समाजवादी रुपन्देहीका जिल्ला ईन्चार्ज डा.चापागाईँले दिए वडा सदस्यमा उम्मेदवारी
बुटवल : एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला ईन्चार्ज डाक्टर बालकृष्ण चापागाईँले बुटवल उपमहानगरपालिका–४ को वडा सदस्यमा उम्मेदवारी दिएका छन्। पत्रकार महासंघ रुपन्देहीको दुई कार्यकाल अध्यक्ष समेत भइसकेको चापागाईँले वडा सदस्यमा उम्मेदवारी दिएका हुन।
एमालेमा रहँदा ०५४ तथा ०७४ सालमा बुटवलको मेयरमा दाबी गरेका चापागाईँले अन्ततः एकीकृत समाजवादी वडा सदस्यमा उम्मेदवारी दिएका छन्। सोमबार अन्तिम समयमा उनले उम्मेदवारी दिएको निर्वाचन कार्यालय बुटवलले जनाएको छ। उनको दर्ता नं. ७ हो।
डा. चापागाईँले ०७४ सालको निर्वाचनमा एमालेबाट मेयरको टिकट नपाएपछि एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध पत्रकार सम्मेलन गरेर लागेका थिए। लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधि गरेका चापागाईँले राससका पूर्व कार्यकारी अध्यक्ष समेत भइसकेको व्यक्ति हुन। त्यस्तै प्रेस चौतारीको पूर्वकेन्द्रीय अध्यक्ष भएका चापागाईँले हाल नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार समेत छन्।
गठबन्धनको क्रममा बुटवलको मेयर समाजवादीले पाए मेयर बन्ने आकांक्षा राखेका डा. चापागाईँले अन्ततः वडा सदस्यमै उम्मेदवारी दिएका हुन। चापागाईँले बुटवलको दैनिक पत्र दैनिकको प्रधान सम्पादक समेत हुन।
लामो समय पत्रकारितामा रहेका उनी नयाँ अनुभवका लागि सदस्यमा उम्मेदवारी दिएको बताए। त्यसो त चापागाईँले गठबन्धन दलको तर्फबाट लुम्बिनी प्रदेशका २ प्रादेशिक अस्पताल सहित जिल्ला अस्पतालका अध्यक्षको भागबन्डामा बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा अध्यक्ष दाबी गरेका थिए। कांग्रेस निकटकाले अध्यक्ष पाउनुपर्ने अडान कांग्रेसले राखेपछि अहिले सम्म प्रादेशिक अस्पतालको अध्यक्ष अझै नियुक्त हुन सकेको छैन।
वैशाख १३, २०७९ मंगलबार १७:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।