फोटो पत्रकारको लेन्सबाट देखिएका दृश्य प्रदर्शनीमा
काठमाडौँ : फोटो पत्रकार क्लब नेपालले लेन्सबाट फोटो पत्रकारिता विषयक फोटो प्रदर्शनी आयोजना गरेको छ। ९५ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजित फोटो प्रदर्शनीमा फोटो पत्रकारहरूले फोटो पत्रकारिता गर्दा भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटा राखिएको छ।
फोटो प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सयुक्त रूपमा उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले फोटो सत्य, तथ्य र निष्पक्ष हुनुपर्ने भन्दै सबै पत्रकारहरूले पत्रकारको मूल्य मान्यता र आचारसंहिता अनुसार काम गर्नुपर्ने बताए। उनले फोटो पत्रकारहरूको सुरक्षालाई काउन्सिलले उच्च प्राथमिकतामा राख्ने र जोखिम न्यूनीकरणका लागि क्लबसँगको सहकार्य गर्दै काम गर्ने बताए।
पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले फोटोले पाठकलाई थप आकर्षित र समाचारलाई थप विश्वसनीय बनाउने धारणा व्यक्त गर्दै पत्रकारिता पेशालाई सुरक्षित बनाउन सरकारले बनाउने कानुन प्रेसमैत्री हुनुपर्नेमा जोड दिए।
फोटो पत्रकार क्लब नेपालका अध्यक्ष श्रुति श्रेष्ठले क्लबले फोटो पत्रकारको पेशागत हक हित र सुरक्षामा काम गर्दै आएको जानकारी दिँदै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका क्षेत्रमा काम गर्दा फोटो पत्रकारहरूले भोग्नु परेका जोखिमहरूलाई समावेश गरेर फोटो प्रदर्शनी आयोजना गरेको बताइन्।
नेपाल पत्रकार महासङ्घ र सेन्टर फर मिडिया रिसर्च नेपालसँगको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो।
वैशाख १३, २०७९ मंगलबार १६:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।