निर्मात्री बन्दै गरेकी अभिनेत्री निताको फिल्ममा साउथको भिलियन प्रदीप अनुबन्ध

निर्मात्री बन्दै गरेकी अभिनेत्री निताको फिल्ममा साउथको भिलियन प्रदीप अनुबन्ध

काठमाडौँ : साउथ इन्डियन फिल्मले नेपाली बजार कब्जा गर्न थालेपछि अब नेपाली निर्माताहरू पनि साउथमा प्रभाव पारेका भारतीय कलाकारप्रति आकर्षित हुन थालेका छन्। नेपाली दर्शकले युट्युबमा आएको साउथका फिल्म हेरेको आधारमा ठुला हलहरूमा समेत कलाकारहरूलाई स्वीकार गरिसकेका छन्।

'पुष्पा', 'आरआरआर' अनि 'केजिएफ-२' को धमाकेदार ब्यापारपछि फिल्म निर्माता समेत साउथमा प्रभाव पारेका कलाकार खोज्न थालेका छन्। यसमा अगाडि बढेकी छिन् अभिनेत्री हुँदै फिल्म निर्मात्री बन्ने तरखरमा रहेकी निता ढुङ्गाना।

ज्योतिष हुँदै अभिनयमा प्रवेश गरेका हरिहर अधिकारीसँग मिलेर उनले फिल्म  ‘ह्रस्व दीर्घ’ निर्माण गर्ने घोषणा गरिसकेकी छिन्। त्यही फिल्ममा उनले साउथमा समेत प्रभाव रहेको बलिउड अभिनेता प्रदीप राम सिंह रावतलाई अनुबन्ध गरेकी छिन्।

उनले फेसबुकको आफ्नो अकाउन्टमा लेख्दै आफ्नो फिल्ममा रावत अनुबन्ध भएको जानकारी सार्वजनिक गरेकी हुन्। फेसबुक पेजमा उनले सोमबार प्रदीप रावतलाई आफ्नो नयाँ फिल्ममा स्वागत गर्न पाउँदा उत्साहित रहेको लेखेकी छिन्।

प्रदीप बलिउडको सुपर हिट फिल्म 'गजनी'का भिलियन हुन्। उनले साउथ इन्डियन र भोजपुरी फिल्ममा समेत अभिनय गर्ने गरेका छन्। नेपाली र भारतीय कलाकार मिसाएर बनाउने तयारी गरिएको फिल्ममा सरोज खनाल समेत अनुबन्ध भएका छन्। 

वैशाख १३, २०७९ मंगलबार २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।