कर्णालीका २ जिल्लामा भत्कियो गठबन्धन

कर्णालीका २ जिल्लामा भत्कियो गठबन्धन

सुर्खेत : कर्णाली प्रदेशका २ जिल्लामा गठबन्धन भत्किएको छ। सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा भागबन्डाको टुंगो लगाए पनि सुर्खेत र रुकुम पश्चिममा भने गठबन्धन भत्किएको हो।

सुर्खेतमा काँग्रेसले दुई पालिका छोड्दा समेत माओवादी र समाजवादीबीचआपसी सहमति हुन नसक्दा गठबन्धनको सहमति हुन नसकेको नेपाली काँग्रेसका कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री निरञ्जन केसीले बताए।

केन्द्रीय निर्देशनअनुसार गठबन्धन कायम राख्नुपर्छ भन्ने मान्यतामा नेपाली काँग्रेस कटिबद्ध रहे पनि समाजवादी र माओवादी दुवैले चौकुने नै लिन खोज्दा ठोस सहमति नभएको केसी बताउँछन्। उनले सहमतिको लागि अझैपनि प्रयासहरू जारी नै रहेको बताए ।

सुर्खेतमा नमिलेका कारण माओवादीको जनआधार भएको रुकुम पश्चिममा पनि सहमति हुन नसकेको हो। अन्य आठ जिल्लाको विवरणअनुसार माओवादी केन्द्रले प्रमुख–उपप्रमुख गरी ५१, कांग्रेसले ४७ र एकीकृत समाजवादीले २९ वटा पाएको छ। डोल्पामा माओवादीले तीन प्रमुख र दुई उपप्रमुख, कांग्रेसले एक प्रमुख र तीन उपप्रमुख र समाजवादीले चार प्रमुख र तीन उपप्रमुख पाएको छ।

जाजरकोटमा माओवादी र कांग्रेसले प्रमुख–उपप्रमुखमा ३–३ र समाजवादीले एक प्रमुख र एक उपप्रमुख भाग पाएको छ। दैलेखमा सबैभन्दा धेरै कांग्रेसले पाएको छ। कांग्रेसले प्रमुखमा ६ र उपप्रमुखमा ५ पाएको छ।  माओवादी केन्द्रले दुई प्रमुख र चार उपप्रमुख पाएको छ भने समाजवादीले तीन प्रमुख र दुई उपप्रमुख पाएको छ।

मुगुमा माओवादीले प्रमुख–उपप्रमुख एक–एक र कांग्रेसले दुई दुई पाएको छ। एकीकृत समाजवादीले पनि एक–एक पाएको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीको गृह जिल्ला हुम्लामा माओवादीले पाँच वटा प्रमुख पाउँदा कांग्रेसले भने तीनवटामा चित्त बुझाएको छ भने समाजवादीले तीनवटा उपप्रमुखमा मात्र चित्त बुझाएको छ। उपप्रमुख भने माओवादी र कांग्रेसले दुई दुई वटा पाएका छन्।

एकीकृत समाजवादीका प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा कांग्रेस–माओवादीले चार चार प्रमुख पाउँदा समाजवादीले दुई वटा प्रमुख र दुईवटै उपप्रमुखमा चित्त बुझाएको छ। माओवादीले उपप्रमुखमा पाँँचवटा पाउँदा कांग्रेसले तीन वटा पाएको छ। जुम्लामा कांग्रेसले चारवटा प्रमुख पाउँदा माओवादीले तीनवटा प्रमुख पाएको छ।

माओवादीले पाँच वटा उपप्रमुख पाएको छ भने कांग्रेसले दुई वटामा चित्त बुझाएको छ। समाजवादीले जुम्लामा पनि एक एकवटामा चित्त बुझाएको छ।  कालिकोटमा माओवादीले प्रमुख उपप्रमुखमा नै धेरै लिएको छ। प्रमुख पाँच लिँदा उपप्रमुख चारवटा माओवादीले लिएको छ ।

 कांग्रेसलाई दुई प्रमुख र तीन उपप्रमुख पाएको छ । एकीकृत समाजवादीले दुई प्रमुख पाएको छ भने दुई नै उपप्रमुख पाएको छ।

वैशाख १३, २०७९ मंगलबार १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।