तिलोत्तमाको नेतृत्वका लागि गृहमन्त्रीका भाइ र सञ्चार उद्यमी प्रतिस्पर्धामा
बुटवल : कान्छो नगरपालिका तर जिल्लाका सबै पालिका मात्र नभई देशभरका पालिकामा नमुना काम गरेर परिचित बन्यो तिलोत्तमा नगरपालिका। यो पालिकामा ०७४ को निर्वाचनमा एमालेका वासुदेव घिमिरे विजयी भएका थिए। ५ वर्षको अवधिमा उनी आफू मात्र चर्चित बनेनन् नगरपालिकालाई अव्वल साबित गराउँदै आईएसओ प्रमाणित समेत बनाए।
त्यही नगरपालिकाको साख जोगाउँदै अझ बढी अव्वल र समृद्ध तिलोत्तमा नगरपालिका बनाउने जिम्मेवारी लिन चुनावी मैदानमा छन् मोहन चापागाईँ अनि रामकृष्ण खाँण। एमालेबाट मेयरको उम्मेदवार बनेका मोहन सञ्चार उद्यमी समेत हुन्। नेपाल विद्यार्थी संघहुँदै राजनीतिमा सक्रिय भएका खाँण नेपाली काङ्ग्रेसबाट मेयरको उम्मेदवार बनेका छन्। उनी गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ हुन्।
तिलोत्तमा नगरपालिकामा रहेको दुर्गादत्त उच्च माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका चापागाईँले त्यसपछि भएका राजनीति परिवर्तनमा सहभागी भए। २०४६ मा अनेरास्ववियु रुपन्देहीको सदस्य भइसकेका चापागाईँ ०४६ सालको आन्दोलनमा सहभागी भए।
अनेरास्ववियुबाट बुटवल बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति बनेका चापागाईँ पत्रकारितामा होमिए। पञ्चायत विरोधी सङ्घर्षमा विद्यार्थी, शिक्षक र कर्मचारीहरूले नै राजनीति गर्थे र उनीहरूले नै समाचार लेख्थे। व्यवस्था विरोधी समाचार लेख लेखे बापत तत्कालीन सरकारको निशाना शिक्षक र विद्यार्थीहरू नै हुने गर्दथ्यो।
नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य भइसकेका चापागाईँ पत्रकार महासङ्घ रुपन्देहीको पूर्व अध्यक्ष समेत हुन्। तिलोत्तमामै रहेको रेडियो लुम्बिनीको अध्यक्ष हुँदै सामुदायिक रेडियो प्रसारक सङ्घ अकोरावका केन्द्रीय अध्यक्ष भइसकेका छन् उनी।
चापागाईँ प्रेस चौतारी नेपालको रुपन्देही अध्यक्ष र केन्द्रीय उपाध्यक्ष समेत भइसकेका छन्। त्यस्तै एमाले रुपन्देही जिल्ला कमिटी सदस्य, प्रचार विभाग प्रमुख एवं तिलोत्तमा नगर अध्यक्ष भइसकेका छन् उनी।
२०७३ सालमा केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईँलाई सञ्चार विज्ञको रूपमा नियुक्त गरेका थिए। चापागाईँ राजनीतिसँगै व्यवसायमा सफल छन् । उनी नेपालमै चर्चामा रहेको साइन रेसुङ्गा विकास बैङ्कका सञ्चालक पनि हुन्।
रामकृष्ण खाँण तिलोत्तमा नगरमा मात्रै होइन रुपन्देही जिल्लाकै राजनीतिक वृत्तमा चर्चित र लोकप्रिय नाम हो। उनी काँग्रेसबाट राजनीति गर्छन्। तर परी आएका बेला आम जिल्लावासीका साझा नेताको रूपमा सहयोगी भूमिका निर्वाह गर्न पछि पर्दैनन्।
२०६६ देखि २०७२ सम्म काँग्रेस रुपन्देहीको सचिव पदमा रहेका उनी हालका जिल्ला सभापति हुन्।
तिलोत्तमालाइ आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य र उद्देश्य अनुरूप उम्मेदवारी दिएको खाँण बताउँछन्। कृषिका लागि उर्वर भूमि, बन,वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाइ नमुना नगर बनाउने योजना अगाडी सारेका छन्।
गौशालालाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने, सिचाइको उचित व्यवस्था गरेर कृषिको व्यवसायीकरण गर्दै त्यसलाई पर्यटन सँग जोड्ने योजना अगाडी सारेका छन्। नगरभित्र उत्पादनमुलक उद्योगमा लगानी भित्र्याउन र छुट्टै औद्योगिक क्षेत्र स्थापनाका लागि पहल गर्ने उनको सोच छ।
स्याङ्गजाको रिसिङ्गकोटबाट उनको परिवार २०१७ सालमा तराइ झरेको थियो। तराइ झरे लगत्तै उनका पिताले पञ्चायत विरोधी आन्दोलनमा रुपन्देहीबाट सक्रिय सहभागिता जनाए। बुवाकै पदचाप पछ्याउँदै उनी पनि २०३५ सालदेखि पञ्चायत विरोधी आन्दोलनमा लागे।
२०४० सालको सुरजपुरा घटनामा स्वर्गीय गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएका उनी घटना लगत्तै घाइतेको उपचार तथा उद्धारमा सक्रियता पूर्वक लागेका थिए। २०४२ को सत्याग्रहका बेला अग्र मोर्चामै खटिएका उनी भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरुको रिहाइ, खानपान, खबर आदानप्रदानको काममा सक्रिय भए।
२०४६ को जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए।
२०४७ सालताका बुटवल बहुमुखी क्याम्पसमा स्ववियु इकाइको कोषाध्यक्ष भए। बुटवलबाट आइए र कीर्तिपुर क्याम्पसबाट स्नातक सम्मको अध्ययन सकेका उनी २०५४ सालमा पार्टीको जिल्ला कार्यसमिति सदस्य भएका थिए।
एमाले-गठबन्धन प्रतिस्पर्धा
२०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेका घिमिरे र खाँणबिच नै प्रतिस्पर्धा भएको थियो। खाँण पराजित भए। कांग्रेस र जनमुक्तिको गठबन्धन हुँदा पनि नगरप्रमुखमा घिमिरे विजयी भएका थिए। तर यस अघिको जस्तो परिस्थिति अहिले छैन।
माओवादी, कांग्रेसको गठबन्धन त्यो पालिकामा बनेको छ। गठबन्धन भनिए पनि अन्तिम समयमा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरियो। समाजवादीले नगरप्रमुखमा आशा चौधरी, उपप्रमुखमा सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ।
०७४ सालको निर्वाचनमा तिलोत्तमामा वासुदेव घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २ सय ६४ मत प्राप्त गरेका थिए।
उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २ सय २४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन्। नेपाली कांग्रेस र जनमुक्तिको गठबन्धन रहेको तिलोत्तमाका १७ वटा वडामध्ये वडा नंं ९, १०, १६ र १७ गठबन्धनले जितेको थियो भने अरू १३ वटा वडा एमालेले जितेको थियो।
वैशाख १३, २०७९ मंगलबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।