पोखरामा पूर्वसहकर्मीबीच रोचक भिडन्त : थापाको विवादास्पद छवि, आचार्यलाई अन्तर्घातको डर

पोखरामा पूर्वसहकर्मीबीच रोचक भिडन्त : थापाको विवादास्पद छवि, आचार्यलाई अन्तर्घातको डर

पोखरा : उम्मेदवारको मनोनयन सकिएसँगै देशकै सबैभन्दा ठूलो महानगरपालिका पोखरामा चुनावी रौनक बढेको छ। नेकपा एमाले र त्यही पार्टीबाट फुटेर बनेको एकीकृत समाजवादीका उम्मेदवारको भिडन्त थप रोचक हुने देखिन्छ पोखरामा।

सत्ता–गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य र एमालेबाट कृष्णबहादुर थापा चुनावी मैदानमा उत्रिएका छन्। एमालेका थापा प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उम्मेदवार बनेका छन्। 

एमालेले पहिले दीपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएपछि पार्टीमा आन्तरिक द्वन्द्व चर्किएको छ। एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङ पक्षका पौडेललाई दिइएको टिकट खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट थापालाई दिएपछि एमालेमा आन्तरिक कलह बढेको हो। 

पौडेलले टिकट पाएको सार्वजनिक भएलगत्तै वर्षौं पुरानो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेर पौडेलको बदनाम गराएको पृथ्बी सुब्बा पक्षको आरोप छ। यो घटनापछि पार्टी भित्रकै दुई गुटका कारण चुनावमा अन्तर्घात हुने डरमा एमालेका नेता/कार्यकर्ता छन्।

अर्कोतर्फ, एमालेमा तीन दशकभन्दा बढी रहेर विभिन्न जिम्मेवारी निर्वाह गरेका गठबन्धनका उम्मेदवार धनराजको चुनाव चिह्न कलममा भोट हाल्ने हुन् कि भन्ने चिन्ता एमाले वृत्तमा छ। 

एमाले उम्मेदवार थापा र समाजवादीका उम्मेदवार आचार्य एमालेमा रहेर लामो समय सँगै काम गरे। एमाले विभाजन हुँदा धनराज आचार्य, कृष्ण थापा, रविन्द्र अधिकारी, पुन्य पौडेल लगायतका नेता मालेमा आबद्ध भएका थिए। पछि फेरि पार्टी एकीकरण भएपछि सबै एमालेमै फर्किएका थिए। 

एमालेले पहिले दीपक पौडेललाई दिएको टिकट खोसेर थापालाई दिएपछि पार्टीमा आन्तरिक द्वन्द्व चर्किएको छ। एमाले उपमहासचिव पृथ्बी सुब्बा गुरुङ पक्षका पौडेललाई दिइएको टिकट खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट थापालाई दिएपछि एमालेमा आन्तरिक कलह बढेको हो। 

आचार्य र थापा पार्टीका अन्य जिम्मेवारीहरुमा समेत सहकार्य गर्दै आएका थिए। तर, अहिले उनै पूर्वसहकर्मीबीच पोखरा महानगरमा चुनावी भिडन्त हुँदैछ।

आचार्यले पाँच दलीय गठबन्धन नै आफ्नो जितको आधार भएको बताएका छन्। उनले पोखरा महानगरपालिकामा १५ देखि २० हजार मतान्तरले चुनाव जित्ने दावी समेत गरेका छन्।

एमालेका थापाले २०७४ को निर्वाचनको भन्दा ठूलो मतान्तरले जित्ने दावी गरेका छन्। उनले २०५४ सालमा तात्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएको बेला आफूले बनाएका योजनाहरु पूरा नभएकाले तिनै योजनालाई मूर्तरुप दिएर महानगरलाई समृद्ध बनाउन चाहेको बताए। 

थापाको विवादास्पद छवि
ठूलो रस्साकस्सीबीच उम्मेदवार बनेका थापा पोखरा क्षेत्रका विभिन्न घटनामा विवादित छवि भएका व्यक्ति हुन्। पूर्वमेयर समेत रहेका थापाले आफ्नो कार्यकालमा पोखरामा विकासभन्दा पनि महानगरमा सयौं कार्यकर्तालाई भर्ती गरेको आरोप लाग्ने गरेको छ।

थापाले भर्ती गरेका कार्यकर्तासँग सेटिङ मिलाएर जनप्रतिनिधि नभएको अवस्थामा उनले लाभ लिएको आरोप समेत लाग्ने गरेको छ। 

यस्तै पोखरा–१६, बाटुलेचौरमा दलित समुदायमाथि सार्वजनिक स्थलमा बनेको क्रियापुत्री भवन प्रयोग गर्न नदिएको घटनामा क्षेत्री समुदायको पक्षमा सांसद थापाले २०७७ वैशाख २४ गते विज्ञप्ति नै निकालेका थिए। नेता थापाको यो विज्ञप्तिको चौतर्फी विरोध भएको थियो। प्रदेश सांसद रहेका थापालाई कारबाहीको माग गर्दै संसदीय दलमा नै उजुरी परेको थियो।

जातीय विभेदको विषयमा पीडक पक्षको पक्षपोषण गरेको भन्दै पार्टी भित्रैबाट कारबाहीको माग समेत गरिएको थियो।

दुबईमा निधन भएका पोखरा–१६, बाटुलेचौरका सम्मरबहादुर सुनारको किरिया गर्न सार्वजनिक किरियापुत्री घर दिन बञ्चित गरिएको विषयमा उजुरी परेपछि केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको अवस्थामा थापाले हिरासतमा रहेका व्यक्तिहरुलाई विनासर्त रिहाइ गर्न विज्ञप्ति जारी गरेका थिए।

त्यसपछि एमालेकै जनजातिहरुले थापाले जातीय विभेदका घट्नालाई समर्थन गरेको भन्दै उनीविरुद्ध स्थानीय अगुवा मोहन सुनारले प्रहरीमा किटानी जाहेरी समेत दिएका थिए। त्यसपछि थापाले गल्ती भएको भन्दै माफी मागेका थिए।

अहिले उनै थापालाई एमालेले पोखराको मेयरमा उठाएपछि दलित अगुवाले उनलाई हराउन अभियान चलाउन थालेका छन्। 

गठबन्धनलाई अन्तर्घातको डर
नेपाली कांग्रेसका स्थानीयस्तरका नेता/कार्यकर्ता गठबन्धन गरेर पोखराको मेयर अन्य दललाई दिन चाहँदैनथे। केन्द्रले भागबन्डाका क्रममा पोखराको मेयर समाजवादीलाई दिने हल्ला चलेपछि दर्जनौं नेता/कार्यकर्ता काठमाडौं पुगेर सभापति शेरबहादुर देउवा समक्ष मेयर आफ्नो पार्टीले पाउनुपर्ने अडान राखे। तर, देउवाले पोखराको चुनाव जित्ने आधार र उम्मेदवार छनौटमै प्रश्न उठाएर कार्यकर्तालाई फर्काइदिए।

त्यसपछि पनि स्थानीय स्तरमा लामो समयदेखि नेता/कार्यकर्ताले दबाबका लागि पार्टी कार्यालयमा तालाबन्दीदेखि विभिन्न विरोधका कार्यक्रम गरिरहे। कहिले बैठकस्थलमै तालमाबन्दी गरेर जिल्लास्तरका नेता÷कार्यकर्तालाइ थुन्नेदेखि गठबन्धनका विरुद्धमा विज्ञप्ति जारी गर्ने लगायतका कार्य गर्दै आएका थिए। अन्नतः पार्टीले एकीकृत समाजवादीलाई मेयरको टिकट दिएसँगै कांग्रेसभित्र धेरै नेता/कार्यकर्ता रुष्ट छन्। 

बाहिर गठबन्धन भने पनि भित्र मन नमिलेकाले अन्तर्घात हुने डर गठबन्धनका दललाई छ। गठबन्धनका तर्फबाट उम्मेदवार घोषणा भए पनि दलबीच चिडिएको मनहरु शान्त भइनसकेकाले अहिलेको अवस्थामा कार्यकर्ताबाट अन्तर्घात हुने डरमा उम्मेदवारहरु छन्। 

यदि कांग्रेसका तर्फबाट बागी उम्मेदवार बनेका तीन जनाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा गठबन्धनका उम्मेदवार आचार्यले चुनाव जित्न कठिन हुने देखिन्छ। कांग्रेस कार्यकर्ताले आफ्नै पार्टीका स्वातन्त्रलाइ भोट खन्याउने अवस्था आएमा कांग्रेससँगको गठबन्धनका भरमा निर्वाचन जित्ने योजना बनाएका आचार्यका योजना विफल हुनसक्छ। 

गठबन्धनलाई कांग्रेसका बागीको पनि डर 
कांग्रेसका तीन जनाले बागी उम्मेदवारी दिएका छन्। गठबन्धनको विरोध गर्दै नेपाली कांग्रेस कास्कीका पूर्वसचिव नन्दुप्रसाद अधिकारी, पूर्वकोषाध्यक्ष ऋषि सापकोटा र पोखरा महनगरका पूर्व सभापति विमलबहादुर कार्कीले बागी उम्मेदवारी दिएका छन्।

तीनै जनाले कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनीहरुले कांग्रेसले आफ्नो मूल्य–मान्यता, सिद्धान्त विपरीत कार्यकर्तालाई अन्य दलहरुलाइ भोट दिन बध्य पारेकाले स्वतन्त्रमा उम्मेवारी दिएको बताएका छन। 

यदि कांग्रेसका तर्फबाट बागी उम्मेदवार बनेका तीन जनाले उम्मेदवारी फिर्ता नलिएको अवस्थामा गठबन्धनका उम्मेदवार आचार्यले चुनाव जित्न कठिन हुने देखिन्छ। कांग्रेस कार्यकर्ताले आफ्नै पार्टीका स्वातन्त्रलाइ भोट खन्याउने अवस्था आएमा कांग्रेससँगको गठबन्धनका भरमा निर्वाचन जित्ने योजना बनाएका आचार्यका योजना विफल हुनसक्छ। 

यस्तो छ अंक गणित 
२०७४ को स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा २०७४ मा १ लाख ६८ हजार ६८ मतदाता थिए। त्यसमध्ये २०७४ को स्थानीय निर्वाचनमा पोखराको मेयरमा एमालेका मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर बिजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। जिसीले कांग्रेस उम्मेदवार रामजी कुँवरलाई साढे १३ हजार मतले पराजित गरेका थिए। अहिले महानगरमा ३९ हजार ६ सय ४५ मतदाता थपिएर २ लाख ७ हजार ७ सय १२ मतदाता पुगेका छन्।

उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन्।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्। माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकालले उपमेयरमा ८ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।

गत निर्वाचनमा पोखरा महानगरका ३३ वडा मध्ये एमालेले २२ र कांग्रेसले ११ वडाध्यक्षमा विजयी हासिल गरेको थियो।

कांग्रेसका वागी उमेदवार सिरोज विजय कोइरालाले उपमेयरमा २ हजार १ सय ९९ मत ल्याएका थिए। राप्रपाले मेयरमा २ हजार २७२ र उपमेयरमा २ हजार ८४० मत ल्याएको थियो। संघीय समाजवादी फोरमले मेयरमा ३ हजार १७० र उपमेयरमा १ हजार ३०३ मत ल्याएको थियो।

वैशाख १४, २०७९ बुधबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।