दक्षिण भारतीय फिल्मले नेपालमा भित्र्याएको बहस : समस्या कन्टेन्ट हो कि भाषा ?

दक्षिण भारतीय फिल्मले नेपालमा भित्र्याएको बहस : समस्या कन्टेन्ट हो कि भाषा  ?

काठमाडौँ : सरकारी नियमको अस्पष्टता, सानो बजार र लगानी। कलाकार मोहन निरौलाले विदेशी फिल्म रोक्नुपर्ने कारण औँल्याउँदै एक कार्यक्रममा भने' यदि विदेशी फिल्म रोक्न राज्य असक्षम भयो भने नेपाली फिल्म उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्ने स्थितिमा छैन।'

उनको धारणा सुनेर कार्यक्रममा सहभागी कलाकारहरूले ताली बजाए।

'कला स्वतन्त्र हुनुपर्छ तर यसले हाम्रा कला संस्कृतिलाई सत्यानाश पार्यो। मैनालीले भने, म संस्कृति बचाउ राष्ट्रिय अभियानको अभियन्ता पनि हो, विदेशी फिल्मले हाम्रा संस्कार, संस्कृति त ध्वस्तै पार्यो। त्यसैले पनि विदेशी फिल्म नेपालमा प्रदर्शन गर्न रोक्नै पर्छ।'

मैनालीले माग त राखे तर उनको माग विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य राष्ट्रले कार्यान्वयन गर्न सक्ने अवस्थाको माग भने हैन। नेपाल पनि यसको सदस्य राष्ट्र हो जसले स्वतन्त्र व्यापारको अवधारणा स्वीकार गर्छ।

डब चलाऊँ तर नेपाली भाषामा

चलचित्र विकास बोर्डका सदस्य समेत रहेका निर्माता अर्जुन कुमार नेपालमा पहिल्यैदेखि डब फिल्म चलाउन बन्देज रहेको दाबी गर्छन्। उनले फिल्मसम्बन्धी नियमावलीमा डब फिल्म चलाउन नपाउने लेखिएको बताउँछन्। अहिले त्यसैको कार्यान्वयनको माग गरिएको उनको तर्क छ।

हलमा डब फिल्म रोक्ने माग गर्दा विदेशी फिल्म रोक्न लागेको भन्दै बोर्डलाई लाञ्छना लगाउने काम भएको उनको गुनासो छ।

उनले भने,'हामीले विदेशी फिल्मको विरोध गरेको हैन। विदेशी डब फिल्मको विरोध गरेको हौँ' उनले भने ,'यदि विदेशी फिल्मलाई हलमा नेपाली भाषाको डबमा चलाउँछौ भने त्यसलाई कसैले रोक्दैन तर साउथ मात्रै हैन, चाइनिज भाषाको फिल्म अङ्ग्रेजीमा डब गरिएको छ भने त्यो पनि चलाउन पाइँदैन भन्न खोजको हो।'

अर्जुनकुमार आफै विदेशी फिल्म नेपालमा लगाउनुपर्छ भन्ने वक्ता हुन्। तर विदेशी डब फिल्मको भने विरोधी। उनको फिल्म चपली हाइट-३ को समयमा डब फिल्म नलगाउन धेरै आग्रह गरेका थिए। तर रोकिएन।

'कतिपयले नेपाल विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को सदस्य राष्ट्र भएकाले विदेशी डब चलचित्र प्रदर्शनमा रोक्न नपाउने बताउँछन् तर त्यसको आफ्नै सम्झौताहरू छन्,' उनको दाबी छ।

कुनै पनि देशमा अर्काको भाषामा बनेको डब फिल्म लगाउने चलन नभएको उनको तर्क छ। विदेशी फिल्म लगाउँदैनौँ भन्नु डब्लुटिओको सम्झौता विपरीत हुने तर अर्काको भाषाको डब लगाउँदिन भन्न पाउने अधिकार रहेको उनको तर्क छ।

डबमा हैन सोचमा समस्या

नेपालमा साउथका डब फिल्महरूले रेकर्ड ब्रेक गरे। झिँगा धपाएर बसेका हलहरू रातको समयमा समेत हल खोल्नुपर्ने अवस्था आयो। यसले नेपाली फिल्म निर्माता मारमा परे। तर केही वितरक अनि हल सञ्चालक भने फाइदामा गए।

अनि नेपाली फिल्मलाई कम सो टाइम दिएको भन्दै हल व्यवसायीहरू विरुद्ध नेपाली फिल्म निर्माताहरू खनिए। नेपाली फिल्मलाई दर्शकले माया गर्दागर्दै पनि सो टाइम घटाएको उनीहरूको दाबी आयो।

तर साउथको क्रेजले ब्ल्याकमा टिकट बेच्नेदेखि एउटा फिल्मको नाम दिएर अर्कैको टिकट काट्नेसम्मको दुर्लभ दृश्य देखिए हलहरूमा।

'पुष्पा', 'आरआरआर' र 'केजीएफले नेपालबाट करोडौँ कमाए। यसरी युट्युबमा समेटिएको साउथ इन्डियाका फिल्मले नेपालमा फिल्म बजारमा प्रभाव बढाए। तर फिल्मलाई बन्देज लगाउनु नै समस्याको समाधान नभएको तर्क गर्छन् फिल्म समीक्षक तथा लेखक सामीप्यराज तिमल्सिना।

उनले भने,'हामी पहिले आफू बलियो बनौँ, अनि मात्रै विदेशी फिल्मतिर जाऊँ।'

'नेपाली फिल्मका दर्शक नयाँ हैनन् पुरानै हुन्,' तिमल्सिनाले भने,'पहिले राजेश हमालले हे गर्दा हुटिङ गर्ने दर्शक अहिले हमालले भन्दा ठुलो स्वरले हे गर्ने साउथतिर आकर्षित भएका हुन्।'

तिमल्सिनाका अनुसार हलमा डब फिल्म रोकेर यसले झनै नकारात्मक असर पार्छ। अहिले खुलिरहेका हलहरू बन्द हुँदै जान्छन् र नेपाली फिल्मको बजार झनै सानो हुन्छ। दश वर्षसम्म युट्युबमा हेरेर आफ्नो मानेका स्टारहरूलाई बन्देज लगाउँदा यसले उल्टो प्रभाव पार्ने उनको भनाई छ।

मन्त्रालय भन्छ : विदेशी फिल्मले भाषा संस्कारमा प्रभाव पार्यो

डब फिल्ममा बन्देज लगाउने विषयमा चलचित्र विकास बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको अर्जुन कुमारको भनाई छ। तर मन्त्रालयले भने विदेशी फिल्म बन्देजको कुरा गरिरहेको छ।

मन्त्रालयका प्रवक्ता विनोद प्रकाश सिंहले भाषा संस्कृतिमा अतिक्रमण गरेको महसुस गर्दै नीति परिमार्जनका विषयमा छलफल भइरहेको बताए।

उनले भने,'चलचित्र बोर्डसँगै फिल्मकर्मीहरूले समेत विदेशी फिल्मको सजिलो आयातले नेपाली फिल्म अप्ठ्यारोमा परेको गुनासो गरेका छन्। नयाँ बजेटमा नै यो कुराको सम्बोधन हुनेछ।'

फिल्मकर्मी विदेशी फिल्मले भाषा, संस्कार र संकृतिमा प्रभाव पारेको भन्दै पत्र बोकेर आएका र बोर्डले समेत विदेशी डब फिल्म रोक्नुपर्ने र स्वदेशी फिल्मलाई प्राथमिकतामा राख्नुपर्ने पत्र दिएपछि पुराना नीति-नियमको अध्ययन गरेर नयाँ बजेटमा परिवर्तन भएर आउने बताए।

तामाङ, नेपाल भाषा विदेशी कि नेपाली ?

नेपाली भाषा नेपालभर चल्ने राष्ट्रिय भाषा हो। तर नेपालमा अन्य भाषा समूह पनि छन्। तामाङ, मैथिली, नेपाल भाषा, भोट बर्मेली भाषा लगायतका टन्नै भाषा समूह छन् नेपालमा। तर ती सबैलाई नेपालको संविधानले नेपालको भाषाको रूपमा स्वीकार गरेको छ।

यति बेला चर्केको विषय विदेशी फिल्म हैन, विदेशी भाषाको डब भएर नेपालमा प्रदर्शनका लागि आउने फिल्म भएको चलचित्रकर्मीहरूको दाबी सुनिन्छ। उनीहरूको परिभाषामा हिन्दी भाषामा बनेको फिल्म स्वीकार्य छ। तर हिन्दी भाषामा डब भएर आउने तेलगु लगायतका भाषाका फिल्म रोक्नुपर्छ।

तर मद्रासी होस् या तेलगु वा भोजपुरी नै हुन् ती भारतको संविधानले हिन्दी भाषा स्वीकार गरेझैँ संविधानले स्वीकार गरेको भाषा हो। अरू त अरू भारतमा नेपाली भाषामा बन्ने फिल्मलाई समेत आफ्नै भाषाको फिल्मको रूपमा भारतको संविधानले स्वीकार गर्छ। हिन्दी फिल्म लगाउन पाउने तर हिन्दीमा डब भएर आउने दक्षिण भारतीय फिल्म लगाउन नपाउने नेपाली चलचित्रकर्मीको मागले उनीहरूका लागि ती गैर भारतीय भाषाझैँ देखिए।

चिनिया भाषामा बनेको फिल्म हिन्दीमा डब भएर भारतीय वितरकले नेपालमा रिलिज गर्नु र तेलगु भाषामा भारतमा बनेको फिल्म हिन्दीमा डब गरेर भारतीय वितरकले नेपालमा ल्याउनुमा पक्कै भिन्नता छ नै। तर हाम्रा फिल्मकर्मीको तर्क अनुसार चिनिया र तेलगु भाषा एकै हो भन्ने झैँ कुतर्क सुनिन्छ।

यो भनेको नेपाली भाषा नेपालको हो तर तामाङ, नेपाल भाषा अनि मैथिली भाषा नेपाली भाषा हैन भने झैँ तर्क भएन र?

भारतमै बदलिँदै छ दृश्य

पूर्वी भारतमा दक्षिण भारतीय फिल्मको बढ्दो प्रभाव देखेर बलिउड नै डराइरहेका छन्। अहिले उनीहरू बहस गरिरहेका छन् बलिउडले बनाएको फिल्म साउथमा किन चल्दैनन् अनि साउथका फिल्म बलिउडका फिल्म चल्ने स्थानमा किन चल्छन्।

उत्तर उनीहरूले पनि पाएका छैनन्। बलिउडले साउथकै फिल्म अनि सङ्गीत सारेर राज गर्दै आएको थियो। अहिले सिधै सक्कली फिल्मै चल्न थालेपछि उनीहरूको त्यो धन्दामाथि आक्रमण भयो। त्यसको उदाहरण हो साहिद कपुरको अभिनय रहेको फिल्म जर्सी। साउथबाट रिमेक गरेको फिल्म थियो त्यो। साउथकै केजिएफसँग भिड्ने हिम्मत गरेनन् र रिलिज डेट नै सारे।

साउथको फिल्म रिमेक गरेर सुपरहिट भएका टन्नै फिल्म छन् बलिउडमा। पुराना फिल्ममा बावर्चीदेखि थ्रीइडिएटसम्म, नयाँमा कबिरसिंहदेखि गजनीसम्म साउथका रिमेकै हुन्। मूल भारतीय भाषाका दर्शकमाझ हिन्दीमा डब भएको दक्षिण भारतीय फिल्मको पहुँच पुगेपछि अब रिमेकको धन्दा चौपट भएपछि सलमान खान जस्ता स्टारले सोध्न थालेका छन्' उनीहरूको फिल्म हाम्रो क्षेत्रमा चल्छ तर हाम्रो फिल्म उनीहरूको क्षेत्रमा किन चल्दैन।

नेपालको हालत पनि उस्तै

हिजो साउथका कलाकारहरुको सपना हुन्थ्यो बलिउडका फिल्ममा अभिनय गर्ने। अहिले बलिउडका कलाकारहरु साउथका फिल्ममा अभिनय गर्ने सपना देख्छन्। यही हो परिवर्तन। र यो परिवर्तन ल्याएको कन्टेन्टले हो भाषाले हैन। तर नेपाली चलचित्रकर्मीहरु भाषाको रटानमा छन्। 

नेपाली फिल्मलाई माया गरौँ भन्दै 'ए मेरो हजुर-४' नेपालको हलमा 'केजिएफ' सँग भिड्न तयार हुँदा यसको निर्माणपक्षले राष्ट्रवादको नारा अगाडि सार्यो। तर जब फिल्म रिलिज भयो यसका दर्जनौँ सिनहरू हिन्दी अनि साउथका फिल्मबाट फ्रेमटुफ्रेम चोरी गरेको पुष्टि भयो।

यती मात्रै हैन 'ए मेरो हजुर-३' को हालत पनि यस्तै देखियो फ्रेमटुफ्रेम चोरी। यस्ता धेरै नेपाली फिल्म छन् जसको पटकथा हिन्दी वा दक्षिण भारतीय भाषामा अनुवाद गर्ने हो भने राष्ट्रवाद नाङै बन्छ।

हिन्दी भाषाको फिल्मको बलियो प्रभाव छ नै नेपाली बजारमा। त्योसँगै दक्षिण भारतीय फिल्मले समेत प्रभाव विस्तार गरेपछि सट अनि डायलग जस्ताको त्यस्तै राखेर नाम मात्र नेपाली राख्ने फिल्म निर्माताहरूको धन्दामाथि ठुलो धक्का पुग्ने नै भयो।

सुधार गर्नुपर्ने फिल्मको कन्टेन्टमा बहस हुनुको साटो डबमा बहस चर्किनुको एक कारण यो पनि पो हो कि ?

'तीन सय करोडमा बनेको फिल्म र तीन करोडमा बनेको फिल्म सँगै भिड्न नसक्लान्, केही नीति जरुरी छ,' फिल्म समीक्षक सामीप्य भन्छन्'तर रोक्ने या छेक्ने या बन्देज गर्ने भन्ने शब्दसँग मेरो आपत्ति छ।'

वैशाख १४, २०७९ बुधबार १७:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।