द्रनगरबाट चितुवाको छालासहित तीन जना पक्राउ

वीरेन्द्रनगरबाट चितुवाको छालासहित तीन जना पक्राउ

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरबाट अवैध चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुधबार दिउँसो २ बजे वीरेन्द्रनगर–१० बसपार्कबाट पक्राउ गरेको हो। उनीहरूलाई बसपार्क स्थित सुनिता होटेल एण्ड लजको दोस्रो तलाको ४ नम्बर कोठाबाट प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–८ हाल सुर्खेतको वीरेन्द्रनगर–१२ का ४० वर्षीय दलबहादुर बुढा, वीरेन्द्रनगर–१४ का ४१ वर्षीय भरतबहादुर बुढा र २३ वर्षीय अम्मरबहादुर थापा रहेका छन्। उनीहरूलाई शंकास्पद अवस्थामा बसेको फेला पारेको र शरीर तथा होटलको कोठाको खानतलासी गर्दा कोठाको टेबलमा रहेको जेब्रा झोला भित्र टाउको देखी पुच्छर सम्म ९ फिट लम्बाई भएको चितुवाको छाला भेटिएको प्रहरीले जनाएको छ। 

उनीहरूलाई पक्राऊ  गरी आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा पठाइएको छ। अवैध चितुवाको छाला जुम्लाको सिँजा गाउँपालिकाबाट दलबहादुर बुढाले बुधबार बिहान मात्रै वीरेन्द्रनगरमा ल्याएर आएको प्रहरीले जनाएको छ। 

वैशाख १४, २०७९ बुधबार १८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।