चुनावको मुखैमा चार प्रदेश प्रहरी प्रमुख बदलिए : बागमतीमा गृहमन्त्रीकी श्रीमतीकी साथी पुगिन्

चुनावको मुखैमा चार प्रदेश प्रहरी प्रमुख बदलिए : बागमतीमा गृहमन्त्रीकी श्रीमतीकी साथी पुगिन्

काठमाडौँ : स्थानीय तहको निर्वाचनको माहौल गर्माएसँगै गृह मन्त्रालयले प्रदेशमा रहेका प्रहरी प्रमुख बदलेको छ। सातमध्ये तीन डिआइजीलाई कायम राख्दै बाँकी चार जना डिआइजीहरू भने बदलेको हो। प्रहरी प्रधान कार्यालयले १३ गते सार्वजनिक गरेको पत्रमा तीन डिआइजीको पदस्थापनको निर्णय सात गते भएको र एक जना डिआइजीको सरुवाको निर्णय नौ गते भएको उल्लेख छ।

डिआइजीहरूको सरुवाको अधिकार गृहमन्त्रीलाई छ। पदस्थापन गर्दा वैशाख १९ गते अनिवार्य अवकाशमा जानेहरूको सरुवा गरिए पनि कर्णालीको डिआइजीलाई भने प्रदेशकै जिम्मा दिइएको छ। कर्णालीमा प्रधानमन्त्री शेरबहादुर देउवाका प्रिय गणेश ऐर प्रमुख छन्।

पदस्थापनमा नलप्रसाद उपाध्याय लुम्बिनीमा, मोहनकुमार आचार्यलाई सुदूरपश्चिम र मसाउद आलम खाँलाई मधेस प्रदेशको सुरक्षाको जिम्मा दिइएको छ। उनीहरूको पदस्थापनको निर्णय वैशाख सात गतेबाट लागु हुने गरी भन्दै वैशाख ९ गते पत्र आएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमतीको साथी भएकाले कार्यदक्षतामा कमजोर भए पनि डिआइजीमा बढुवा हुन सफल भएकी पूजा सिंहलाई बागमती प्रदेशको प्रमुख बनाएर सरुवा गरिएको छ। लुम्बिनीमा रहेका मुकुन्दराज आचार्य, मधेस प्रदेशमा रहेका उमेश रञ्जितकार अनि बागमती प्रदेशमा रहेका प्रकाशजंग कार्कीको सरुवा भएको छ। सुदूरपश्चिममा रहेका पुरुषोत्तम कँडेलको समेत सरुवा भएको छ।

प्रदेश एक नम्बरका अरुणकुमार बिसी, कर्णालीका गणेशबहादुर ऐर अनि गण्डकीका दिवेश लोहनीको सरुवा भएको छैन। ऐर वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदैछन्।  उमेश रञ्जितकार अनि प्रकाश कार्की पनि वर्तमान प्रहरी महानिरिक्षकसँगै वैशाख १९ मा अनिवार्य अवकाशमा जाँदैछन्।

वैशाख १३, २०७९ मंगलबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।