नेपाल भित्रियो भूकम्पप्रतिरोधी नयाँ प्रविधि 'सिस्मिक ड्याम्पर'

नेपाल भित्रियो भूकम्पप्रतिरोधी नयाँ प्रविधि 'सिस्मिक ड्याम्पर'

काठमाडौं : नक्सालस्थित होटल म्यारियट नजिकै मुख्य सडकमा एउटा अग्लो भवन निर्माणाधीन अवस्थामा छ। १७ तलासम्म देखिने सो भवनमा अगाडिबाट हेर्दा ढल निकास गर्ने पाइपजस्ता डन्डीहरु जडान गरिएको देखिन्छ।

त्यति अग्लो भवनमा राखिएको नयाँ चिज के हुन सक्ला? भवनको भार थेग्न राखिएको फलामे डन्डी वा भवन बनाउँदा/बनाउँदै लड्न सक्छ भनेर लगाइएको टेको। धेरैले यस्तै यस्तै अड्कल काट्छन्। तर अधिकांशको अड्कलबाजी मिल्दैन। प्रविधिसँग जानकार हुनेले भने नयाँ प्रविधि हुनसक्ने अनुमान लगाउँछन्। 

नभन्दै त्यो नयाँ प्रविधि हो,  सिस्मिक ड्याम्पर। नेपालमा पहिलो पटक भित्रिएको नयाँ प्रविधि सिस्मिक ड्याम्पर नक्सालस्थित निर्माणाधीन भवनमा प्रयोग गरिएको छ। भूकम्पप्रतिरोधी प्रविधिको रुपमा सिस्मिक ड्याम्परलाई सो भवनमा प्रयोग गरिएको हो। 

पुनर्निर्माण हुन बाँकी भग्नावशेष र निर्माणाधीन पुनर्निर्माण कार्यले मात्र झल्यास्स भूकम्पको याद दिलाउने गरे पनि २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पलाई यतिबेला अधिकांशले बिर्सिसकेका छन्।

भूकम्पबाट सुरक्षित रहने विश्वासले पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न भेगमा अधिकांशले फलामे डन्डी र प्रिफ्याबबाट थुप्रै भवन बनाइरहेको पनि देखिन्छ। कंक्रिट, फलामे डन्डी, प्रिफ्याब, पिल्लरवाला भवनहरुको बीचमा सिस्मिक ड्याम्पर प्रविधिसहित उभिन लागेको सो भवन पहिलो हो। 

अमेरिकी डिजाइन कम्पनी मियामोटो इन्टरनेसनले १७ तले होटल भवनमा सिस्मिक ड्याम्पर अन्तर्गत फ्लुइड भिस्कस ड्याम्परको डिजाइन गरेको हो। मियामोटो कम्पनीका सदस्य टोली सिनियर इन्जिनियर डा. एच. किट मियामोटो, सिनियर इन्जिनियर डा. अमिर एस.जे गिलानी र अच्युत खनालको सहयोगमा नेपालका सिनियर स्ट्रक्चरल इन्जिनियर रवि शर्मा भण्डारीले सो ड्याम्परको डिजाइन गरेका हुन्।

स्ट्रक्चरल इन्जिनियरको रुपमा करिब १२ वर्ष लामो अनुभव सँगालेका ई. भण्डारी भूकम्पप्रतिरोधी भवनको लागि ड्याम्पर प्रविधिको प्रयोग निकै प्रभावकारी हुने विश्वास गर्छन्। 

‘नेपालजस्तो भूकम्प जोखिमयुक्त मुलुकमा बन्ने ठूला भवन संरचनाको लागि ड्याम्पर निकै प्रभावकारी प्रविधि हो। ड्याम्पर आफैंमा भूकम्प प्रुफ नभए पनि यसले हुनसक्ने क्षतिलाई भने निकै कम गर्छ।’

के हो सिस्मिक ड्याम्पर? 
इन्जिनियरिङमा भइरहेका अधिकांश नयाँ प्रविधिहरु विश्वयुद्धबाट आएका अवधारणा हुन्। सिस्मिक ड्याम्पर मुख्यतया रक्षा प्रविधिमा प्रयोग गरिने उपकरण हो। 

‘नेपालजस्तो भूकम्प जोखिमयुक्त मुलुकमा बन्ने ठूला भवन संरचनाको लागि ड्याम्पर निकै प्रभावकारी प्रविधि हो। ड्याम्पर आफैंमा भूकम्प प्रुफ नभए पनि यसले हुनसक्ने क्षतिलाई भने निकै कम गर्छ।’

ड्याम्पको अर्थ कुनै पनि वस्तुको शक्तिलाई नियन्त्रणमा लिनु या कम गर्नु हो। ई. भण्डारीकाअनुसार ड्याम्प गर्ने भनेको तलबाट आएको बललाई ड्याम्पमार्फत नियन्त्रणमा लिने हो। कुनै पनि चिजबाट उत्पन्न वास्तविक एनर्जीलाई रोकेर पठाउने र असहज हुन नदिने तत्व नै ड्याम्प हो। सामान्य अर्थमा भूकम्पको समयमा जमिन मुनिबाट आएको सबै धक्का भवनमा नपठाएर रोक्नु नै सिस्मिक ड्याम्प हो। 

ड्याम्परमा सिलिकन नामक तरल (लिक्विड) पदार्थ हालिएको हुन्छ। सो पदार्थमा तापक्रमलाई धेरैबेरसम्म सोसेर (एबजर्ब) राख्न सक्ने क्षमता हुन्छ। जब भूकम्पबाट आएको धक्का वा बल लिक्विडमा परिणत हुन्छ तर लिक्विडले धक्कालाई तापक्रममा परिणत गर्छ र तापक्रममार्फत हावामा परिणत गर्छ।

त्यसले पूरै भवन संरचनामा क्षति पुग्न नदिने उनी बताउँछन्। उनी थप्छन्, ‘सिस्मिक ड्याम्पर प्रयोग गर्दा क्षति नै नहुने भन्ने हुँदैन तर तुलनात्मक रुपमा निकै कम क्षति हुन्छ। जस्तो भूकम्पको धक्काले ड्याम्पर विनाको भवनमा भार अन्यत्र सारिदिन्छ तर ड्याम्पर सहितको भवनले धक्का जहाँ भेट्यो त्यहीँ मारिदिन्छ। र, भवनमा बल कम पर्दाबित्तिकै जनधन दुवैलाई खतराबाट बताउन सकिन्छ। जति मुमेन्ट कम भयो त्यति नै क्षतिको सम्भावना न्यून हुन्छ।’

स्टिलबाट बन्ने ड्याम्पर विभिन्न किसिमका हुन्छन्। सिस्मिक ड्याम्परअन्तर्गत फ्लुइड भिस्कस ड्याम, फ्रिक्सन ड्याम्पर, वाल ड्याम्पर आदि हुन्छन्। यीमध्ये फ्लुइड भिस्कस ड्याम्पर भूकम्पका लागि सबैभन्दा प्रभावकारी मानिन्छ। नक्सालस्थित प्रयोग भएको ड्याम्पर पनि फ्लुइड भिस्कस ड्याम्पर हो। जुन अमेरिकी कम्पनी टेलर डिभाइसले उत्पादन गरेको हो। 

ड्याम्पर केमा प्रयोग हुन्छ? 
विशेषगरी भूकम्पको समयमा आउने बलिया धक्काहरु रोक्न र सम्भावित क्षति कम गर्न सिस्मिक ड्याम्पर प्रयोग गरिन्छ। ड्याम्पर प्रविधि सबैभन्दा बढी जापान, इटाली, अमेरिका र चिलिमा प्रयोग गरिन्छ। भूकम्प प्रतिरोधी मात्र नभई चर्को हावाहुरी प्रतिरोधी समेत भएकोले भूकम्प र हावाहुरी जोखिमयुक्त मुलुकमा ड्याम्पर प्रविधि बढी प्रयोग भएको पाइन्छ। 

भूकम्प प्रतिरोधी भवनबाहेक पुल, बन्दुक, मोटरसाइकल, कार, डटपेन आदिमा समेत ड्याम्पर प्रयोग हुन्छ। बन्दुक चलाउँदा बन्दुकको गोली अगाडि हुत्तिनु र पछाडि धकेलिनु, मोटरबाइक रोक्दा झट्का लागेजस्तो हुनु ड्याम्परकै कारण भएको ई. शर्मा बताउँछन्।

‘सामान्य भाषामा ड्याम्पर एउटा स्प्रिङ जस्तै हो। एनर्जी क्रियटिङ र डिसिपिलेन गर्ने डिभाइस मात्र हो,’ उनी भन्छन्, ‘बाइक र कारमा भएजस्तै भवनमा पनि त्यही हो। यदि ड्याम्प भएन भने चाहे भवन होस् या कारभित्र एउटै आकारमा नबसी धेरै नै डिफर्मेसन हुन्छ। भूकम्पको समयमा भवनभित्र भएका मानिसलाई असहज हुन्छ। तर ड्याम्पर भयो भने हामीलाई पुग्ने धक्काबारे थोरै मात्र थाहा हुन्छ।’ 

आवश्यकता (रिक्वायरमेन्ट) अनुसार ड्याम्पर राख्ने गरिन्छ। ड्याम्परले भवनमा कुनै पनि असर नगरी भूकम्प वा चर्को हावाहुरी चल्दा भवनलाई सुरक्षित राख्ने गर्दछ। ड्याम्पर राख्ने क्रममा सबैभन्दा तल फाउन्डेसन हुन्छ। त्यसमाथि विभिन्न फ्रेमहरु बनाइन्छ र ड्याम्पर जडान गरिन्छ। ड्यापर विभिन्न तरिकाले भवनको परिधिमा राखिन्छ। कतिपय ठाउँमा सिधा र तेर्सो तरिकाले पनि राख्ने गरिन्छ। 

यद्यपि, ड्याम्पर राख्नुअघि जाँच र ज्ञान आवश्यक हुने ई. शर्मा बताउँछन्। ‘ड्याम्पर राख्नुअघि विभिन्न तरिकाले जाँच गर्नुपर्छ। जाँचको क्रममा विभिन्न विकल्पहरु हेर्नुपर्छ अनि मात्र जुन स्थानमा सबैभन्दा उचित र सबैभन्दा प्रभावकारी पोजिसनअनुसार ड्याम्पर त्यहि राख्नुपर्छ,’ उनी भन्छन्, ‘नक्सालको त्यो भवनमा एउटा मात्र ड्याम्पर राख्नको लागि मैले कम्तीमा २० पटकसम्म मैले जाँच गरेको छु। जस्तो नक्सालको भवनमा विभिन्न स्थानमा राखिएको छ। भवनको भित्री तहभन्दा बाहिरपट्टि राख्दा बढी प्रभावकारी हुन्छ। रेट्रोफिटिङ तरिकाले पनि ड्याम्पर राखिन्छ। यति भएपछि भूकम्पको धक्काले भवन हल्लिँदा ड्याम्परले तान्छ। र क्षति हुन दिँदैन।’ 

सिस्मिक ड्याम्पर प्रविधि नेपालमा कसरी भित्रियो? 
जावलाखेलस्थित अमेरिकी कम्पनी मियामोटो इन्टरनेसनलमार्फत सिस्मिक ड्याम्पर नेपाल भित्रिएको ई. शर्माले जनाएका छन्। ‘मियामोटोले नेपालमा उच्च बलियो संरचना बनाउने प्रस्ताव गरेका थिए,’ उनी सुनाउँछन्,  ‘त्यसको लागि के गर्न सकिन्छ त भन्दा नेपालजस्तो भूकम्प जोखिमयुक्त मुलुकमा चाँहि ड्याम्पर प्रयोग गर्ने भन्ने भयो। र, त्यही कम्पनी मातहत नेपालमा ड्याम्पर प्रविधि भित्र्याइयो। नक्सालको निर्माणाधीन भवनको डिजाइन उनले आजभन्दा करिब ६ वर्षअघि नै गरेको थिए।’ 

‘सामान्य भाषामा ड्याम्पर एउटा स्प्रिङ जस्तै हो। एनर्जी क्रियटिङ र डिसिपिलेन गर्ने डिभाइस मात्र हो,’ उनी भन्छन्, ‘बाइक र कारमा भएजस्तै भवनमा पनि त्यही हो। यदि ड्याम्प भएन भने चाहे भवन होस् या कारभित्र एउटै आकारमा नबसी धेरै नै डिफर्मेसन हुन्छ। भूकम्पको समयमा भवनभित्र भएका मानिसलाई असहज हुन्छ। तर ड्याम्पर भयो भने हामीलाई पुग्ने धक्काबारे थोरै मात्र थाहा हुन्छ।’ 

नक्सालको निर्माणाधीन भवनमा करिब ४५ स्थान र चौथो तलासम्म ड्याम्पर जडान गरिएको छ। स्टिलबाट बनेको ड्याम्पर अमेरिकाबाट ल्याइन्छ भने बाँकी सामग्री भारतबाट आयात गरिन्छ र नेपालमै बनाइन्छ।

नेपालमा र नेपालबाट ड्याम्परको डिजाइन गर्ने पहिलो व्यक्तिको रुपमा चिनिने ई. शर्माले यसअघि नेपालकै लागि भनेर पाँच वटा भवनको लागि ड्याम्परको डिजाइन गरेका थिए। दुर्भाग्यवस ती डिजाइनले मूर्त रुप नलिए पनि उनले अमेरिका, चिली र हैटीको लागि गरेका अधिकांश ड्याम्पर डिजाइनले भने मूर्त रुप पाएका छन्।

यद्यपि, ई. शर्मा आफूले गरेको कार्यप्रति सन्तुष्टि जनाउँछन्। भन्छन्, ‘अन्य डिजाइन नबने पनि नक्सालको बन्दैछ। म त्यसमा निकै खुसी छु। कमसेकम नेपालले भूकम्पप्रतिरोधी आधुनिक प्रविधि भित्र्याएको छ। यदि मियामोटोले यो प्रविधि नेपालमा नभित्र्याएको भए सायद मैले ड्याम्पर डिजाइनको यो अवसर नै पाउने थिइनँ। जब थाहा पाएँ अनि आफ्नो दक्षता देखाउन सफल भएँ। हैटी, अमेरिका, चिलीमा बैंक र होटेल भवनको लागि १५ भन्दा बढी ड्याम्पर डिजाइन गरेको छु। तर कति बने, कति बनेनन् ठ्याक्कै थाहा छैन।’ 

ड्याम्परलाई होचो अग्लो, आवासीय, होटल, बैंक, सार्वजनिक भवन आदिमा पनि प्रयोग गर्न सकिन्छ। ड्याम्पर प्रविधि निकै महँगो हुने हुँदा नेपालजस्तो मुलुकका अधिकांशले यो प्रविधि प्रयोग गर्न नसक्ने उनको भनाइ छ।     

‘सानो-तिनो भवनमा ड्याम्पर राख्दा महँगो पर्न जान्छ। किनकी हाम्रोमा आवासीय भवनको मूल्य १ करोडको छ र त्यसमा १ करोडको ड्याम्पर राख्यो भने तुलनात्मक रुपमा महँगो पर्यो,’ उनी थप्छन्, ‘जस्तो नक्सालको त्यो भवनको मूल्य करिब १ अर्ब लगानीको छ भने त्यसमा १० करोडकै ड्याम्पर राख्दा पनि १०  प्रतिशत मात्र बढी मूल्य पर्न गयो। र, त्यही १० प्रतिशतले सुरक्षित पनि त भयो। त्यसैले सानोभन्दा ठूलो भवनमा फाइदा हुन्छ।’

वैशाख १४, २०७९ बुधबार ०७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।