भाइरल भिडियोमा ट्रक चालकलाई कुटपिट गर्ने मगर पक्राउ

भाइरल भिडियोमा ट्रक चालकलाई कुटपिट गर्ने मगर पक्राउ

पोखराः सवारी दुर्घटना भएपछि ट्रक चालकलाई कुटपिट गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका –५ फिर्के पुलस्थित राजमार्गमा वैशाख १० गते मोटरसाइकल र ट्रक ठोकिएपछि मोटरसाइकल चालक मीनबहादुर मगरले ट्रक चालकलाई निर्घात कुटपिट गरेका थिए।

म्याग्दी घर भई हाल पोखरा–१९ लामाचौर बस्ने ४३ वर्षीय मगरले ट्रक चालकलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो। भिडियोमा मीनबहादुरले चालकलाई कुटपिट गरेको र कुटाइ खाने चालककले आफूलाई बचाउन हारगुहार गर्दै विलौना गरेको देखिन्छ। भिडियोको संवादमा चालकले मोटरसाइकल आफैंले नै बनाइदिने भन्दै नकुट्न समेत आग्रह गरिरहेको देखिन्छ।

मगरको रोयल एनफिल्डको बुलेट बाइक दुर्घटना भएको भिडियोमा देख्न सकिन्छ। 

कास्की प्रहरीका प्रहरी प्रवक्ता एवं डीएसपी सुन्दर तिवारीका अनुसार मगरले गत १० गते पोखरा–५ फिर्के पुलस्थित सडकखण्डमा ट्रक चालकलाई कुटेका थिए।

उनलाई शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन (१०) म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले बताए।

वैशाख १३, २०७९ मंगलबार १२:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।